यसकारण गोरखा–१ मा चीनकाजीभन्दा हरि अधिकारी निकै ‘दर्बिलो’
सारांश
- काठमाडौं ।
- आगामी मंसिर १० गते निर्वाचन हुने भएपछि यतिबेला गोरखाका गाउँ–गाउँमा राजनीतिक दलहरु भोट माग्दै पुगेका छन् ।
- गोरखाको चुनावी मैदानमा आधादर्जन बढी दलहरु उत्रिए पनि यहाँ मुख्य प्रतिष्पर्धा भने माओवादी, कांग्रेस, एमाले र नयाँ शक्तिबीच नै हुने देखिएको छ ।
काठमाडौं । आगामी मंसिर १० गते निर्वाचन हुने भएपछि यतिबेला गोरखाका गाउँ–गाउँमा राजनीतिक दलहरु भोट माग्दै पुगेका छन् । गोरखाको चुनावी मैदानमा आधादर्जन बढी दलहरु उत्रिए पनि यहाँ मुख्य प्रतिष्पर्धा भने माओवादी, कांग्रेस, एमाले र नयाँ शक्तिबीच नै हुने देखिएको छ ।
एक्लै लड्दा मुख्य प्रतिष्पर्धी कांग्रेस–माओवादी बीच हुने स्थिति रहे पनि गठबन्धन निर्माणका कारण तीनवटा दल बलियो बन्ने देखिएका छन् । प्रतिनिधिसभातर्फ २ र प्रदेशतर्फ ४ निर्वाचन क्षेत्र रहेको गोरखालाई सबैले चासोका साथ हेरेका छन् ।
माओवादीको प्रभाव क्षेत्रका रुपमा चिनिने गोरखाको राजनीति डा. बाबुराम भट्टराई पार्टीबाट बाहिरिएसँगै बदलिएको छ । वैकल्पिक शक्ति निर्माणका लागि बाबुरामले गोरखामा प्रभाव विस्तार थालेपछि यो जिल्लाको समीकरणमा फेरबदल आएको हो ।
जिल्लामा अन्य पार्टीको तुलनामा छोटो समयमा संगठन र जनमत दुवै निर्माण गर्न सफल भएको माओवादी बाबुराम चोइटिएसँगै रक्षात्मक अवस्थामा छ । यसपटक आफ्नो लिगेसी र साख दुवै जोगाउनुपर्ने दबाबमा रहेको माओवादी केन्द्रलाई एमालेले साथ दिएको छ । उता, नयाँ शक्ति र कांग्रेस पनि गोरखामा राजनीतिक शक्ति आर्जन गर्न उद्दत देखिएका छन् । गोरखाका तीनवटै राजनीतिक दल शक्ति आर्जनको ध्याउन्नमा लाग्दा गोरखाको चुनाव यसपटक निकै नै पेचिलो, रोचक, घोचक अनि चाखपूर्ण बनेको छ ।
आ–आफ्नै दाउमा रहेका दलहरुले यसपटक स्वार्थ मिल्ने दलसँग दोस्ती गाँसेका छन् । एमालेले माओवादी केन्द्रलाई गोरखा छाडेपछि दुवै क्षेत्रमा माओवादीको ढलीमली छ । आफ्नो तर्फबाट उम्मेदवार नउठाइ साथ दिने वचन एमालेले दिएकाले माओवादी लगभग ढुक्क छ ।
एमालेको साथले राहत महसुस गरेको माओवादी केन्द्रले गोरखाको क्षेत्र नं. १ मा हरि अधिकारी ‘कुमार’लाई उम्मेदवार बनाएको छ भने २ मा नारायणकाजी श्रेष्ठले बाबुरामको सामना गर्दैछन् । बाबुरामलाई विरासत धान्न जित्नैपर्ने अवस्था छ भने नारायणकाजी प्रतिष्ठाको लडाईंमा बेस्सरी होमिएका छन् । अन्य केही दलसँगै स्वतन्त्र उम्मेदवारीसमेत यो क्षेत्रमा परेको छ । केही स्वतन्त्र व्यक्ति र साना दलको तर्फबाट उम्मेदवारी परे पनि उनीहरुले उपस्थिति जनाउने बाहेक खासै राम्रो नतिजा हासिल गर्ने अवस्था गोरखामा छैन् ।
गोरखाको प्रतिनिधिसभातर्फको १ नम्बर क्षेत्रमा पूरै ५ गाउँपालिका र एक नगरपालिकाको केही वडाहरु पर्छन् । यो निर्वाचन क्षेत्रमा गाउँपालिकातर्फ भीमसेन, शहीद लखन, गण्डकी, धार्चे र चुमनुव्री पर्छ भने गोरखा नगरपालिकाको १ देखि ७ वडा पनि १ मै पारिएको छ ।
