निर्मला हत्याकान्डः हत्या स्वीकारेका प्रदीप र विशालको डिएनए रिपोर्ट नेगेटिभ
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
काठमाडौं, ३ पुस – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारको आशंकामा पक्राउ परेका दुई किशोरको पनि डिएनए रिपोर्ट नेगेटिभ देखिएको छ ।
भीमदत्तनगर नगरपालिका–१८ निवासी प्रदीप रावल र विशाल चौधरीको डिएनए रिपोर्ट नेगेटिभ आएको प्रहरी स्रोतले बताएको छ ।
निर्मलाको शवबाट निकालिएको ‘भजाइनल स्वाबसँग दुवैजनाको डिएनए नमिलेको स्रोतले बतायो ।यद्यपी अहिलेसम्म रिपोर्ट सार्वजनिक भने गरिएको छैन । दुवैको डिएनए परीक्षणको रिपोर्ट विधि विज्ञान प्रयोगशालाले प्रहरी प्रधान कार्यालयलाई बुझाएको थियो । यद्यपी रिर्पोट आजै जिल्ला सरकारी वकिलको रोहबरमा कञ्चनपुर प्रहरीले खोल्नेछ।’
मंसिर १८ गते महाराजगञ्जबाट पक्राउ परेका प्रदीपले प्रहरी महानिरीक्षक सर्वेन्ल्र खनालकै अगाडि साविती बयान दिएका थिए । उनकै बयानका आधारमा प्रहरीले प्रदीपकै साथी विशाललाई समेत पक्राउ गरेको थियो ।
केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीमा लिइएको बयानमा प्रदीपले सुरुमा हत्या गरेको साविती बयान दिएका थिए । उनकै बयानका आधारमा पक्राउ परेका विशालले पनि बयानमा घटना स्वीकारेका थिए।
अहिलेसम्म करिब कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट, बलात्कारको मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरिएका दीलिपसिंह विष्टसहित २२ जनाको डिएनए परीक्षण गरिएको छ । तर ती कसैसँग पनि निर्मलाको स्वाब नमिलेपछि प्रहरी अनुसन्धान झन् जटिलतातर्फ धकेलिएको हो।
प्रहरीले अहिलेसम्म डिएनए गरेका २२ जनाको रिर्पोट नेगेटिभ आएपछि निर्मलाको भजाइनल स्वाब संकलन विधि नै गलत भएको आशंका बढ्न थालेको छ।
निर्मलाको हत्या भएको भीमदत्तनगर नगरपालिका–२ र १८ को सीमास्थित उखुबारीको घटनास्थल जाँच प्रकृति मुचुल्का संकलनबाटै प्रहरीले गडबडी गरेकाले अहिलेको जटिल अवस्था निम्तिएको प्रहरी अधिकारी नै बताउँछन्।
निर्मलाको शव भएको स्थानमा पुगेर साउन ११ गते वडा प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर जगदीश भट्टसहितको प्रहरी टोलीले घटनास्थल जाँच प्रकृति मुचुल्का उठाएको थियो। घटनास्थल जाँच प्रकृति मुचुल्का उठाउने क्रममा निर्मलाको शरीरका लुगा तथा यौनाङ्ग पखाल्नेसम्मका ‘प्रमाण मेटिन सक्ने शंकास्पद कार्य’ प्रहरीले घटनास्थलमा गरेका थिए।
निर्मलाको केशमा प्रमाण मेट्न भूमिका खेलेको भन्दै बर्खास्तीमा परेका कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट र वडा प्रहरी प्रमुख इन्सपेक्टर जगदीश भट्ट विरुद्घ सोमबार मात्रै निर्मलाकी आमा दुर्गादेवी र निर्मलाको बलात्कारपछि हत्या गरेको भन्दै मुख्य अभियुक्त बनाइएका दीलिपसिंह विष्टका दाजु खड्कसिंह विष्टले उजुरी दिएपछि दिल्लीराज र जगदीशसहित आठजना प्रहरी अझै अफ्ठेरोमा पर्ने देखिएका छन् ।
दुर्गादेवीले छोरीको हत्या प्रकरणमा दिल्लीराज र जगदीशले प्रमाण मेट्न मुख्य भूमिका खेलेको आरोप लगाएकी छन् । दुर्गादेवीले सार्वजनिक न्यायविरुद्धको कसुर अन्गर्तत उजुरी हालेकी छिन् भने तत्कालीन समयमा प्रहरीले मुख्य अभियुक्त बनाएका दीलिपसिंह विष्टका दाजु खड्गसिंहले यातना कसुर अन्र्तगत जाहेरी हालेका हुन् । उजुरीमा एक दर्जन प्रहरी विरुद्घ नक्कली प्रमाण खडा गर्ने, निर्दोष व्यक्तिलाई जबरजस्ती अपराध कबुल गराउने जस्ता क्रियाकलाप गरेको भन्दै हदैसम्मको कारबाही माग गरिएको छ ।
पीडितद्वयको उजुरीपछि हाल बर्खास्तीमा परेका विष्ट र भट्ट अनुसन्धानका लागि पक्राउ पर्न सक्ने सम्भावना छ । निर्मलाको केश जटिल बनिरहेको बेला निलम्वित र बर्खास्तीमा परेकाहरुलाई हिरासतमै लिएर अनुसन्धान हुन सक्ने बताइएको छ।
(https://basicbluesnation.com/)
प्रतिक्रिया