कञ्चनपुर गोलिकाण्डः हिन्दी सिनेमा चल्न नदिने माओवादीको चेतावनी
सारांश
- कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीले नेपाली नागरिकको हत्या गरेको विरोधमा माओवादी केन्द्र सम्वद्ध भ्रातृ संस्थाहरुले राजधानीमा प्रदर्शन गरेका छन् ।
- अखिल क्रान्तिकारी, वाईसीएल र अखिल नेपाल महिला संघ क्रान्तिकारीले संयुक्तरुपमा शुक्रबार बिहान विरोध प्रदर्शन गरेका छन् ।
- माइतीघर मण्डलाबाट शुरु भएको जुलुस नयाँबानेश्वर पुगेर विरोध सभामा परिणत भएको थियोे ।
कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीले नेपाली नागरिकको हत्या गरेको विरोधमा माओवादी केन्द्र सम्वद्ध भ्रातृ संस्थाहरुले राजधानीमा प्रदर्शन गरेका छन् ।

अखिल क्रान्तिकारी, वाईसीएल र अखिल नेपाल महिला संघ क्रान्तिकारीले संयुक्तरुपमा शुक्रबार बिहान विरोध प्रदर्शन गरेका छन् ।
माइतीघर मण्डलाबाट शुरु भएको जुलुस नयाँबानेश्वर पुगेर विरोध सभामा परिणत भएको थियोे । जुलुसमा सहभागीहरूले नेपालको राष्ट्रिय झण्डा बोकेका थिए र भारतीय ज्यादतीविरुद्ध चर्का नारावाजी गरेका थिए ।
जुलुसपछिको विरोध सभामा बोल्दै अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले भारत सरकारले तत्काल माफी मागेर दोषीलाई कारबाही नगरिए भारतीय चलचित्र नेपालमा प्रतिवन्ध लगाउने चेतावनी दिए ।

कार्यक्रममा वाईसीएल नेपालका नेता युवराज दुलालले कञ्चनपुर गोलिकाण्डमा भारतीय सुरक्षा फौजद्वारा हत्याका गरिएका गोविन्द गौतमलाई तत्काल सहिद घोषणा गर्न सरकार समक्ष माग गरे ।
सोही कार्यक्रममा अनेमसंघ क्रान्तिकारीकी अध्यक्ष अमृता थापामगरले राष्ट्रिय अस्मिता रक्षाका लागि जस्तोसुकै बलिदान गर्न तयार रहेको बताइन् ।
माओवादी केन्द्र निकट युवा, विद्यार्थी र महिला संगठनहरुले शुक्रबार साँझ ६ बजे माइतीघर मण्डलामा गोविन्द गौतमप्रति श्रद्धाञ्जली सभाको कार्यक्रम राखेका छन् ।
माओवादी केन्द्रले कञ्चनपुरको आनन्दबजारमा मारिएका गोविन्द गौतम आफ्ना कार्यकर्ता भएको भन्दै हत्याको विरोधमा शुक्रबार ७ नम्बर प्रदेश बन्दको घोषणा समेत गरेको छ ।
उता चितवनमा पनि मृतक गोविन्द गौतमलाई शहीद घोषणाको माग गर्दै बिहीबार साँझ बिरोध प्रदर्शन भएको छ ।

पुलचोकमा भेला भएका माओवादी केन्द्रका भातृ संगठन वाईसीएलले बिरोध प्रदर्शन गरेको हो । नेपाली भूमिको रक्षाका लागि गोली थापेका गोविन्द गौतमलाई शहीद घोषणा गर ! घाईतेहरूको निशुल्क उपचार गर भन्दै वाईसीएल चितवनले प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले भारतीय बिस्तारवादबिरुद्ध पनि नाराबाजी गरेका थिए ।
प्रतिक्रिया