मोदीको नागरिक अभिनन्दन अस्वाभाविक र अनावश्यक: कमल थापा
सारांश
- काठमाडाै, २१ वैशाख ।
- राप्रपा अध्यक्ष समेत रहेका पूर्व परराष्ट्रमन्त्री कमल थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा गर्न लागिएको नागरिक अभिनन्दन अस्वाभाविक र अनावश्यक रहेको बताएका छन्।
- शुक्रबार बिहान ट्वीट गर्दै थापाले मोदीलाई जनकपुरमा गर्न लागिएको नागरिक अभिनन्दन अस्वाभाविक र अनावश्यक बताएका हुन्।
काठमाडाै, २१ वैशाख । राप्रपा अध्यक्ष समेत रहेका पूर्व परराष्ट्रमन्त्री कमल थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा गर्न लागिएको नागरिक अभिनन्दन अस्वाभाविक र अनावश्यक रहेको बताएका छन्। शुक्रबार बिहान ट्वीट गर्दै थापाले मोदीलाई जनकपुरमा गर्न लागिएको नागरिक अभिनन्दन अस्वाभाविक र अनावश्यक बताएका हुन्।
ट्वीटमा उनले भनेका छन्, ‘थुप्रै कमी कमजोरीका बाबजुद सार्वभौम नेपाली जनताद्वारा निर्वाचित प्रतिनिधिहरुले विधिपुर्वक निर्माण गरेको संविधानलाई स्वागत नगरेको र आफूले लगाएको आर्थिक नाकाबन्दीप्रति दुःख समेत प्रकट नगरेको अवस्थामा नरेन्द्र मोदीजीको नागरिक अभिनन्दन अस्वभािवक र अनाबश्यक छ।’
लामो ट्वीटमा थापाले लेखेका छन्ः
भारतीय प्रधानममन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणमा यही बैशाख २८ गते आउनु हुने निश्चित भएको छ। अतिथि देवो भवः को संस्कार, मान्यता र आदर्शलाई आत्मसात गर्ने नेपालीहरुले आगन्तुक बिशिष्ठ पाहुनाको सत्कार, स्वागत र सम्मान गर्नु पर्दछ। यद्यपी, मोदीजीको आशन्न भ्रमणको महत्व र औचित्य स्पष्ट छैन, यसबारे बिभिन्न कोणबाट बहस हुनसक्दछ।
नेपालका प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गर्नु भएको एक महिनाभित्र हुन लागेको यो उच्चस्तरीय भ्रमणको अर्थ र उपलब्धिका बारेमा छलफल हुने नै छ। अरुण तेस्रो जलबिद्युत आयोजनाको शिलान्यासका लागि काठमाण्डौबाट रिमोट थिच्न मात्र नरेन्द्र मोदीजी जस्तो ‘हाईप्रोफाईल’ र ब्यस्त अन्तर्राष्ट्रिय स्तरका नेता नेपाल आउनु भएको हो भन्नु भ्रमण कै अवमुल्यन हुनेछ। भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण सफल होस्, मेरो हार्दिक शुभकामना छ।
नेपाल भ्रमणको क्रममा भारतीय प्रधानमन्त्रीलाई जनकपुरमा भव्य र बिशाल नागरिक अभिनन्दन गरिने समाचार भने स्वभावतः मेरो मन मस्तिष्कमा बिझिरहेको छ।
थुप्रै कमी कमजोरीका बाबजुद सार्वभौम नेपाली जनताद्वारा निर्वाचित प्रतिनिधिहरुले विधिपूर्वक निर्माण गरेको संविधानलाई स्वागत नगरेको र आफुले लगाएको आर्थिक नाकाबन्दी प्रति दुःख समेत प्रकट नगरेको अवस्थामा नरेन्द्र मोदीजीको नागरिक अभिनन्दन अस्वभािवक र अनाबश्यक छ।
गत २०७२ असोज–कार्तिक देखि शुरु भएको करिव ५ महिने भारतीय आर्थिक नाकाबन्दीले नेपालको आर्थिक सामजिक क्षेत्रमा अकल्पनीय क्षति पुर्यायो। महाभूकम्पको पीडा सेलाउन नपाउँदै लगाईएको नाकाबन्दीबाट भूकम्पले भन्दा पनि बढी आर्थिक नोक्सानी नेपालीले बेहोर्नुपरेको परेको तथ्य सर्वविदित छ। दशैं, तिहार र छठ जस्ता पर्वहरुमा जनताले घरमा चुल्हो बाल्न पाएनन्।
त्यो घटना अमानवीय थियो र त्यसले पुर्याएको घाउ निको हुन समय लाग्छ। नाकाबन्दी भूपरिवेष्ठित राष्ट्र नेपालको नैसर्गिक अधिकार तथा अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन थियो। तत्कालिन अवस्थामा उपप्रधानमन्त्री सहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी वहन गरेको नाताले नाकाबन्दीसँग गाँसिएको उतार चढाव तथा क्रियाप्रतिक्रिया सम्बन्धमा मेरो आफ्नै अविस्मरणिय अनुभूति रहेको छ।
जेनेभामा भएको संयुक्त राष्ट्र संघको एक सभामा भारतीय प्रतिनिधिले नेपालको संविधान, मानव अधिकार स्थिति र मधेस आन्दोलनका बारेमा गरेका अतिरञ्जित नकरात्मक टिप्पणी अहिले पनि मेरो कानमा गुञ्जिरहेको छ। पटक पटकको भारत भ्रमणको क्रममा सुन्नु परेका दबाबमूलक भनाईहरु बिर्सेको छैन। संबिधान अपूर्ण, असमावेशी र सर्वस्विकार्य छैन भनी वाशिंगटनदेखि बेलायत र ब्रसेल्ससम्म भारतीय पक्षबाट एकोहोरो गरिएको प्रचार अभियान चिर्न कति कठिन थियो, त्यसवारे भविष्यमा अझ थप चर्चा हुने नै छ।
नाकाबन्दी अन्त्य भएपछि तत्कालिन प्रधानमन्त्री क पी ओलीको भारत भ्रमणका बेला संयुक्त बिज्ञप्ति प्रकशित हुन नसकेको तीतो संझना पनि नेपाल भारत सम्बन्धको ईतिहासमा उल्लेखनीय रहने छ। नाकाबन्दी र संविधानबारे भारतीय व्यवहारका भुक्तभोगी प्रधानमन्त्री केपी ओलीले नागरिक अभिनन्दनलाई कसरी पुष्ठि गर्नु हुनेछ, त्यो मेरा लागि जिज्ञासाको बिषय हो।
निर्वाचन र सरकार निर्माणकाबारेमा हाल आएर भारत सरकारले गरेको सकारात्मक टिप्पणी भने स्वागत योग्य छ। तर, नेपालको संविधानका बारेमा भारतको नकरात्मक सोचाईमा सुधार र नाकाबन्दीप्रतिको दुःख प्रकटको भने सदैव अपेक्षा रहने छ।
प्रतिक्रिया