प्रधानमन्त्रीबाट ओलीलाई हटाउने तयारी !

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख १४, २०७७
|
|
३६ पटक हेरिएको
Shares
प्रधानमन्त्रीबाट ओलीलाई हटाउने तयारी !

सारांश

  • काठमाडौं।
  • नेपाल कम्युनिस्ट पार्टी्भित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवैबाट हटाउने तयारी भएको बताइएको छ।
  • त्यसका लागि उनीविरुद्ध प्रभावशाली नेताहरु एकजुट भएका छन्।

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी्भित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवैबाट हटाउने तयारी भएको बताइएको छ। त्यसका लागि उनीविरुद्ध प्रभावशाली नेताहरु एकजुट भएका छन्।

ओलीले एकपछि अर्को विवादास्पद काम गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपालका अलावा उपाध्यक्ष वामदेव गौतम एक भई हटाउने तयारीमा लागेका हुन्। शनिबार बालुवाटारमा उपाध्यक्ष वामदेव गौतमले ओलीलाई तत्काल राजीनामा दिएर बालकोटमा आराम गर्न भनेपछि तयारीको योजना प्रष्ट खुलेको हो।

१२ वैशाखमा गौतमले भैंसेपाटीस्थि घरमा पाँच जना सचिवालय सदस्यहरुको बैठक डाकेर ओलीलाई सरकारबाट हटाउने योजनालाई अन्तिम रुप दिएका थिए । त्यसको भोलिपल्ट बालुवाटारमा ओलीले नेकपा नेताहरुलाई एक्ला एक्लै डाक्दा हक्की स्वभावका गौतमले सरकारबाट हट्न भनेका थिए । उनले तत्काल स्थायी कमिटि बैठक डाक्न समेत भनेपछि ओलीले नमान्ने वित्तिकै राजीनामा दिन भनेका थिए ।

गौतमले ओलीबाट पार्टी पतन हुने खतरा बढेको भन्दै कुनै हालतमा हटाउनुपर्ने जोड गरेको निकट स्रोतले जानकारी दियो । ओली इतरको बैठकमा गौतमले अब अति भयो भनेर पार्टीलाई जोगाउन ओलीलाई हटाउनुपर्ने भनेका थिए । अन्य नेताहरुले प्रक्रिया पुर्याएर अगाडि बढ्नुपर्ने बताएका थिए ।

ओलीले ल्याएको अध्यादेश उनकै लागि घातक बनेपछि अप्ठ्यारोमा परेका हुन् । सचिवालयमा ओली अल्पमतमा परेका छन् । स्थायी कमिटिमा उनलाई माधवकुमार नेपालको साथ नभए अप्ठ्यारोमा पर्न सक्छन् ।

आफूविरुद्ध सचिवालयका अधिकांश सदस्य लागेपछि ओलीले विश्वासपात्रहरुलाई सक्रिय बनाएका छन् । ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, महेश बस्नेतलगायत नेताहरु ओलीको बचाउमा सक्रिय भइसकेका छन् । उनीहरुले लकडाउनमा पनि भेटघाट तिव्र पारेका छन् ।

यसैगरी, ओलीले आफूलाई हटाउने तयारी तिव्र भएको थाहापाएपछि बालुवाटारमै भेटघाट बाक्लो बनाएका छन् । उनले निकटस्थ र असन्तुष्टलाई डाकेर छलफल गर्न थालेका छन् । उनले कुनै हालतमा राजीनामा नदिने र सबैलाई देखाइदिने भनेको बुझिएको छ । गौतमसँगको बालुवाटारमा भएको विवादमा पनि ओलीले देखाइदिने चेतावनी दिएको स्रोतले बतायो ।

ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपरे अप्रीय निर्णय लिनसक्ने बुझिएको छ । जसमा नेकपा नै दुर्घटनामा पर्नसक्ने देखिएको छ । उनले कुनै हालतमा सत्ता नछाड्ने दृढता व्यक्त गर्नुमा पार्टीको संसदीय दलमा भएको बहुमत पनि कारण हो । संसदीय दलमा ओलीको पक्षमा स्पष्ट बहुमत छ । पार्टी सचिवालयमा उनको पक्षमा ९ जनामध्ये आफूसहित ४ जना छन् । स्थायी कमिटिमा ओली अल्पमतमा छन् । पूर्व एमालेबाट माधवकुमार नेपाल पक्षधरसहित भने बहुमत हुन्छ । केन्द्रीय कमिटिमा पनि ओली माधव नेपालले साथ दिएमा बहुमतमा छन् । त्यसैले नेकपाको राजनीतिमा माधव नेपाल निर्णायक भएका छन् ।

ओलीले राजीनामा दिन नमानेमा स्थायी कमिटि हुँदै केन्द्रीय कमिटिले टुंगो लगाउनेछ । तर, केन्द्रीय कमिटिमा ओलीलाई माधव नेपालको साथ नभए पार्टीले उनीविरुद्ध निर्णय गर्न सक्छ । तर, ओली अध्यक्ष भएकाले कुनै हालतमा पकड बलियो बनाएर विपक्षीलाई देखाइदिने रणनीतिका साथ विश्वासपात्रहरुलाई सक्रिय बनाउन थालेका छन् ।

ओली हटाउने र आफू प्रधानमन्त्री बन्ने नेताहरुको प्रतिष्पर्धाले नेकपाभित्र दुर्घटनाको सम्भावना बढेको छ । विगतमा पनि ओली अडान लिने तर नछाड्ने नेता भएकाले उनल अप्रीय निर्णय लिएर भएपनि सत्ता टिकाउन या आफ्ना विरोधीलाई ठेगान लगाउने रणनीति अपनाउनसक्ने देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?