सुनसरीमा कसले मार्ला बाजी?

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक २९, २०७४
|
|
३६ पटक हेरिएको
Shares
सुनसरीमा कसले मार्ला बाजी?

सारांश

  • धरान: दोस्रो संविधानसभा निर्वाचनमा सुनसरीका तीन निर्वाचन क्षेत्र जितेर जिल्लामा पहिलो पार्टी बनेको एमालेलाई यसपटक त्यो साख जोगाउन कठिन देखिएको छ।
  • मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुनसरीमा प्रतिनिधिसभातर्फ कांग्रेस र प्रदेशसभातर्फ वाम गठबन्धन बलियो देखिएका छन्।
  • चार निर्वाचन क्षेत्रमध्ये १ मा वाम गठबन्धन र २, ३ र ४ मा कांग्रेस उम्मेदवार मजबुत देखिन्छन् ।

धरान: दोस्रो संविधानसभा निर्वाचनमा सुनसरीका तीन निर्वाचन क्षेत्र जितेर जिल्लामा पहिलो पार्टी बनेको एमालेलाई यसपटक त्यो साख जोगाउन कठिन देखिएको छ। मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुनसरीमा प्रतिनिधिसभातर्फ कांग्रेस र प्रदेशसभातर्फ वाम गठबन्धन बलियो देखिएका छन्।

चार निर्वाचन क्षेत्रमध्ये १ मा वाम गठबन्धन र २, ३ र ४ मा कांग्रेस उम्मेदवार मजबुत देखिन्छन् । स्थानीय निर्वाचनको नतिजा र चुनावी तालमेलका आधारमा कांग्रेसका उम्मेदवार प्रतिनिधिसभातर्फ र वाम गठबन्धनका उम्मेदवार प्रदेशसभातर्फ बलिया देखिएका हुन्। प्रतिनिधिसभातर्फ वाम गठबन्धनले कमजोर उम्मेदवार उठाएका कारण कांग्रेसका ‘हेभिवेट’ हाबी हुने देखिएको विश्लेषक राजेन्द्र शर्माको ठम्याइ छ । उनका अनुसार विजयकुमार गच्छदार कांग्रेस प्रवेश गरेसँगै सुनसरीमा वाम गठबन्धनको अवस्था कमजोर बनेको हो।

क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट एमालेका जयकुमार राई र लोकतान्त्रिक गठबन्धनबाट संघीय समाजवादी फोरमका अशोककुमार राई मुख्य प्रतिस्पर्धामा छन्। जयकुमार स्थानीयमाझ परिचित मात्र होइन, यो क्षेत्रमा एमालेको बलियो संगठन हुँदा अशोकलाई निर्वाचन जित्न सहज देखिँदैन।

स्थानीयको नजरमा नपरेका अशोकको पार्टीगत संगठन कमजोर हुनुका साथै उनलाई समर्थन गरेको कांग्रेसको पनि त्यति प्रभाव छैन। यही क्षेत्रको प्रदेशसभातर्फ (१) मा एमालेका प्रदीप भण्डारी र कांग्रेसका किशोर राईबीच मुख्य प्रतिस्पर्धा हुनेछ। दुवै नेता मतदाताबीच उत्तिकै परिचित छन्। मतको हिसाबले कांग्रेस कमजोर छ। स्थानीय निर्वाचनमा यही क्षेत्रमा पर्ने धरानका १५ वडामध्ये एमालेले १० र कांग्रेसले पाँचवटा वडामा विजयी हासिल गरेका थिए।

प्रदेशसभातर्फ (२) मा एमालेका भीम आचार्य र कांग्रेसका बुद्धि कटवालबीच मुख्य प्रतिस्पर्धा हुनेछ। यस क्षेत्रमा पनि एमाले नै बलियो देखिएको छ।

क्षेत्र नम्बर २ मा एमालेलाई साख जोगाउन यसपटक सहज देखिँदैन। यो क्षेत्रमा कांग्रेसका सीताराम मेहता र माओवादी केन्द्रका डम्बर सुवेदीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ गठबन्धनको मत राम्रै भए पनि दक्षिणतर्फ मधेसी समुदायको भोट मेहतालाई बढी आउने देखिन्छ । प्रदेशसभातर्फ (१) मा एमालेका सर्वध्वज साँवा र कांग्रेसका हेमकर्ण पौडेल मुख्य प्रतिस्पर्धीका रूपमा छन् । साँवा इटहरीका पूर्वमेयर हुन् भने पौडेल फौजदारी अभियोगमा तानिएका नेता । जिल्ला अदालत र उच्च अदालतबाट अपहरण काण्डमा दोषी ठहर भएपछि पौडेलले सर्वोच्च अदालतमा हालेको रिट विचाराधीन छ ।

प्रदेशसभातर्फ (२) मा कांग्रेसका जिल्ला सभापति राजीव कोइराला र एमालेका रामप्रसाद मेहताबीच प्रतिस्पर्धा हुनेछ । कांग्रेसका पूर्वजिल्ला उपसभापति मेहतालाई पार्टी प्रवेश गरेको भोलिपल्ट नै टिकट दिएपछि एमालेका पुराना नेता÷कार्यकर्ता असन्तुष्ट छन् । यो क्षेत्रमा कांग्रेसको संगठनसमेत बलियो छ ।
क्षेत्र नम्बर ३ मा दोस्रो संविधानसभा निर्वाचनमा तीन सय ६२ मतले पराजित एमालेकी भगवती चौधरी र उपप्रधानमन्त्री तथा कांग्रेस नेता विजयकुमार गच्छदारबीचको चुनावी प्रतिस्पर्धा भने कडा देखिएको छ । यो क्षेत्रमा लोकतान्त्रिक फोरमबाट अघिल्लो चुनावमा चौधरीलाई पराजित गरेका गच्छदार कांग्रेसमा फर्किएपछि एमालेको मत भने कम देखिएको छ ।

