साहित्यकार नकःमिको इच्छा मृत्युपछि पूरा

Abhiyanpost Abhiyanpost
|
बुधबार, फाल्गुन ३०, २०७४
|
|
५६ पटक हेरिएको
Shares
साहित्यकार नकःमिको इच्छा मृत्युपछि पूरा

सारांश

  • भक्तपुर, ३० फागुन, नेपाल भाषाका वरिष्ठ साहित्यकार एवं नाट्यकर्मी स्व रामशेखर नकःमिको इच्छा मृत्युपछि पूरा भएको छ ।
  • नेपाल भाषाको साहित्य रचना, नाटक लेखन, निर्देशन तथा विभिन्न टेलिचलचित्रमा अभिनय गर्नुभएका स्व नकःमिले नेपाल भाषामा लेख्नुभएका आफ्ना कृति नेपाली भाषामा अनुवाद गरेर धेरैले पढुन् भन्ने राख्नुभएको चाहना र इच्छा मृत्यु भएको वर्षदिन पछि मात्र पूरा भएको हो ।
  • हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले समेत हाम्रा गुरु भन्ने साहित्यकार एवं कलाकार नकःमिको भक्तपुरस्थित घर भूकम्पले भत्किएपछि निकै समस्यामा पर्दै आएको बेला क्यान्सर रोगले समेत ग्रस्त बनाएपछि गत वर्ष फागुन १६ गते उहाँको निधन भएको थियो ।

भक्तपुर, ३० फागुन, नेपाल भाषाका वरिष्ठ साहित्यकार एवं नाट्यकर्मी स्व रामशेखर नकःमिको इच्छा मृत्युपछि पूरा भएको छ ।

नेपाल भाषाको साहित्य रचना, नाटक लेखन, निर्देशन तथा विभिन्न टेलिचलचित्रमा अभिनय गर्नुभएका स्व नकःमिले नेपाल भाषामा लेख्नुभएका आफ्ना कृति नेपाली भाषामा अनुवाद गरेर धेरैले पढुन् भन्ने राख्नुभएको चाहना र इच्छा मृत्यु भएको वर्षदिन पछि मात्र पूरा भएको हो ।

हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले समेत हाम्रा गुरु भन्ने साहित्यकार एवं कलाकार नकःमिको भक्तपुरस्थित घर भूकम्पले भत्किएपछि निकै समस्यामा पर्दै आएको बेला क्यान्सर रोगले समेत ग्रस्त बनाएपछि गत वर्ष फागुन १६ गते उहाँको निधन भएको थियो ।

आफू बाँचुञ्जेलसम्म आफूले लेखेको नेपाल भाषाको कृति अनुवाद गर्न नसके पनि अहिले भने उहाँको उपचारमा सहयोग जुटाउन गठन भएको रामशेखर ग्वाहालि पुचःले रामशेखरको चर्चित कथासंग्रह ‘सिमात फफ स्वः’ अर्थात ‘बिच्किएका रुखहरु’ नेपाल र नेपाली दुवै भाषामा संग्रहित गरी प्रकाशित गरेर बजारमा ल्याएको हो ।

कृतिमा ‘अगति’, ‘छगू देसय्….(एकादेशमा)’, ‘स्वर्ग व नरक (स्वर्ग र नरक)’, ‘बाखं (कथा)’, ‘न्हुछे अरा (न्हुछे दाजु)’, ‘पासापिं (साथीहरु)’, ‘भैलः खः (भैरव रथ)’, ‘सिमात फफ स्वः (विच्किएका रुखहरु)’ गरी आठवटा कथाहरु समावेश गरिएका छन् । नेपाल भाषाको यी कथाको साहित्यकार चिरत्न शाक्य, गोविन्दमान श्रेष्ठ, धु्रव मधिकर्मी, महेन्द्रगोपाल कर्माचार्य, ओमचरण अमात्य, अगिब नेपाली, केवलप्रसाद कायस्थ र कृष्ण प्रजापतिले अनुवाद गर्नुभएको छ ।

कृतिका बारेमा नेपाल भाषा एकेडेमीका कुलपति चित्तरञ्जन नेपालीले कथा निकै मार्मिक र जीवन्त भएको बताउँदै उहाँले यो कथा संग्रहले उहाँको चाहनालाई पूरा गरिदिएको प्रतिक्रिया दिनुभयो ।

साहित्यकार मल्ल के सुन्दरले समाजमा रहेका जीवन्त पात्रको उपस्थितिले कथालाई मार्मिक र यथार्थपरक बनाइदिएको टिप्पणी गर्नुभयो । अर्का साहित्यकार नरेन्द्र जोशीले साहित्यको क्षेत्रमा ठूलो योगदान दिने रामशेखरलाई राज्यले बेवास्ता गरेको गुनासो गर्नुभयो ।

कृति प्रकाशक पुचः का संयोजक नरेन्द्रभक्त हाडाले राम शेखरका अन्य साहित्य कृतिको प्रकाशन र नाटकको मञ्चन गर्ने गरी पुचःअगाडि बढेको बताउनुभयो ।

उहाँले पञ्चायतको समयमा पनि राजा विरुद्ध कथा र गीतहरु लेखेर जनताको माझ पुग्ने रामशेखरको योगदानको भक्तपुरका स्रष्टाले विर्सन नहुने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?