मुस्ताङमा बाढीले १० घर, प्रहरी चौकी र पुल बगायो

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण २९, २०८०
|
|
४५ पटक हेरिएको
Shares
मुस्ताङमा बाढीले १० घर, प्रहरी चौकी र पुल बगायो

सारांश

  • म्याग्दी।
  • मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ।
  • गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति पुर्‍याएको हो।

म्याग्दी। मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ।

गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति पुर्‍याएको हो। बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बाढीले १० घर/होटल, प्रहरी चौक, जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मान्छे हिँड्ने पुल, दुई गाडी र तीन विद्युत्का पोल बगाएको बताएको बताए।

“कागबेनीभन्दा माथिको तिरिखोला थुनिएर बाढी आएको सूचना पाएपछि घर खाली गराएकाले मानवीय क्षति हुन पाएन”, उनले भने, “बाढीले कागबेनीको धर्मशाला पुरिएको छ। बस्तीभित्र बाढी पसेर हिलाम्मे बनेको छ ।” मुक्तिनाथबाट बगेर आउने कागखोला कागबेनीको बीचभागमा छ।

प्रमुख जिल्ला अधिकारी अनुप केसीले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, जनप्रतिनिधि उद्धारमा खटिएको बताए। पाण्डाखोलाको बाढीले सुरक्षाकर्मीलाई जोमसोमदेखि कागबेनी पुग्न समस्या भएको छ। कागबेनी हुँदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध बनाएको छ।

विद्युत् पोल ढलेकाले विद्युत् आपूर्ति बन्द भएको छ। दुई दिनदेखि मुस्ताङमा पनि लगातार पानी परिरहेको छ। बर्सातका कारण मुस्ताङका अन्य खोलामा पनि बाढीको सतह बढेको छ।

मुस्ताङको जोमसोम विमानस्थलस्थित मौसम मापन केन्द्र पछिल्लो २४ घण्टामा २५ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?