प्रदेशसभातर्फ (१) मा एमालेका नीलम खनाल र कांग्रेसका कुमार थापाबीच प्रतिस्पर्धा हुनेछ । स्थानीय निर्वाचनमा यो क्षेत्रमा कांग्रेसभन्दा एमालेको पक्षमा बढी मत खसेको थियो । प्रदेशसभातर्फ (२) मा कांग्रेसका अगमलाल चौधरी र एमालेका रामदेव यादवबीच प्रतिस्पर्धा हुनेछ । यहाँ एमालेभन्दा कांग्रेसको अवस्था मजबुत देखिएको छ ।

क्षेत्र नम्बर ४ मा अर्थमन्त्रीसमेत रहेका कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका रमेश श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुनेछ । यो क्षेत्रका स्थानीय तहमा कांग्रेस र संघीय समाजवादीले निर्वाचन जितेका थिए । कार्कीलाई संघीय समाजवादीको समर्थन छ । राप्रपाबाट आएका श्रेष्ठलाई टिकट दिएपछि एमाले कार्यकर्तामा असन्तुष्टिसमेत देखिएको छ । यही क्षेत्रको प्रदेशसभातर्फ (१) मा एमालेका जगदीश कुसियत र कांग्रेसका रेवती दुलालबीच प्रतिस्पर्धा हुने देखिन्छ । यो क्षेत्रमा मधेसी समुदायको बाहुल्य छ । उनीहरूको भोट निर्णायक हुने देखिन्छ । प्रदेशसभातर्फ (२) मा भने कांग्रेसका ताहिर अन्सारी, वाम गठबन्धनका जाकिर हुसेन र संघीय समाजवादीका मनोज यादवबीच त्रिपक्षीय प्रतिस्पर्धा हुनेछ । यो क्षेत्रमा मुस्लिम मतदाताको बाहुल्य छ । मुस्लिमको भोट कांग्रेस र एमालेका उम्मेदवारलाई बाँडिने अवस्था छ ।

कांग्रेसका जिल्ला सभापति कोइरालाले यसपटक सुनसरीमा प्रतिनिधिसभातर्फ तीन र बहुमत प्रदेशसभा सदस्यमा निर्वाचन जित्ने दाबी गरेका छन् । यसपटक कांग्रेसले सहज रूपमा ‘लालकिल्ला’ भत्काउने उनको भनाइ छ । एमालेका जिल्ला अध्यक्ष रमेश बस्नेतले भने सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा विजयी हासिल गरी लालकिल्ला कायम राख्ने दाबी गरे ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Mohan Sah

    अशोक राई।

    Comment Author

    Bikash Rai

    Rai is king

    Comment Author

    Adhikariko Chhoro Tulsi Ram

    1

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसकारण गोरखा–१ मा चीनकाजीभन्दा हरि अधिकारी निकै ‘दर्बिलो’
यसकारण गोरखा–१ मा चीनकाजीभन्दा हरि अधिकारी निकै ‘दर्बिलो’
सोमबार काठमाडौँ उपत्यकामा २२४ जनामा कोरोना संक्रमण पुष्टि
सोमबार काठमाडौँ उपत्यकामा २२४ जनामा कोरोना संक्रमण पुष्टि
परराष्ट्रमन्त्री साउदद्वारा लिङ्गेश्वर धामको अवलोकन
परराष्ट्रमन्त्री साउदद्वारा लिङ्गेश्वर धामको अवलोकन
मुख्यमन्त्री जनता स्वास्थ्यपरीक्षण कार्यक्रम शुरु
मुख्यमन्त्री जनता स्वास्थ्यपरीक्षण कार्यक्रम शुरु
नेपाली क्रिकेट खेलाडीलाई एमाले अध्यक्ष ओलीको बधाई
नेपाली क्रिकेट खेलाडीलाई एमाले अध्यक्ष ओलीको बधाई
ओलीको अस्त्रः प्रचण्ड र माधवलाई लडाउने, महाधिवेशनमा फेरि अध्यक्ष बन्ने
ओलीको अस्त्रः प्रचण्ड र माधवलाई लडाउने, महाधिवेशनमा फेरि अध्यक्ष बन्ने
पप गायक राजेश राइको सुमधुर स्वरमा “आइतबार” सार्वजनिक (भिडियो सहित)
पप गायक राजेश राइको सुमधुर स्वरमा “आइतबार” सार्वजनिक (भिडियो सहित)
लमजुङमा कृषि विकास बैंकले काट्यो भूकम्प पीडितको अनुदान
लमजुङमा कृषि विकास बैंकले काट्यो भूकम्प पीडितको अनुदान
एकपछि अर्को विधेयक विवादमा परेपछि सरोकारवालासँग छलफल गरेरमात्र विधेयक अगाडि बढाउन सुझाव
एकपछि अर्को विधेयक विवादमा परेपछि सरोकारवालासँग छलफल गरेरमात्र विधेयक अगाडि बढाउन सुझाव
कांग्रेसको संगठन बिस्तारमा लागे पुनर्निर्माणका सिइओ-एमाले 
कांग्रेसको संगठन बिस्तारमा लागे पुनर्निर्माणका सिइओ-एमाले 

तपाईंले छुटाउनुभयो कि?