रेन्बो ट्राउट माछापालन शुरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ३१, २०७६
|
|
३७ पटक हेरिएको
Shares
रेन्बो ट्राउट माछापालन शुरु

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरामा पहिलो पटक रेन्बो ट्राउट माछापालन शुरु गरिएको छ । स्थानीय चार युवाको पहलमा रेन्बो ट्राउट माछापालन शुरु गरिएको हो ।

स्थानीय सिमडा गाउँका स्थानीय डम्बरबहादुर विष्ट, लीलाधर विष्ट, हेमबहादुर विष्ट तथा शेरबहादुर देउवाले जैविक कृषि उत्पादन तथा प्रवद्र्धन फर्म उद्योग दर्ता गरेर पहिलोपटक रेन्बो ट्राउट माछापालन गर्नुभएको छ । डोटीमा मात्रै नभई सुदूरपश्चिम प्रदेशमै पहिलोपटक जोरायल–५ गड्सेरामा पहिलोपटक रेन्बो ट्राउट माछापालन शुरु भएको स्थानीय गड्सेराका स्थानीय शिक्षक प्रकाशबहादुर रावलले बताउनुभयो । आगामी फागुन

उहाँले भन्नुभयो, “हावापानी मिल्ने र राम्रै उत्पादन हुने भएपछि केही साथी मिलेर ट्राउट माछापालन शुरु गरेका छन्, अहिलेसम्म त राम्रै भएका छन् ।” नेपाल सरकार मत्स्य विकास कृत्रिम तथा प्राकृतिक जलाशय मत्स्य विकास कार्यक्रम बालाजु काठमाडौँको रु पाँच लाख र जोरायल गाउँपालिकाको रु एक लाख गरी कूल रु छ लाखमा पाँच हजार रेन्बो ट्राउट माछाका भुरापालन शुरु गरिएको जैविक कृषि उत्पादन तथा प्रवद्र्धन फर्म उद्योगका सचिव तथा माछापालन व्यवसायी लीलाधर विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “लाखौँ रकम लगानी गरेर माछापालन शुरु गरेका छौँ, राम्रैसँग हुर्किन थालेका छन्, राम्रै आम्दानी हुनेछ होला ।” मत्स्य अनुसन्धान केन्द्र नुवाकोटका मत्स्य प्राविधिकको सहयोगमा नुवाकोट जिल्लाबाट उक्त माछाका भुरा ल्याइएको सचिव विष्टले जानकारी दिनुभयो । मत्स्य विकास केन्द्र गेटा कैलाली र तत्कालीन जिल्ला कृषि विकास कार्यालय डोटीको प्रविधिक टोलीले गरेको प्रारम्भिक अध्ययनअनुसार गड्सेरामा रेन्बो ट्राउट माछापालन र भुरा उत्पादनका निमित्त उपयुक्त रहेको निष्कर्ष निकालेपछि सो ठाउँमा पहिलोपटक रेन्बो ट्राउट माछापालन शुरु गरिएको हो ।

चिसो र बहाव भएको पानीमा पालन गर्न सकिने रेन्बो ट्राउट माछालाई मत्स्य अनुसन्धान केन्द्रको सबैभन्दा सफल माछाका रुपमा लिइन्छ । चिसोमा पानीमा पालिने भएका कारण यसको स्वाद विशिष्ट किसिमको हुनुका साथै आम्दानी पनि राम्रै हुने गरेको कृषि समन्वय एकाइ कार्यालय डोटीका प्रमुख किसनसिंह थापाले बताउनुभयो ।

“चिसो पानीमा हुर्किने र हुर्काउनलाई पनि खासै मेहनत नचाहिने भएकाले यो माछालाई आम्दानीको प्रमुख स्रोतका रुपमा लिइने गरेको छ”, उहाँले भन्नुभयो, “रेन्बो ट्राउट माछा शून्यदेखि २१ डिग्री सेन्टिग्रेड तापक्रममा बाँच्न सक्छ, यसको राम्रो वृद्धिका लागि १० देखि २० डिग्री सेन्टिग्रेड उपयुक्त मानिन्छ जो तापक्रम गड्सेरामा छ ।”

नेपालमा रेन्बो ट्राउट माछा सन् १९८९ बाट शुरु गरिएको र जापान सरकारले तत्कालीन अवस्थामा ५० हजार माछाका भुरा नेपाल पठाएको थियो । नुवाकोट जिल्लाको त्रिशूलीमा परीक्षण उत्पादनका लागि राखिएको थियो भने उत्पादन भएका रेन्बो ट्राउट माछा बेचबिखन गर्न सन् १९९७ देखि शुरु भएको कृषि समन्वय एकाइ कार्यालय डोटीका प्रमुख किसनसिंह थापाले बताउनुभयो ।

रेन्बो ट्राउट माछा बजारमा ठाउँअनुसार प्रतिकिलो रु एक हजार ५०० देखि रु दुई हजारसम्म पर्ने गरेको छ । गड्सेरामा पालिएका माछा हेर्नेको हिजोआज भीड लाग्ने गरेको छ । माछाका लागि आवश्यक पर्ने चारो बाहिरी जिल्लाबाट ल्याउनुपर्ने भएका कारण केही समस्या हुँदै आएको माछापालक कृषक शेरबहादुर देउवाले बताउनुभयो ।

हिमालबाट बग्ने कञ्चन पानीमा पालिएको रेम्बो ट्राउट माछाको परिकारको स्वाद एकदमै छुट्टै हुन्छ । चिसो र बहाव भएको पानीमा पालन गर्न सकिने ट्राउट माछालाई मत्स्य अनुसन्धान केन्द्रको सबैभन्दा सफल माछाका रूपमा लिइन्छ ।

चिसोपानीमा पालिने भएका कारण यसको स्वाद विशिष्ट किसिमको हुने माछापालक कृषक बताउँछन् । गड्सेरामा पालिएका ट्राउट माछा आउँदो फागुन, चैत महीनादेखि बिक्री वितरण गर्न योग्य हुने माछापालन व्यवसायी लीलाधर विष्टले जानकारी दिनुभयो । स्थानीय बजारमा बिक्री वितरण हुन नसके पनि भारतबाट माछाको माग आइसकेकाले बजारको समस्या नहुने उहाँको भनाइ छ । विमलबहादुर विष्ट /रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?