समयमै पुल नबन्दा जाजरकोटका जनतालाई सास्ती !

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण १६, २०७५
|
|
३६ पटक हेरिएको
Shares
समयमै पुल नबन्दा जाजरकोटका जनतालाई सास्ती !

सारांश

  • जाजरकोट , १६।
  • छिञ्चु–जाजरकोट सडकखण्डका दर्जन पुल सडक विभागको लापर्वाहीका कारण अलपत्र परेका छन् ।
  • यातायात सञ्चालन भएको १० वर्ष र कालोपत्रे भएको पनि पाँच वर्ष बितिसकेको छ  ।

जाजरकोट , १६। छिञ्चु–जाजरकोट सडकखण्डका दर्जन पुल सडक विभागको लापर्वाहीका कारण अलपत्र परेका छन् । यातायात सञ्चालन भएको १० वर्ष र कालोपत्रे भएको पनि पाँच वर्ष बितिसकेको छ  । सडक विभागको लापर्वाहीका कारण उक्त सडकखण्डअन्तर्गत पासागाड खोलामा पुल निर्माण पाँच वर्षदेखि अलपत्र छ । छिञ्चु–जाजरकोट सडकखण्डअन्तर्गत पासागाड खोलामा पुल नबन्दा बर्खा र बाढीमा यातायात अवरुद्ध हुँदा जाजरकोट, डोल्पा र जुम्लाका यात्रुलाई सास्ती हुने गरेको छ ।
सडक विभागको चरम लापर्वाहीले खलंगादेखि ६ किमीको दूरीमा रहेको भेरी नगरपालिका–४ स्थित पासागाड खोलामा पुलःनिर्माण हुन नसकेको हो । उक्त खोलामा पुलःनिर्माणको सुरसारसमेत भएको छैन । विभागको गलत डिजाइनका कारण पुल निर्माण अलपत्र परेको बताइएको छ ।

सडक विभाग र आइएमई आरसी कन्सल्टेन्सी ललितपुरको चरम लापर्वाहीका कारण पुल निर्माण अलपत्र परेको हो  । पुल निर्माणमा ढिलाइ हुँदा वर्षायाममा खोलाका कारण सवारी साधनलाई आवतजावतमा कठिनाइ हुनाका साथै दैनिक उपभोग्य वस्तु आपूर्तिमा पटक पटक अवरोध आएको नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाहले बताए । “सडक कालोपत्रे भएकै पाँच वर्ष बित्यो तर पुल निर्माण शुरु भएन”, उहाँले भन्नुभयो । पुल नबन्दा बाढी आएका बेला रातभर सवारीसाधन खोला किनारमा राखेर बस्नुपर्ने बाध्यता भएको चालक भीम बुढाले बताए । जबर्जस्ती खोलामा हाल्दा पटक पटक गाडी फस्ने र बिग्रने गरेको छ । परामर्शदाताले हचुवामा गरेको डिजाइनका कारण पुल निर्माण हुन नसकेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख आशिष थापा मगरले बताए । पुनः डिजाइन गरेर आवश्यक प्रक्रिया अघि बढाइएको बताइएको छ ।

पुलःनिर्माणका लागि पाँच वर्षअघि विभागको सूचनाबमोजिम रु तीन करोड लागतमा लुम्बिनी–आशिष जेभी निर्माण सेवा काठमाडौँको बोलपत्र स्वीकृत भएको तर निर्माणस्थल र डिजाइनको तालमेल नमिल्दा पुल निर्माण अवरुद्ध भएको मगरले बताए । परामर्श कम्पनीले रु सात लाखको लागतमा पुलको डिजाइन गरेको थियो  । “पुलको डिजाइन एक छ, निर्माणस्थलको लोकेशन अर्कै छ । कसरी निर्माण शुरु गर्ने ?”,  उनले भने , “परामर्शदाताले ४६ मिटर लम्बाइको पुल डिजाइन गरेको छ तर पासागाड खोलामा सर्भे गर्दा निर्माणस्थलको २५ मिटरभन्दा लम्बाइ बढ्दैन ।”

कम लागतमा निर्माण हुने पुलका लागि पनि किन थप बजेट खेर फाल्ने’, थापाको भनाइ छ । तीन वर्षअघि निर्माण कम्पनीलाई स्थान देखाउने क्रममा गलत डिजाइनको खुलासा भएको उनले बताए। सडक डिभिजनले पुल निर्माणका लागि रु तीन करोड भुक्तानी नगर्ने भएपछि निर्माण कम्पनीले काम शुरु नगरेको उनी बताउँछन् । सडक विभागले ठेक्का सम्झौतानुरूप भुक्तानी दिने भए तत्काल कार्य शुरु गर्ने निर्माण कम्पनीले जनाएको छ । परामर्शदाताले पुलको सर्भे स्थलगत नगरेरै काल्पनिक डिजाइन बनाएको देखिन्छ । सडक विभागले पुलको हचुवा डिजाइन गर्ने परामर्श कम्पनीलाई कारवाही प्रक्रिया अघि बढाएको प्रमुख मगरले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?