सपना (कटुकथा)
सारांश
- सपना सबैले देख्छन्, मैले पनि देखेँ ।
- मेरो सपना थियो देश विदेश सबै तिर नाम इज्जत भएको एक उत्कृष्ट गायिका बन्नु ।
- गाउँमा सबैले मेरो स्वरको वाहवाही गर्थे, कसैले त धेरै मन परेर पैसा पनि दिन्थे ।
सपना सबैले देख्छन्, मैले पनि देखेँ । मेरो सपना थियो देश विदेश सबै तिर नाम इज्जत भएको एक उत्कृष्ट गायिका बन्नु ।
गाउँमा सबैले मेरो स्वरको वाहवाही गर्थे, कसैले त धेरै मन परेर पैसा पनि दिन्थे । स्कुलमा पनि त म सधैँ प्रथम हुन्थेँ, गित गाउने प्रतियोगितामा । धेरैले मलाई मेरो भविष्य संगीत क्षत्रमै भएको कुरा बताउँथे, म पनि खुशिले फुरुङ्ङ भएर हावामा उड्न थाल्थेँ ।
पढाई चलिरहेकै थियो । बा आमाले दुःख सुख पढाएकै थिए । तर बिचैमा मलाई पनि ठूली गायिका भएर धरै पैसा कमाउने भूत चढ्यो । तल बजारमा तिजको कार्यक्रम हुँदा आउने गायक गायिका जस्तै बन्न मन लाग्यो । त्यस्तै धेरै जनाले मन पराइदिउन, मेरो नाम चिच्याउँदै बोलुन, स्टेजमा म उत्रने बित्तीकै खुसीले पागल होउन भन्ने सपना देख्न थालेँ अनि सपना पुरा भएको कल्पनामा डुब्न थालेँ ।
म शहर जान चाहेको कुरा घरमा भने, सुरुमा त मेरो प्रस्ताव आमाले ठाडै अस्विकार गर्नुभो । मैले जिद्धि गरिरहेँ । आमालाई मेरो सपना हुबहु देखाइदिएँ । मेरो रोग आमालाई पनि स¥यो , फेरी घरमा पैसाको पनि त धेरै खाँचो थियो । कमाउने कोही थिएन, बुवाको मजदुरी र आमाको मेलापातले नै छ जनाको हाम्रो परिवार पालिएको थियो । बहिनी भर्खर घरको काममा आमालाई सघाउने भएकि थिइ, दुईवटा भाई अझै सानै थिए ।
यस्तोमा आमालाई पनि छोरीले केही गर्दिओस भन्ने लागेको हुँदो हो ।
सायद त्यो सानो गाउँलाई संसार देख्नु नै मेरो भुल भयो । खासमा सत्य त यो थियो कि म सदरमुकाम भन्दा पर कहिले गएको थिइन र त्यहाँभन्दा ठूलो ठाउँ अन्त कतै छैन भन्ने भ्रममा म बाँचिरहेकी थिएँ । तर संसार त त्यहाँबाट निस्केपछि बल्ल सुरु हुँदो रहेछ । जुन कुरा बुझ्न मलाई धेरै समय लागेन ।
शहर आएको भोलिपल्टै गैराघरे कृष्ण दाई, जसले मलाई यहाँसम्म ल्याएका थिए र ठूलो गायिका हुने सपना देखाएका थिए, ले एउटा होटल चिनाइदिए । जहाँ म जस्ता अरु थुप्रै केटिहरु थिए, चौबन्दि चोलिमा सजिएका । केही गाइरहेका थिए, केही नाचिरहेका र केही ओहोर दोहोर गरिरहेका । कृष्ण दाईले मैले केही समय यहीँ गित सिक्नुपर्ने र केही समयपछि आफू लिन आउने बताए । त्यसबेला एउटा कोठा खोजिदिएर गएका उनको अहिलेसम्म कुनै अत्तोपत्तो छैन ।
गाउने बेलामा मैले कुनै कुरा सोच्थिन, एक चित्त भएर गाउथेँ । तर जब आफ्नो भागको गित गाएर म मञ्चबाट तल ओर्लन्थेँ,लाग्थ्यो म दैत्यलोक तर्फ अघि बढिरहेछु । राक्षसहरु दाह्रा उदाएर नङ्ग्रा फिजाएर बसिरहेछन् ।
कुरा अलि पहिलेकै हो , म नयाँ नै थिएँ । गित गाएर फर्केपछि होटल मालिकले मलाई टेवल नं. दुईमा जान भन्यो । त्यो मान्छेले मेरो स्वर मन पराएको र मलाई गित रेकर्डिङको लागि मौका दिन चाहेको कुरा सुनेपछि म पनि खुसी हुँदै टेवल नं. दुई तिर लागेँ । त्यहाँ टाईसुट लगाएको लगभग चालिस, पैँचालिस वर्षको मान्छे बसिरहेको थियो, हेर्दै ठूलै घरानाको जस्तो । म त्यहाँ पुग्नासाथ उही होटल मालिकले भनेका कुरा दोहो¥यायो, ‘तिम्रो स्वर एकदमै राम्रो छ, तिमि नेपालको सबैभन्दा राम्रो गायिका बन्न सक्छौ, म बनाउँछु तिमीलाई गायिका’ आदि आदि ।