यही स्थानीय तहका मतदाताको हातबाट मंसिर १० गते हरि अधिकारी र चीनकाजी श्रेष्ठको भविष्य निर्धारण हुँदैछ । यी दुई उम्मेदवारमध्ये अधिकारीलाई एमालेको दह्रो साथ छ भने श्रेष्ठलाई नयाँ शक्ति पार्टी समर्थकले मत दिनुपर्नेछ ।
तर, यो दौडमा हरि अधिकारीलाई स्थानीय चुनावको गणितदेखि उनको व्यक्तित्व, त्याग र योगदानसम्मले साथ दिएको चर्चा गोरखातिर छ । जसका कारण, श्रेष्ठभन्दा अधिकारीको स्थिति अहिलेदेखि नै सुदृढ बन्दै गएको छ । अधिकारीको चुनाव जित्ने केही आधारहरु प्रष्टसँग देखापरेको भन्दै नेता तथा कार्यकर्तासमेत स्थानीय तहको बदला कांग्रेससँग लिन सकिनेमा ढुक्क छन् ।
अधिकारी जीतका केही आधार हामीले यहाँ पैल्याएका छौं ।
स्थानीयको गणित
यो क्षेत्रमा पर्ने ६ स्थानीय तहमध्ये अधिकांशमा कांग्रेसले बाजी मारेको केही महिना मात्रै बितेको छ । कांग्रेसले अधिकांश तहमा माओवादीलाई धुलो चटाएकाले कांग्रेसले नै बाजी मार्ने आंकलन कतिपयले गरेका छन् । तर, माओवादी पराजित भएको स्थानमा भारी मतले होइन, झिनो मतका साथ पराजित भएकाले यसपटक कांग्रेसलाई पछि पार्न माओवादीलाई केही मतको मात्रै जरुरत छ ।
जुन मत माओवादीले सजिलै एमालेबाट लिँदैछ । स्थानीय तहको मत परिणाम अनुसार, गोरखाको क्षेत्र नं. १ मा एमाले–माओवादी गठबन्धनको कूल मत २९ हजार ३ सय २० छ भने कांग्रेस–नयाँ शक्तिले पाएको मतको कूल योग २८ हजार ७ सय २० छ । झिनो मतले यो क्षेत्रमा माओवादी उम्मेदवारले जित्ने स्थानीय तहको गणितले समेत देखाउँछ । तर, स्थानीय तहमा खसेको मतकै निरन्तरता प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा नहुने धेरैको आंकलन छ ।
कांग्रेसलाई जसको आश, उसैको त्रास !
गोरखा–१ मा कांग्रेस–नयाँ शक्तिबीच गठबन्धन बने पनि यो गठबन्धनलाई पछ्याउँदै नयाँ शक्तिका मतदाताले कांग्रेसमा भोट हाल्छन् भन्ने ग्यारेन्टी छैन् । गोरखाका जनताको राजनीतिक चेत र राजनीतिक आबद्धताले पनि यो शंकाको सुविधा दिएको छ । स्वयं कांग्रेसीहरु नै नयाँ शक्तिका मतदातासँग भित्रभित्रै सशंकित छन् ।
‘जोगीदेखि भैंसी र भैंसीदेखि जोगी डराउने भनेजस्तो नयाँ शक्ति र कांग्रेसका उम्मेदवार गोरखामा एक अर्कासँग सशंकित बनेका छन्,’ गोरखाका एक कांग्रेस नेताले भने, ‘निर्वाचन मिति नजिकिँदै जाँदा बढेको अविश्वासको वातावरणले विपक्षीलाई फाइदा पुग्ने पो हो कि भन्ने चिन्ता दुवैतिर बढ्न थालेको छ ।’
नयाँ शक्तिकै सहानुभूति
अधिकारी माओवादी केन्द्रका उम्मेदवार हुन् । माओवादी केन्द्रका उम्मेदवार भएकाले अधिकारीलाई नयाँ शक्तिको मत नपर्ने कांग्रेसीहरुको भित्री हिसाब–किताब छ । उनीहरु स्थानीय तहमा खसेको मतमै पछि परिसके पनि त्यही अनुपातमा मत खस्ने र अन्य मत तानेर चुनाव जित्ने ध्याउन्नमा छन् ।
