प्रधानमन्त्री ओलीलाई ८५ वर्षीया आमाको छोरा खोजिदिन आग्रह
सारांश
- काठमाडौं – झापा, दमक–३ की शकुन्तला दवाडीलाई वर्षौंदेखि समाजमा भन्ने गरिएको ‘१२ वर्षमा त खोलो पनि फर्कन्छ’ भन्ने उखान आफ्नै जीवनमा मिल्ला कि भन्ने आशा लाग्न थालेको छ।
- वैदेशिक रोजगारीमा गएर आर्थिक अवस्था सुधार्ने लक्ष्यका साथ २०६१ कात्तिक २१ गते घर छाडेका पति कमलप्रसाद घर नफर्कंदा निराश भएकी पत्नी शकुन्तलामा यतिखेर आशा जाग्नुको कारण उनकै ठाउँका केपी शर्मा ओली प्रधानमन्त्री बन्नुले हो।
- आजको नागरिक दैनिकमा रुद्र खड्काले खबर लेखेका छन् ।
काठमाडौं – झापा, दमक–३ की शकुन्तला दवाडीलाई वर्षौंदेखि समाजमा भन्ने गरिएको ‘१२ वर्षमा त खोलो पनि फर्कन्छ’ भन्ने उखान आफ्नै जीवनमा मिल्ला कि भन्ने आशा लाग्न थालेको छ।
वैदेशिक रोजगारीमा गएर आर्थिक अवस्था सुधार्ने लक्ष्यका साथ २०६१ कात्तिक २१ गते घर छाडेका पति कमलप्रसाद घर नफर्कंदा निराश भएकी पत्नी शकुन्तलामा यतिखेर आशा जाग्नुको कारण उनकै ठाउँका केपी शर्मा ओली प्रधानमन्त्री बन्नुले हो। आजको नागरिक दैनिकमा रुद्र खड्काले खबर लेखेका छन् ।
आफ्नै निर्वाचन क्षेत्रबाट विजयी ओली देशको कार्यकारी बनेपछि शकुन्तलामा वैदेशिक रोजगारीमा गएका पतिको अवस्था पत्ता लगाउन सकिन्छ भने आशा पलाएको छ। उनले यसअघि पतिको अवस्था के, कस्तो छ भनेर बुझ्न पटकपटक गरेका प्रयास असफल भएका छन्। ‘उहाँ (पति कमलप्रसाद) को अवस्था पत्ता लगाउन आफूले गरेका अनेक प्रयास विफल भएपछि अब केही हुँदैन भन्ने लागिरहेको थियो,’ उनले भनिन्, ‘केही दिनयता भने आफ्नै ठाउँका व्यक्ति प्रधानमन्त्री भएपछि गम्भीरतापूर्वक खोजी होला भन्ने आशा पलाएको छ।’ ओली प्रधानमन्त्री हुनुअघि नै शकुन्तलाले एमाले नेतालाई पतिको खोजीका लागि विवरणसहित निवेदन दिइसकेकी छन्। ‘चुनाव प्रचारका बेला पनि गाउँकै एमाले नेतामार्फत ओलीलाई मेरा पतिबारे स्मरणपत्र दिएकी थिएँ,’ उनले भनिन्, ‘एमालेका ती नेताले ओली निर्णय गर्ने तहमा पुगेपछि खोजीका लागि पहल गर्ने बताउनुभएको थियो। अब त्यो बेला आएको छ।’
लीको टिममा रहेका केही व्यक्तिलाई पहिलेदेखि नै चिन्ने भएकाले यतिखेर झनै आशा बढेको शकुन्तलाको भनाइ छ। ‘हाम्रो माग ठूलो छैन,’ उनले भनिन्, ‘उहाँ जीवित रहे÷नरहेको जानकारी दिए पुग्छ।’ प्रधानमन्त्रीले गम्भीरतापूर्वक चासो दिने हो भने त्यसबारे यथार्थ खुल्ने छिमेकीले दवाडी परिवारलाई बताउँदै आएका छन्।
छोराको अनुहार देखेर मर्ने धोको रहेको बताउने ८५ वर्षीया आमा कमलाले प्रधानमन्त्री ओलीलाई जसरी पनि खोजीमा चासो लिइदिन आग्रह गरिन्। ‘यतिखेर हामी सबैले भरोसा गरेका व्यक्ति ओली नै प्रधानमन्त्री हुनुहुन्छ,’ उनले भनिन्, ‘यही मौकामा छोराको वास्तविकता खुलोस् भन्ने चाहना छ। कमाउन मलेसिया गएको छोरो फर्केला भन्दाभन्दै १३ पुगरे १४ वर्ष हुन लाग्यो। अहिलेसम्म हारगुहार गर्दा सरकारी निकायलाई हाम्रो पीडाले छोएन। अब भने त्यस्तो नहोस्।’
प्रतिक्रिया