साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स खेल्दै !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक ८, २०७५
|
|
३५ पटक हेरिएको
Shares
साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स खेल्दै !

सारांश

  • काठमाडौँ, ८ कात्तिक ।
  • साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ ।
  • अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा शुरु हुने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स र बङ्गलादेशले सहभागिता जनाउँदैछन् ।

काठमाडौँ, ८ कात्तिक । साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा शुरु हुने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स र बङ्गलादेशले सहभागिता जनाउँदैछन् । प्रतियोगिताका सबै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् । नेपाल र माल्दिभ्सबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ । नेपाली टोलीका प्रशिक्षक सनोज श्रेष्ठले नेपालले घरेलु मैदानमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने बताए ।

“तयारी राम्रै भइरहेको छ, एन्फा एकेडेमीका खेलाडी र खुल्ला छनोटबाट आएको खेलाडी राम्रो लयमा छन् । यस पटक हाम्रो टोली साफ च्याम्पियनको उपाधिका लागि खेल्छ”, प्रशिक्षक श्रेष्ठले भने । आजै हुने पहिलो खेलमा सोही मैदानमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको समूह ‘ए’मा नेपाल, बङ्गलादेश र माल्दिभ्स तथा समूह ‘बी’मा भारत, भुटान र पाकिस्तान छन् । श्रीलङ्काले प्रतियोगितामा सहभागी छैन । प्रतियोगिता कात्तिक १७ गतेसम्म चल्नेछ । प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल बङ्गलादेशसँग शनिबार खेल्नेछ ।

नेपाली टोलीमा गोलकिपर रोशन नेपाल, रोहन मगर, विनय श्रेष्ठ, डिफेन्डरमा जान लिम्बू, निवास फुयाल, प्रमेश गुरुङ, रोशन थापा, श्रीजन दानी, रोजित परियार, सुशील अधिकारी, मिडफिल्डरमा प्रदीप लम्साल, मनाग्य नकर्मी, दिपेश गुरुङ, प्रवीन मगर, राकेश विक, शशांक बोहरा, निराजन मल्ल, धीरज बलायर र स्ट्राइकरमा नमास थापा, सोनम गुरुङ, रोहित शुब्बा, दिपेश राई तथा मुख्य प्रशिक्षकमा सनोज श्रेष्ठ छन् ।

सन् २०१३ बाट आयोजना हुँदै आएको प्रतियोगितामा नेपाली टोली अहिलेसम्म उपविजेतामै सीमित हुँदै आएको छ । सन् २०१७ मा नेपालमै भएको प्रतियोगितामा नेपाल उपविजेतामा सीमित बनेको थियो । प्रतियोगिताको चारै संस्करण खेलेको नेपाल दुई पटक फाइनलमा हारेको थियो । यसअघि भएका तीन संस्करणमध्ये भारतले सन् २०१३ र १७ तथा बङ्गलादेशले सन् २०१५ मा उपाधि जितेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?