म उसका कुरा सुनेर कुनै प्रतिक्रिया दिइन, उसको टेवलमा रहेका आधा दर्जन भन्दा बढि वियरका खालि सिसिले उसको नसा बोलेको प्रष्ट पाथ्र्यो । उसले मलाई आफ्नो नगिज बोलायो र बोतलको वियर गिलासमा खन्याउन लगायो । यो हाम्रो काम भित्रै पथ्र्यो, ग्राहकलाई रक्सि दिनु, सँगै बसेर रक्सि पिउनु, उनीहरुलाई खुसी पार्नु । यद्यपि मैले रक्सि भने कहिल्यै पिइन । उसले मेरो स्वर सँगै सुन्दरताको पनि तारिफ गर्न थाल्यो ।
उसको गिलास भरेर निस्कन लाग्दा मेरो हात समात्यो र आफूतिर हुत्यायो । आफ्नो घुँडामा बसाल्दै दाहिने हात मेरो कम्मर माथिको नाङ्गो भागतिर बढायो । म अकमक्क भएँ । यो मेरो लागि नौलो अनुभव थियो । अरु साथिहरु यसरि अरुको काखमा बसेर मस्केको भने मैले प्रशस्तै देखेकी थिएँ । तर मलाई भने त्यहाँ कत्ति ठिक लागिरहेको थिएन । मेरा कान लाजले राता भए । डरले मुटु काम्न थाल्यो । अब म त्यहाँ एक सेकेन्ड पनि बस्न सकुँला जस्तो लागेन । त्यो मान्छेले रक्सिले मातेर आफ्नै शरिर राम्रोसँग समाल्न सकिरहेको थिएन ।
मुटु बलियो बनाएर उसलाई सोफामा धकेली म त्यहाबाट भागेँ । म होटल मालिकको निगरानीमा छु भन्ने मलाई थाहा थियो अनि यो पनि थाहा थियो कि मेरो पछिल्लो कदम उसलाई विल्कुल मन पर्ने छैन । चेतावनी पाउने पक्का थियो । म आएको भालिपल्टै एकजना केटिलाई यस्तै कुरामा चित्त नबुजेर होटल मालिकले कामबाट निकालेको मलाई राम्रोसँग याद थियो । उसले दोस्रो पटक त्यस्तो गरेकि थिइ, मेरो पहिलो पटक भएर पनि म अलि ढुक्क थिएँ । सोचेअनुरुप, होटल मालिकले मलाई अन्तिम चेतावनी दियो । त्यो दैत्य जसको पञ्जाबाट म भर्खर भागेर आएकि थिएँ, उ यो शहरको सबैभन्दा ठुला व्यापारी मध्येको एक रैछ, र हाम्रो होटलको रेगुलर ग्राहक । धेरै जनालाई उसले ठूला ठूला कलाकार बनाएको साथिहरुले सुनाए। तर मलाई कत्ति पश्चाताप थिएन, त्यो मौका गलत्याएर हिँडेकोमा । ममा कसैको कृपा विना नै आफ्नो सपना पुरा गर्ने आत्म विश्वास थियो । म पछि त्यो राक्षसको आँखा रन्जुमा गयो । रन्जु उही केटि थिइ जसले मलाई यस्तो मौका आएमा छाड्नु हुँदैन, एक रातले जिन्दगी बदल्न सक्छ भनी प्रवचन दिने गर्थि । अनि किन छाड्थि यस्तो मौका उसले ।
त्यसको एक साता नबित्दै रन्जुको मिजासमा ठूलो परिवर्तन आयो । सँधै पैदल आउने उ स्कुटीमा आउन थाली । होटलका अरु साथिहरुलाई उसले मान्छेको दर्जा दिन छाडि, मसँग भने उस्तै सामान्य व्यवहार गर्थि । रन्जु त्यसै दिन देखि गाउने केटिहरुको प्रमुखमा चयन भई । उसले भनेको मौकाको फाईदा उठाउने कुरा फनफनी दिमागमा रिंग्न थाल्यो । त्यो दिन म त्यसरी नभागेकी भए अहिले रन्जु भएको ठाउँमा म हुन्थेँ भन्ने इस्र्याव्यक्ति मेरो मनमा आउन थाल्यो । यस्तो लाग्यो कि उ मेरै स्कुटिमा चढेकि छ, मेरै स्थानमा बसेर रजाई गरेकी छ ।
त्यो मात्र सम्झने कुरा थियो, मैले उठाउन नसकेको मौकाको फाईदा उसले उठाएकि थिइ । अनि त्यो सबै कुरामा मात्र उसको हक थियो । म रन्जुको आरिस गर्न छाडिसकेकि थिएँ । एकदिन मनिषाले अब होटलमा नगाउने भनेर सबैसँग विदा माग्न आइ । कारण, उसले आफ्नो गित रेकर्डिङ् गराएकि थिइ र राम्रै रुचाइएको पनि थियो उसको गित । केही अरु गित पनि बजारमा आउने वाला थिए । यो पनि मनिषाले मौकाको फाईदा उठाएकै नतिजा थियो । दिन त उसले गुलियो लड्डु दिएकि थिइ तर मेरो मुख भने लप्सी खाएजस्तो अमिलो भयो, दाँत कुडिन थाल्यो ।
नाम त मेरो यसै पनि खराब छ, चाहे म खराब काम गरुँ या नगरुँ । मैले सोचेँ, अहिले सम्म कसैलाई आफ्नो शरीर छुन नदिए पनि बेश्याको उपमा त पाएकै छु, अरु साथिहरु जो कसैको प्रवाह गर्दैनन् उनीहरुलाई जुन नजरले हेरिन्छ, मलाई पनि उही नजरले हेरिएको छ । अनि फाइदा के भयो यसरी खुम्चिएर बाँच्नुको ?
