नेकपा स्थायी कमिटीले अध्यक्षद्वयको प्रतिवेदन पारित गर्यो
सारांश
- काठमाडौं।
- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदन पारित गरेको छ।
- शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पार्टी स्थायी समिति बैठकले अध्यक्षद्वय ओली र दाहालले पेश गरेको राजनीतिक परिवेदन परिमार्जनसहित पारित गरेको हो।
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदन पारित गरेको छ। शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पार्टी स्थायी समिति बैठकले अध्यक्षद्वय ओली र दाहालले पेश गरेको राजनीतिक परिवेदन परिमार्जनसहित पारित गरेको हो। स्थायी समितिका नेताहरुले राखेको विचार र सुझावहरुलाई समेटेर परिमार्जनसहित अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रतिवेदन पारित गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। मंसीर २९ गतेबाट सुरु भएको स्थायी समिति बैठकमा नेताहरुले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको र पार्टी एकीकरणको कामलाई अझै टुंगोमा पुर्याउन नसकेकोभन्दै पार्टी नेतृत्वको चर्को आलोचना गरेका थिए। सोही आलोचनाको विषयलाई समेत समेटने गरी राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरिएको हो। बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले नेताहरुको सुझावलाई समेटेर प्रतिवेदन परिमार्जन गर्ने प्रतिवद्धता जनाएपछि राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको हो।
बैठकले पार्टी संगठनहरुको एकीकरणको काम पुस मसान्त भित्र सक्ने गरी आवश्यक सुझाव पेश गर्न महासचिव विष्णु पौडेले नेतृत्वको ८ सदस्यीय कार्य दल पनि बनाएको छ। कार्य दलको संयोजकमा महासचिव पौडेल र सदस्यहरुमा रामबहादुर थापा, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, लेखराज भट्ट, सुरेन्द्र पाण्डे र बेदुराम भुसाल सदस्य रहेका छन्। कार्य दलले दिएको सुझावलाई स्थायी समितिले अनुमोदन गरेपछि पार्टी एकीकरणको कामलाई पूर्णता दिने निर्णय पनि गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
शुक्रबारको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेताहरुको सुझावलाई समेटेर अघि बढने प्रतिवद्धता जनाएपछि अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित भएको हो।
प्रतिक्रिया