‘करः समृद्ध नेपाल, सुखी नेपालीको भर’
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले ७औं राष्ट्रिय कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर संकलक कर्मचारीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
- ‘करः समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नाराका साथ आजदेखि साताव्यापी रूपमा कर दिवस मनाउन लागिएको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ७औं राष्ट्रिय कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर संकलक कर्मचारीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
‘करः समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नाराका साथ आजदेखि साताव्यापी रूपमा कर दिवस मनाउन लागिएको छ । कर दिवसको सन्दर्भमा प्रधानमन्त्रीले सम्पूर्ण नेपालीलाई असल नागरिकको दायित्व पूरा गर्न प्रेरित गर्दै कर प्रणालीलाई प्रभावकारी रूपमा पालना गर्न प्रोत्साहन मिलोस् भन्ने शुभेच्छा दिएका छन् ।
प्रगतिशील कर प्रणालीप्रति सकारात्मक धारणाको विकास हुन नसकेसम्म राष्ट्र निर्माणको अभियानलाई गति प्रदान गर्न नसकिने शुभकामनामा उल्लेख छ ।
‘हामीले तिर्ने कर हाम्रै सेवा र सुविधाका लागि हो भन्ने कुरामा अब दुविधा मान्नै पर्दैन । आमजनताको दैनिक जीवनस्तर उकास्न प्रतिबद्ध यो सरकारले राजश्व सङ्कलनलाई प्रभावकारी बनाउँदै राजश्व चुहावट रोक्ने दिशामा सफलता प्राप्त गरिरहेको छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘चालु आर्थिक वर्षको असोजसम्म राजश्व संलनमा ९४ प्रतिशत उपलब्धि हासिल भइसकेको छ । यस अवधिमा राजश्व सङ्कलनमा झण्डै २६ प्रतिशतले वृद्धि हुन गएको देखिन्छ ।’
यही अवधिमा करमा ३७ प्रतिशतभन्दा बढी प्रगति भएको बताइएको छ । राजश्व संकलनको यो उत्साहजनक क्रमले अझै गति पाउनेछ र समृद्ध नेपाल, सुखी नेपालीको हामी सबैको साझा सङ्कल्प अवश्य पूरा गरिने उल्लेख छ ।
वर्षौँदेखिको राजनीतिक संघर्षको चरण पार गरेर आर्थिक विकास र रुपान्तरणको युगमा प्रवेश गरेको उल्लेख गर्दै अब स्रोतको प्रभावकारी परिचालन गर्दै आर्थिक वृद्धिदरलाई तीव्र र दिगो बनाउन राज्यका सबै संरचना परिचालन हुनैपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया