पाँचमध्ये एक शिशुले निमोनियाको खोप पाएनन् : २३ हजारलाई मृत्युबाट जोगाइने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १६, २०७६
|
|
३७ पटक हेरिएको
Shares
पाँचमध्ये एक शिशुले निमोनियाको खोप पाएनन् : २३ हजारलाई मृत्युबाट जोगाइने

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडाैं। आगामी एक दशकमा नेपालमा निमोनिया लगायत अन्य प्रमुख रोगका विरुद्ध लड्ने अभियानलाई बलियो बनाउँदा पाँच वर्षमुनिका २३ हजारभन्दा बढी बालबालिकालाई मृत्युबाट जोगाउन सकिने एक अध्ययन प्रतिवेदनले औँल्याएको छ।

स्पेनको बार्सिलोनामा बुधबारदेखि शुरु भएकोे ‘बाल्यावस्थाको निमोनियाको विश्वव्यापी मञ्च (ग्लोबल फोरम अन चाइल्डहुड निमोनिया’) पूर्वसन्ध्यामा सो आँकलन प्रतिवेदन सार्वजनिक गरिएको हो। विश्वमा पहिलोपटक सो मञ्चको बैठक भएको जनाइएको छ।

जनस्वास्थ्यका विविध क्षेत्रको अध्ययन अनुसन्धानमा विश्व प्रसिद्ध अमेरिकाको जन्स हप्किन्स विश्वविद्यालयद्वारा गरिएको  सो अध्ययन प्रतिवेदनका अनुसार नेपालमा निमोनियाको उपचार र रोकथाम सेवाको विस्तारले मात्र पनि पाँच वर्षमुनिका करिब नौ हजार बालबालिकालाई अकालमा मृत्यु हुनबाट जोगाउन सकिने र यस्ता सेवाको विस्तारले सिर्जना गर्नेे ‘लहर प्रभाव’ ले थप १४ हजारभन्दा धेरै बालबालिकाको अन्य रोगबाट हुने मृत्युलाई रोक्न सकिने आँैल्याइएको छ।

ब्याक्टेरिया, भाइरस र फङ्गी पाँच वर्षमुनिका बालबालिकमा निमोनिया हुने प्रमुख कारकतत्व मानिन्छ। यसको सङ्क्रमणबाट बालबालिकाको फोक्सोमा पिप र पानी भरिँदा उनीहरुलाई सास फेर्न अप्ठ्यारो हुने गर्दछ। पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको मृत्युको सबैभन्दा ठूलो कारण निमोनियालाई लिइन्छ । गत वर्ष मात्र संसारभर आठ लाख बालबालिकाको मृत्युको मुख्य कारक निमोनिया बनेको थियो।

संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले हरेक ३९ सेकेण्डमा एक बालबालिकाले निमोनियाका कारण मृत्युवरण गर्नुपर्ने जनाएको छ। नेपालका पाँच वर्षमुनिका बालबालिकाको मृत्युको प्रमुख कारण निमोनिया नै रहेको छ। पाँच वर्षमुनिका गत वर्ष मृत्यु भएका करिब १८ हजार बालबालिकामध्ये १३ प्रतिशतको मृत्यु निमोनियाका भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

केही किसिमका निमोनिया खोपले र कम खर्चका एन्टिबायोटिक्सले उपचार गर्न सकिने भए पनि प्रतिवेदनले नेपालका पाँचमध्ये एक शिशुले निमोनियाबाट जोगाउने खोप लगाउन नपाएका र निमोनियाका लक्षण देखिएका धेरै बालबालिकाले उचित उपचारसमेत नपाएकोे आँैल्याएको छ।

निमोनियाबाट मृत्यु हुने बालबालिकाको सङ्ख्या विश्वका गरिब देशमा धेरै रहेका छन्। सीमान्तकृत बालबालिका सबैभन्दा धेरै प्रभावित हुने गरेका छन्।  प्रतिवेदनले सन् २०२० देखि २०३० को दशकमा नेपालका पाँच वर्षभन्दा कम उमेरका १८ हजारभन्दा धेरै बालबालिकाको मृत्यु निमोनियाका कारण हुने अनुमान लगाएको छ। यसैगरी  निमोनियाबाट अल्जेरियामा १४ लाख, भारतमा ८८ लाख, कङ्गोमा ३५ लाख र इथियोपियामा दुई लाख ८० हजार बालबालिकाको मृत्यु हुने अनुमान प्रतिवेदनमा रहेको छ।

प्रतिवेदनले स्वास्थ्य सेवा प्रवाह र पोषणको अवस्थामा सुधार, एन्टिबायोटिक्सको सहज उपलब्धता र पूर्ण खोप, स्तनपानको दरमा बृद्धिजस्ता पहलले निमोनियाबाट मृत्यु भइरहेका बालबालिकाको सङ्ख्या घटाउन सकिने दिएको छ। ती पहलले सेप्सिस, झाडापखाला र मेनिन्जाइटिसजस्ता रोगबाट मृत्यु हुनसक्ने हजारौँ बालबालिकालाई पनि जोगाउन सकिने जनाएको छ।

“बालबालिकाको जीवन जोगाउने कुरामा हामी गम्भीर छौँ भने निमोनियासँग लड्नका लागि पनि गम्भीर हुनुपर्छ । अहिलेको कोरोना भाइरसको महामारीले पनि समयमै पहिचान र रोकथामका लागि जोड दिएका छ। यसको अर्थ सही निदान र सही उपचारको सिफारिस हुनुपर्छ”, युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा एच फोरलले मञ्चको बैठकमा भने, “निमोनियाबाट हुने मृत्युको पछाडिका कारणजस्तै कुपोषण, खोप र एन्टिबायोटिक्सको अभावको सम्बोधन र वायु प्रदूषणजस्ता थप जटिल चुनौतीको सामना गर्नुपर्छ।”

माघ १७ गतेसम्म जारी रहने सो मञ्चको आयोजना आइएस ग्लोबल, सेभ द चिल्ड्रेन, युनिसेफ, एभ्रीब्रिद काउन्ट्स, लाकाइसा फाउन्डेसन, बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन, युएसएड, युनाइटेड र गाभीजस्ता बालबालिकाका क्षेत्रमा काम गर्ने नौवटा सस्थाले संयुक्तरुपमा गरेका हुन्। साथै मञ्चबाट सेरुम इन्स्टिच्युट अफ इन्डियाले थप सुलभ पिसिभीखोपको घोषणा गर्ने र सहभागी देशले निमोनियाबाट हुने मृत्युलाई घटाउन थप राजनीतिक प्रतिबद्धता व्यक्त गर्ने यहाँस्थित युनिसेफ कार्यालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?