उत्तर कोरियाले दियो जापान ‘डुबाइदिने’ र अमेरिका ‘खरानी’ बनाइदिने धम्की

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र २९, २०७४
|
|
५८ पटक हेरिएको
Shares
उत्तर कोरियाले दियो जापान ‘डुबाइदिने’ र अमेरिका ‘खरानी’ बनाइदिने धम्की

सारांश

  • संयुक्त राष्ट्र संघले पारित गरेको नयाँ नाकाबन्दीमा सहयोग र समर्थन गरेको भन्दै उत्तर कोरियाले अमेरिका र जापानलाई ‘खतम’ गर्ने धम्की दिएको छ ।
  • गतसाता शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेपछि राष्ट्र संघ सुुरक्षा परिषदले उत्तरमाथि कडा नाकाबन्दी लगाएको छ।
  • यस नाकाबन्दीअन्तर्गत मुख्यरुपमा तेल निर्यातमा कडाइ र उत्तरको दोस्रो ठूलो निकासी क्षेत्र टेक्सटायल प्रतिबन्ध गरिएको छ ।

संयुक्त राष्ट्र संघले पारित गरेको नयाँ नाकाबन्दीमा सहयोग र समर्थन गरेको भन्दै उत्तर कोरियाले अमेरिका र जापानलाई ‘खतम’ गर्ने धम्की दिएको छ ।

गतसाता शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेपछि राष्ट्र संघ सुुरक्षा परिषदले उत्तरमाथि कडा नाकाबन्दी लगाएको छ। यस नाकाबन्दीअन्तर्गत मुख्यरुपमा तेल निर्यातमा कडाइ र उत्तरको दोस्रो ठूलो निकासी क्षेत्र टेक्सटायल प्रतिबन्ध गरिएको छ । यसैको प्रतिक्रिया दिदैं उत्तरले जापान र अमेरिकाविरुद्ध रुखो धम्की दिएको रोयटर्सले जनाएको छ ।

रोयटर्सका अनुसार आफ्नो सरकारी एजेन्सीमार्फत् उत्तरले जापानलाई ‘डुबाइदिने’ र अमेरिकालाई ‘खरानी र अन्धकारमय’ बनाउने धम्की दिएको हो। यसका लागि आफूहरुले परमाणु हतियार प्रयोग गर्ने पनि उत्तरले बताएको छ ।

सुरक्षा परिषदले गरेको निर्णयलाई ‘पैसामा बिकेका देशहरुले अमेरिकाको आदेश पालना गरेका’ भन्दै उत्तरले परिषदबाट बाहिरिने पनि भनेको छ ।

‘हाम्रो छेउमा जापानको अस्तित्व चाहिँदैन। यसलाई परमाणु बमद्वारा सागरमा डुबाइनुपर्छ,’ प्योङयाङको कोरिया एसिया प्यासिफिक पिस कमिटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै अमेरिकाबारे लेखिएको छ, ‘अमेरिकालाई खरानी र अन्धकारमय बनाऔं । आजसम्म हामीले यसका निम्ति गरेका तयारीहरुको सकेसम्म उपयोग गरौं ।’

उत्तरले ‘गद्दार र अमेरिकाको कुकर’ भन्दै दक्षिण कोरियालाई पनि धम्क्याएको छ ।

बुधबार मात्रै दक्षिण कोरियाले पनि उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनको ‘शिर छेदन’ गर्ने टोली तयार गरिरहेको बताएको थियो। दक्षिणले यो प्रचार किमलाई तर्साउन गरेको बताइएको छ ।

उत्तरका यी धम्कीको भने जापानले कडा आलोचना गरेको छ ।

अमेरिकाको पहलमा पहिले संयुक्त राष्ट्र संघले एक महिनाअघि उत्तर कोरियासहित इरान र रसियामा नयाँ नाकाबन्दी लागू गरेको थियो।

यसपछि उत्तर र अमेरिकाबीच तनाव चर्किएको हो। यस तनावसँगै उत्तरले प्रशान्त महासागर क्षेत्रमा रहेको अमेरिकी भूभाग गुआम टापू हमला गर्ने चेतावनी दिएको थियो।

साउथ चाइना सि, कोरिया र ताइवानसम्मको पहुँच हुनसक्ने सामरीक महत्व भएको गुआम टापूमा अमेरिकी हवाइ सैन्य अड्डा छन्।

उत्तरले पहिलेदेखि नै गुआम आक्रमणको धम्की दिदैं आएकोमा केही साताअघि जापानी आकाश हुँदै एक क्षेप्यास्त्र प्रहार गरेको थियो। उक्त क्षेप्यास्त्र गुआम नजिकै समुन्द्रमा पड्केको थियो। यसलाई उसले अमेरिकाविरुद्ध सैन्य कारवाहीको पहिलो कदम भनेपछि तनाव झनै चर्कियो।

दुई देशबीचको तनावमा त्यसपछि विश्वव्यापी हुँदै गएको हो। झन् गत साता उत्तरले राष्ट्र संघको चेतावनी र अन्तर्राष्ट्रिय समुदायको आग्रहका बावजुद शक्तिशाली क्षेप्यास्त्र परीक्षण गर्यो।

आफूलाई शक्तिशाली देखाउन उत्तरले आठ वर्षदेखि बारम्बर क्षेप्यास्त्रहरु परीक्षण गर्दै आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?