डोल्पा पठाउन तयार पारिएको औषधि दुई सातादेखि नेपालगन्जमा
सारांश
- चैत – विकट पहाडी जिल्ला डोल्पा पठाउन तयार पारिएको औषधि दुई सातादेखि नेपालगन्जस्थित राझा विमानस्थलमा थन्किएको छ ।
- डोल्पामा हवाईमार्गबाट मात्र औषधि ढुवानी गर्न सकिन्छ।
- डोल्पामा औषधि पठाउन भन्दै ढुवानीकर्ता मनकामना एयर कार्गोले वैशाख ९ गते राझा विमानस्थल लगेको थियो ।
चैत – विकट पहाडी जिल्ला डोल्पा पठाउन तयार पारिएको औषधि दुई सातादेखि नेपालगन्जस्थित राझा विमानस्थलमा थन्किएको छ । डोल्पामा हवाईमार्गबाट मात्र औषधि ढुवानी गर्न सकिन्छ।
डोल्पामा औषधि पठाउन भन्दै ढुवानीकर्ता मनकामना एयर कार्गोले वैशाख ९ गते राझा विमानस्थल लगेको थियो । तर विमान चार्टर गर्न ढिलाइ भएका कारण आधारभूत सेवाका अत्यावश्यक एक सय ५६ कार्टुन औषधि नेपालगन्ज विमानस्थलको स्टोरमा थन्किएका छन्।
डोल्पामा औषधि पठाउन ढिलाइ भएको यो नयाँ घटना भने होइन । हरेक वर्ष डोल्पा, मुगु र हुम्ला जिल्लाले यस्तो समस्या भोग्दै आएका छन् । असहज यातायात, फितलो व्यवस्थापन र स्थानीय निकायको ढिलासुस्तीका कारण रुकुम, जाजरकोटलगायतका जिल्लामा पनि औषधि अभाव भएको छ।
मध्यपश्चिम क्षेत्रीय मेडिकल स्टोर नेपालगन्जले १६ जिल्लालाई औषधि पठाउँदै आएको छ । बाँकेबाहेक अन्य सबै जिल्लाले ढुवानी टेन्डरमार्फत औषधि लैजान्छन् । केही जिल्लाले आफ्नै सवारीसाधन प्रयोग गरेर औषधि लैजाने गरेका छन् । यातायात सुविधा कठिन भएका जिल्लाले भने समयमै औषधि ढुवानी गर्न सक्दैनन् ।
ढुवानी गर्ने कम्पनीले पनि समयमा औषधि पु¥याउन नसक्दा पहाडी जिल्लाको स्वास्थ्य सेवा प्रभावित बन्ने गरेको छ ।अत्यावश्यक भिटामिन ए र विभिन्न प्रकारका खोप डोल्पा जाने यात्रुलाई अनुरोध गरेर पठाइएको मध्यपश्चिम क्षेत्रीय मेडिकल स्टोरका जनस्वास्थ्य अधिकृत डिल्लीराज पोखरेलले बताए । उनका अनुसार ढुवानी गर्ने टेन्डर पाएको मनकामना कार्गोले अबको तीनचार दिनमा डोल्पामा औषधि पठाउने तयारी गरिरहेको छ । अत्यावश्यक औषधि डोल्पा जाने यात्रीलाई अनुरोध गरेर पठाउनुपर्ने बाध्यता रहेको पोखरेलले बताए।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय स्वास्थ्य चौकीलाई आवश्यक पर्ने औषधि सम्बन्धित नगर वा गाउँपालिकाले खरिद गर्न सक्छन् । क्षेत्रीय मेडिकल स्टोरबाट पाइने औषधि ढुवानी गर्ने बजेट स्थानीय निकायले पाउने गरेका छन् । स्थानीय निकायले छरितो गरी ढुवानी गर्न नसक्दा समस्या देखिएको जनस्वास्थ्य अधिकृत पोखरेलले बताए । उनले भने, ‘समन्वय नमिलेर पनि ढिलाइ भएको हो।
पहिला जिल्ला जनस्वास्थ्यले ढुवानी टेन्डर निकालेर औषधि लैजाने गरेको थियो । अहिले स्वास्थ्य निकाय स्थानीय तहमा गइसकेका छन् । ढुवानी गर्ने बजेट पनि स्थानीय निकायको खातामा गएको छ । नयाँ प्रक्रियामा काम गर्दा ढिलाइ भएको हो । अब सबै प्रक्रिया स्थानीय तहका जनप्रतिनिधिले बुझेपछि समस्या समाधान हुँदै जानेछ।’
स्वास्थ्य चौकीमा नेपाल सरकारले आधारभूत स्वास्थ्य सेवाका लागि ३५ औषधि निःशुल्क वितरण गर्ने गर्छ । त्यसबाहेक अन्य विशेष रोगीलाई लक्षित गरेर सरकारले स्वास्थ्य संस्थालाई औषधि दिँदै आएको छ। आजको नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया