नेपालमा योजना दिन्छ काम पुरा गर्दैन भारतिय दुतावास !

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख २६, २०७५
|
|
५५ पटक हेरिएको
Shares
नेपालमा योजना दिन्छ काम पुरा गर्दैन भारतिय दुतावास !

सारांश

  • अस्बिन खड्का, २६ बैशाख  ।
  •   मोदीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा भएको सम्झौता नवीकरणले केही योजना थप हुनेमा सर्वसाधारण आशावादी देखिएका छन् भने अर्कोतर्फ भारतीय दूतावासलाई सिधै लगानी गर्न दिने अनुमतिले विकास योजनामा विकृति ल्याएको बताउनेहरुको पनि कमि छैन।
  • दूतावाससँग नजिक सम्बन्ध भएकाहरुले योजनामा हात हाल्ने तर काम पूरा नगर्ने प्रवृत्तिले विकासका गतिविधि ठप्प हुने उनीहरुको भनाइ छ।

अस्बिन खड्का, २६ बैशाख  ।  मोदीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा भएको सम्झौता नवीकरणले केही योजना थप हुनेमा सर्वसाधारण आशावादी देखिएका छन् भने अर्कोतर्फ भारतीय दूतावासलाई सिधै लगानी गर्न दिने अनुमतिले विकास योजनामा विकृति ल्याएको बताउनेहरुको पनि कमि छैन।

दूतावाससँग नजिक सम्बन्ध भएकाहरुले योजनामा हात हाल्ने तर काम पूरा नगर्ने प्रवृत्तिले विकासका गतिविधि ठप्प हुने उनीहरुको भनाइ छ। सप्तरीमा यही प्रवृत्तिका कारण भारतीय दूतावासमार्फत आएका दर्जनभन्दा बढी विकासका योजना वर्षौंदेखि अलपत्र परेका छन्।

९ वर्षअगाडि शिलान्यास गरिएको सप्तरीको राजविराज नगरपालिका–१६, बोरियास्थित नरेन्द्र मेमोरियल माध्यमिक विद्यालयको भवन निर्माण कार्य अहिलेसम्म सम्पन्न हुन सकेको छैन। भारतीय सहयोगमा सुरु भएको सो भवन निर्माण कार्य अधुरो राखेर ठेकेदारले काम छोडेपछि पठनपाठनमा समस्या भएको छ।

नेपालका लागि तत्कालीन भारतीय राजदूत शिवशंकर मुखर्जीले २०६४ चैत ६ मा शिलान्यास गरेको भवन निर्माणको ठेक्का डाँफे कन्स्ट्रक्सन प्रालि काठमाडौंले पाएको थियाे। भारतीय दूतावासको १ करोड ३५ लाख १३ हजार १ सय ६ रुपैयाँ सहयोगमा सुरु भएको ९ कोठे भवनको निर्माण काम तीन वर्षभित्र सम्पन्न हुनुपर्ने थियो। अहिलेसम्म पनि झ्यालढोका, वायरिङ, रङरोगन लगायतका काम अधुरै छन्।

यस्तै, ०६२ जेठ २९ मा ठेक्का खुलाएकाे राजविराजस्थित मुलुककै पुरानो महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको कन्या छात्रावासको योजना अझै पूरा हुन सकेको छैन।

भारतीय राजदूतावासको १ करोड ९६ लाख ४५ हजार ५ सय ३२ रुपैयाँ सहयोगमा निर्माणाधीन छात्रावासको निर्माण सन् २००६ भित्रै सम्पन्न गर्नुपर्ने थियो। तर, निर्धारित समय सकिएको ११ वर्ष बितिसक्दा पनि योजनाको २० प्रतिशत काम अधुरै छ। ५६ कोठे उक्त छात्राबासको झ्याल, ढोका, दुई वटा सिँढी, घर र छतको रेलिङ, रङरोगन, विद्युत् जडान, क्यान्टिन र शौचालय निर्माण लगायतका काम बाँकी नै छन्। समिति मार्फत निर्माण सुरु गरिएको छात्राबासको अधुरो काम सम्पन्न गर्न पटकपटक भएका प्रयास असफल हुँदै आएका छन्।

वर्षौंदेखि रोकिएको निर्माण कार्य पुनः सुरु हुनेमा सबैले आशा मारेका छन्। छात्राबास निर्माण समितिका संयोजक रहेका सप्तरी निवासी शेखरकुमार सिंह हाल राष्ट्रिय जनता पार्टीका वरिष्ठ उपाध्यक्ष हुन्।

दूतावासका ५ योजना अलपत्र

नरेन्द्र मेमोरियल मावि र महेन्द्र विन्देश्वरी क्याम्पसको कन्या छात्रावाससँगै सप्तरीमा भारतीय दूतावासको आर्थिक सहयोगमा सञ्चालित ५ वटा योजना वर्षौंदेखि अलपत्र छन्।

कुल ९ करोड ६५ लाख ६४ हजार रुपैयाँ लगानीका यी योजनाका लागि जिल्ला विकास समिति सप्तरीले विभिन्न ठेकेदारहरुको नाममा ७ करोड ३० लाख ६९ हजार रुपैयाँको छुट्टाछुट्टै टेन्डर गरेको थियो। तर, हालसम्म कुनै पनि योजना पूरा नभएको जिल्ला समन्वय समिति सप्तरीका शाखा अधिकृत गंगा साह बताउँछन्।

जसमध्ये २ करोड २३ लाख ४४ हजार रुपैयाँको टेन्डर गरिएको सगरमाथा अञ्चल अस्पताल राजविराजको प्रसूति तथा आकस्मिक कक्ष भवनको निर्माण कार्य अलपत्र छ।निर्माण कार्य अक्टोबर २००७ ९२०६४ असोज० देखि जनवरी २०१० सम्ममा पूरा गरिसक्नुपर्ने थियो। दिवा नरेन्द्र उदाय दास जेभीले ठेक्का लिएको यो योजना पूरा नहुँदा बिरामीले सास्ती बेहोर्दै आएका छन्।

२०६४ असारमै पूरा गरीसक्नुपर्ने जनता रामेश्वर मेमोरियल माध्यमिक विद्यालयको भवन निर्माण योजनाका लागि ३१ लाख १५ हजार रुपैयाँको टेन्डर भएको थियो। ९० प्रतिशतभन्दा बढी बजेट निकासा भइसकेको यो योजना पनि अलपत्र छ। जोशिला प्रकाश निर्माण सेवा जेभी विराटनगरले यसको ठेक्का पाएको थियो। यो योजनाका लागि दूतावासले २० लाख ९१ हजार ८ सय १० रुपैयाँको बजेट थप पनि गरेको छ। यसका लागि तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेशकुमार सिंहको संयोजकत्मा निर्माण समिति गठन गरिएको थियो।

यता, ०६४ असारभित्र सम्पन्न गर्नुपर्ने कुनौली–फत्तेपुर सडक योजना १० वर्ष बितिसक्दा पनि अधुरो छ। १० किलोमिटर सडक निर्माणका लागि भारतीय दूतावासले २ करोड ९७ लाख २२ हजार रुपैयाँ सहयोग गरेको छ। वाइपी देव एन्ड सेयर विशालराज सेन कन्सट्रक्सन जेभी राजविराजले टेन्डर लिएको यो योजना ०६३ असार ७ देखि सुरु भएको थियो। यो योजनामा हालसम्म भएका काममा समेत गुणस्तरको प्रश्न उठेको छ।

भारतीय दूतावास मार्फत सञ्चालनमा रहेका सम्पूर्ण योजना अलपत्र परेपछि सप्तरीबासी  पाएको सुविधा उपभोग गर्नबाट वञ्चित भएका छन् । दूतावासकै कमजोरीका कारण ती योजना अलपत्र परेकाले यथाशीघ्र काम सम्पन्न गर्नेतर्फ दबाब सिर्जना गर्न स्थानीयले माग गरेका छन्।

अधिकांश योजनाका ठेकेदार तथा निर्माण समितिका संयोजक दूतावास र दूतावासका कर्मचारीको नजिक रहेकाले योजना अधुरै रहँदा पनि कसैले दबाब दिन नसकेको स्थानीयको भनाई छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?