गठबन्धन सरकार बन्नेमा जर्मन चान्सलस आशावादी
सारांश
- जर्मन चान्सलर एंगेला मर्केलले राजनीतिक दलहरुबीच गठबन्धन निर्माण हुने आशा व्यक्त गरेकी छिन् ।
- उनले नयाँ चरणको राजनीतिक वार्ता सुरु गरिसकेको सञ्चारमाध्यमहरुमा जनाएका छन् ।
- आमचुनाव भएको तीन महिना बितिसक्दा पनि जर्मनीमा नयाँ सरकार गठन हुन सकेको छैन ।
जर्मन चान्सलर एंगेला मर्केलले राजनीतिक दलहरुबीच गठबन्धन निर्माण हुने आशा व्यक्त गरेकी छिन् । उनले नयाँ चरणको राजनीतिक वार्ता सुरु गरिसकेको सञ्चारमाध्यमहरुमा जनाएका छन् । आमचुनाव भएको तीन महिना बितिसक्दा पनि जर्मनीमा नयाँ सरकार गठन हुन सकेको छैन । मर्केलले स्थिर गठबन्धन बनाउनका लागि पाँच दिनसम्म वार्ता जारी राख्ने भएकी छिन् । सम्भाव्य राजनीतिक गठबन्धनका लागि मर्केलको क्रिश्चियन डिमोक्रेट्स र निकटको क्रिश्चियन सोसियल युनियन र सोसल डिमोक्रेट्स वार्तामा सहभागी हुने भनिएको छ ।
मर्केलले यी वार्ताहरुमा आशावादी भएर सहभागी हुन गइरहेको बताइन् । उनले आगामी दिनमा जर्मनहरुका सामू निकै धेरै कामहरु गर्नु पर्ने रहेको र राम्रो प्रतिफल पाउने आसा ब्यक्त गरिन् । धेरैले यसलाई गठबन्धन बनाउने मर्केलको अन्तिम अवसरको रुपमा हेरेका छन् । मध्यमार्गी सोसियल डिमोक्रेट्स (एसपीडी) ले विगत आठ वर्षसम्म मर्केलको पार्टीसँग सहकार्य गरिरहेको छ । तर गत सेप्टेम्बरको चुनावमा ऐतिहासिक रुपमा कमजोर प्रदर्शन गरेपछि एसपीडीका नेता मार्टिन सुल्ट्सले आफ्नो दल विपक्षमा बस्ने घोषणा गरिसकेका छन् ।
तर मर्केलले अन्य दलहरुसँग गठजोड बनाउन नसकेपछि एसपीडीमाथि मर्केलसँग सहकार्य गर्दै अघि बढ्न दबाब बढिरहेको छ । अब मर्केलले आफूहरुबीच साझा मुद्दा रहेको स्मरण गराउँदै एसपीडीका नेताहरुलाई मनाउनु पर्ने देखिएको छ । बैठकमा सहभागी हुन आउने क्रममा मर्केलले वार्ता सकारात्मक हुनेमा आशा व्यक्त गरिन् । सुल्ट्सले चाहिँ वार्ताको परिणामबारे अहिले नै केही भन्न नसकिने बताउँदै नयाँ समयले नयाँ राजनीति को माग गर्ने गरेको टिप्पणी गरे । फ्रान्स र अन्य युरोपेली संघ (इयु)का मित्रशक्तिले जर्मनीलाई इयुको स्थिरताको खम्बा मान्ने गर्छन् र उनीहरुले मर्केल सफल हुने आशा व्यक्त गरेका छन् ।
प्रतिक्रिया