कांग्रेसले नयाँ शक्तिको मत बटुल्ने र अन्य मत तान्ने रणनीति बनाए पनि ऊ यसमा बल्ड्याङ खाने धेरै आधारहरु छन् । पहिलो त, नयाँ शक्तिले कांग्रेससँग गठबन्धन गरे पनि बाबुराममाथि गर्व गर्ने त्यहाँका मतदाताले कांग्रेसी उम्मेदवारलाई रुचाएका छैनन् । भावनात्मक रुपले निकट भएकाले उनीहरुको हात विगतमा मतदान गरेको हँसिया हथौडा छाडेर रुखमा जाला भनेर विश्वास गर्न सकिन्न् ।
नबिझाउने व्यक्तित्व
प्रखर वैचारिक राजनीतिक व्यक्तित्व हरि अधिकारी जति सिद्धान्त र मूल्य निष्ठाप्रति प्रतिवद्ध छन्, त्यति नै नरम र मिजासिला पनि छन् । गोरखामा बाबुराम र प्रचण्ड पक्षबीच गाँड कोराकोर हुँदा समेत अधिकारी उच्च राजनीतिक संस्कार प्रदर्शन गर्दै हिलो छ्यापाछ्पापमा उत्रिएनन् । त्यसैले अधिकारीलाई माओवादीले जति रुचाउँछन्, प्रचण्डको पेलानबाट अपमानित भएर नयाँ शक्तिमा ओत लागेकाहरुले पनि उत्तिकै सम्मान र आदर भाव गर्छन् । आदर र सम्मान गर्न कुनै कन्ज्युस्याइँ नगर्ने नयाँ शक्तिका मतदाताले अधिकारी रोज्लान् कि रुख र जनताबाट टाढा रहन रुचाउने चीनकाजी ? प्रष्ट छ ।
रुझान
संघर्षका पर्यावादी जस्तै लाग्ने अधिकारी जनताको बीचमा रहन रुचाउने नेता हुन् । उनी जनयुद्ध हुँदै शान्ति प्रक्रियाको अहिलेसम्म पनि जनताको बीचबाट कतै गएका छैनन् । यो बीचमा उनी जनताको सुखमा हाँसेका छन् । दुःखमा रोएर साथ दिएका छन् । जनताबीचमै लुट्पुटिने अधिकारीलाई छाडेर काठमाडौंको षड्यन्त्रपूर्ण राजनीतिमा विश्वास राख्ने चीनकाजीलाई गोरखाका उच्च राजनीतिक चेत भएका जनताले छनोट गर्लान् भन्ने विश्वास गर्न सकिँदैन ।
दल–बदल
अधिकारी जीतको अर्को आधार हो– दल–बदल । बाबुरामले नयाँ शक्ति निर्माण गरेसँगै गोरखा माओवादीका नेता तथा कार्यकर्ताले पार्टी बदले पनि उनीहरु पछिल्लो समय माओवादी केन्द्रमा नै फर्किएका छन् । स्थानीय तहको निर्वाचनमा नयाँ शक्तिले व्यहोरेको पराजयबाट भर्खरै हुर्कन लागेको नयाँ शक्ति गोरखामा लगभग असहायजस्तै बनेको छ । यसले स्थानीय तहको भन्दा निकै नै बढी मत माओवादीमा पर्ने धेरैको अनुमान र आँकलन छ ।
हेर्नुस् स्थानीय तह चुनावमा दलले पाएको मत
भीमसेन गाउँपालिका
कांग्रेस ३९४३
एमाले १२५५
माओवादी २९८४
राप्रपा ६७
नयाँ शक्ति १११४
शहीद लगन गाउँपालिका
नेकपा माओवादी ३८०८
कांग्रेस ३४०३
एमाले २५५६
राप्रपा १३०
नयाँ शक्ति १८११
गण्डकी गाउँपालिका
नेपाली कांग्रेस ४१६४
एमाले १२४२
माओवादी ३८५९
नयाँ शक्ति ५०२
धार्चे गाउँपालिका
कांग्रेस १७०७
माओवादी ११२८
राप्रपा ९
नयाँ शक्ति १६३८
गोरखा नगरपालिका
नेपाली कांग्रस ६५६०
एमाले ४२८६
नेकपा माओवादी ५०२६
राप्रपा २८७
नयाँ शक्ति २०८३
चुमनुव्री
नेपाली कांग्रस १२५६
एमाले ६४०
माओवादी ११८५
फोरम ५१
Ramkumar Ale Magar
बधाई काम्रेड,अासलाग्दा नेता नम्बर १को अाफुनए हो ।
Sukadeb Dahal
स्थानीय चुनाव ले देखियो दुबै क्षेत्र माओवादी चिलिम खान्छ, लेखेर राखे हुन्छ
Prakash Lamichhane
नाम पनि सुनेको छैन यो हरि अधिकारि भनेको त
Sanjeeb Bhatta
चुनाव अगाडि त जितियला कम्रेड पछि अाश नगरनु
Chinimaya Kala Magar
बिजयको शुभकामना
Madhav Sapkota
Njjh