मलाई कत्ति लागेन कि म हतारमा निर्णय गर्दैछु, म जे गर्दैछु गलत गर्दैछु । मैले कत्ति सोचिन कि यही निर्णय भविष्यमा मेरा लागि सबैभन्दा पश्चातापको विषय बन्नेछ । अनि सोचिन सपनाकै लागि यो हद नाग्नु उचित होइन । केही समय अघिसम्म अरुको नजरबाट कसरी बच्ने भनेर सोच्ने म अब भिआइपी ग्राहकको आँखा कसरी आफूतिर खिच्ने भन्नेबारे सोच्न थालेँ । त्यसको लागि सबैभन्दा महत्वपूर्ण विषय बाहिरी आवरण थियो । मेरो कपाल अब अलि खुकुलो हुन थाल्यो, चोलो थोरै माथि र गुन्यो थोरै तल खस्कियो । नजर लुकाएर हिँड्ने म कुम ठोक्काउँदै हिँड्न थालेँ । लाजले निहुरीने मेरो शिर अब सहर्स निमन्त्रणाको इसारा गर्न थाल्यो । डर त्रास कसैको पनि लाग्न छाड्यो । मेरो स्वभावमा आएको परिवर्तनको केही दिन मै म रन्जु, अनिसा, कुसुमको स्तरमा पुगेँ । कतिले त रिस पनि गरे होलान मेरो प्रगति देखेर , जसरी म गर्ने गर्थेँ । म सिमित मान्छेहरुसँग मात्रै नजिकिन्थेँ । सबैभन्दा पहिले म उसले कस्तो कपडा लगाएको छ, हातमा कुन कम्पनीको घडी छ, जुत्ता चस्मा कत्तिका महँगा छन् भनेर हर्थेँ अनि उसको बटुवाको मोटाई अनुमान लगाउथेँ ।
आज मसँग सबैकुरा छ । जो सामान्य मान्छेको सपना हुन्छ । आफ्नै घर गाडी र केही ब्यांकब्यालेन्स पनि । महँगो रक्सि पिउँछु, अनि ब्राण्डेड चुरोट । बजारमा केही मान्छेले चिन्छन् पनि गायिका भनेर । यसो हेर्दा केही हदसम्म मेरा सपना पुरा भएको मान्नुपर्छ । यहाँसम्म आउन मैले धरैसँग मौकाको फाइदा उठाएँ, धेरैको बिछौना भैदिएँ तर अब के ? सम्पत्ति हुनु मात्र सुखी हुनु हो ? जब कोही साथि छैन भने सम्पत्तिको के अर्थ । प्रस्ताव न आएका हाइनन् विहेको तर मेरो नजरमा हरेक मान्छे उही मौकाको फाइदा उठाउने वाला जस्तै लाग्छन् । भ्रममा म थिएँ, फाइदा मैले उठाइरहेछु जस्तो लाग्थ्यो तर वास्तवमा मौकाको फाइदा त उनीहरुले पो उठाइरहेका रहेछन् ।
जिन्दगीको यो मोडसम्म आइपुग्दा मसँगै रहेको एउटै कुरा भनेको ईस्र्या हो । हिजसम्म म भौतिक रुपले सम्पन्न मानिसहरुको आरिस गर्थेँ । आज मसँग भौतिक सुखका साधन सबै छन् तर पनि यो मन खुसी छैन । पश्चातापको ठूलो काँडाले कतै घोचिरहन्छ । आजकल उनीहरु देखि ईस्र्या लाग्छ जो पैदल हिँड्छन्, डेरामा बस्छन् र जसले मौकाको फाइदा उठाएनन् ।
(मुक्ति)
प्रतिक्रिया