त्रिपुरा सुन्दरी गाउँपालिकाको काठमाडौँ ल्होसार कार्यक्रम
सारांश
- च्याक फो चिवा लो २१४७ ग्याल्पो ल्होसारको अवसरमा यतिबेला महायानी बौद्ध धर्मावलम्वीले विभिन्न कार्यक्रम गर्दै ल्होसार मनाइरहेका छन् ।
- काठमाडौमा बसोबास गरिरहेका हिमाली समुदायले हरेक दिन केही न केही कार्यक्रमको आयोजना गरिरहेका छन् ।
- यसैक्रममा सिन्धुपाल्चोक जिल्ला नेपाल शेर्पा संघ त्रिपुरा सुन्दरी गाउँपालिकाले पनि विहिबार काठमाडौँमा बौद्धमा ल्होसार विशेष कार्यक्रमको आयोजना गरेको छ ।
च्याक फो चिवा लो २१४७ ग्याल्पो ल्होसारको अवसरमा यतिबेला महायानी बौद्ध धर्मावलम्वीले विभिन्न कार्यक्रम गर्दै ल्होसार मनाइरहेका छन् । काठमाडौमा बसोबास गरिरहेका हिमाली समुदायले हरेक दिन केही न केही कार्यक्रमको आयोजना गरिरहेका छन् । यसैक्रममा सिन्धुपाल्चोक जिल्ला नेपाल शेर्पा संघ त्रिपुरा सुन्दरी गाउँपालिकाले पनि विहिबार काठमाडौँमा बौद्धमा ल्होसार विशेष कार्यक्रमको आयोजना गरेको छ ।

एकअर्कालाई शुभकामना आदानप्रदान सहित आयोजित ल्होसार कार्यक्रममा गाउँपालिकाबाट काठमाडौँ आई बसोबास गरिरहेका शेर्पा समुदायको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका पर्यटकीय दृष्टिकोणले पनि महत्वपुर्ण रहेको उल्लेख गर्दै गाउँपालिकाको पर्यटन विकासका लागि सबै एकजुट हुनु पर्ने बताए ।

कार्यक्रमकी विशेष अतिथि पूर्व राजदुत लक्की शेर्पाले शेर्पा समुदाय ल्होसारको विदामा माग्ने अभियानमा मात्रै सिमित नभई देशका हरेक तह र तप्कामा आफ्नो उपस्थिति देखाउन अग्रसर हुनु पर्ने बताइन् । नेपाल शेर्पा संघका केन्द्रीय सचिवालय सदस्य च्याङा शेर्पाले वर्तमान सरकार भष्टाचारमा चुर्लुम्म डुबेको बताउँदै सरकारले विभिन्न जातजातीको धार्मिक तथा सांस्कृतिक चाडपर्वको उत्थानमा ध्यान दिन नसकेको आरोप लगाए ।

सिन्धुपाल्चोक जिल्ला अध्यक्ष लाञ्जम शेर्पाले नेपालमा आदिवासी जनजाती लामोसमयदेखि उत्पीडनमा परेको भन्दै अब सबैले आफ्नो हक अधिकार खोज्ने समय भइसकेको बताइन् । आफ्नो हक अधिकारको सुनिश्चितताका लागि सबै क्षेत्रबाट आदिबासी जनजाती एकजुट हुनु पर्ने उनको भनाई थियो ।
कार्यक्रमका सभाध्यक्ष लाक्पा शेर्पाले उपस्थित सबैलाई स्वागत गर्दै आगामी दिनमा काठमाडौँमा मात्रै केन्द्रीत नभई आफ्नो नगर र गाउँमा समेत ल्होसार लक्षित विभिन्न कार्यक्रम गर्ने बताए । विश्वले चिनेको शेर्पा जातीले आफ्नै देशमा पहिचानको लागि संघर्ष गर्नु आश्चर्यजनक विषय भएको शेर्पाको भनाई थियो ।
त्रिपुरा सुन्दरी गाउँपालिका वार्ड नं ३ का वडाध्यक्ष सुकदेश रिसालले गाउँपालिकालाई पर्यटकीय क्षेत्र बनाउन आफुहरु लागि परेको उल्लेख गरे । गाउँपालिका भरिमै शेर्पाहरुको बसोबास भएको वार्ड नं ३ को खाजीलुंगाको पर्यटकीय सम्भावना प्रचुर रहेको बताउँदै वडाध्यक्ष रिसालले उक्त स्थानमा बन्दै गरेको बुद्ध पार्क निर्माण सम्पन्न भएपछि गाउँकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने दावी गरे ।
कार्यक्रममा क्रमस हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका अध्यक्ष छिरिङ शेर्पा, नेपाल शेर्पा युवा संघका अध्यक्ष जाङ्बु शेर्पा, नेपाल शेर्पा संघका केन्द्रीय सदस्य छिरिङ शेर्पा, नेपाल शेर्पा संघ बाग्मती प्रदेशका अध्यक्ष आङछिरी शेर्पा, सिन्धुपाल्चोक जिल्ला अध्यक्ष लन्जम शेर्पा, सिन्धुपाल्चोक शेर्पा समाजका महासचिव नुर्बु शेर्पा, अनेराश्ववियू स्ववियुका केन्द्रीय सदस्य रबिन जङ बस्नेत लगायत उपस्थित थिए । कार्यक्रमको सभाध्यक्ष लाक्पा शेर्पाले गरेका थिए । कार्यक्रमका अधिकांस अतिथिहरुले शेर्पा प्रदेश स्थापनाका लागि आन्दोलनको आवश्यक रहेको बताए ।
प्रतिक्रिया