हराउँदै यानीमाया…

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन ६, २०७४
|
|
४७ पटक हेरिएको
Shares
हराउँदै यानीमाया…

सारांश

  • सन्तोष गौतम म्याग्दी, ६ फागुन ।
  •   केटा : “हा हा हा बग्दै र आयो यानीमाया काली र म्याग्दी उँदै सलल…” केटी : “वर्ष दिनमा हो यानीमाया भेटैर भयो सम्झेँ मायालाई झलल…” कुनै समय गाउँघरमा घन्किने यस्तो भाकाको यानीमाया गीत सुनिन छाडेको छ ।
  • गाउँबस्तीमा सुखःदुख बिसाउने माध्यम बनेको यानीमाया भाका पुस्ता हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको हो ।

सन्तोष गौतम

म्याग्दी, ६ फागुन ।  केटा : “हा हा हा बग्दै र आयो यानीमाया काली र म्याग्दी उँदै सलल…”
केटी : “वर्ष दिनमा हो यानीमाया भेटैर भयो सम्झेँ मायालाई झलल…” कुनै समय गाउँघरमा घन्किने यस्तो भाकाको यानीमाया गीत सुनिन छाडेको छ । गाउँबस्तीमा सुखःदुख बिसाउने माध्यम बनेको यानीमाया भाका पुस्ता हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको हो ।

यानीमाया म्याग्दी, पर्वत र बागलुङको मौलिक लोकभाकाको गीत मानिन्छ । यानीमायाको मौलिक व्याकरणका बारेमा नयाँ पुस्तालाई जानकारी नहुँदा लोप हुने अवस्थामा पुगेको लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष कृष्ण जिसीले बताए । दोहोरी शैलीमा केटा र केटीले गाउने यानीमायाको व्याकरण अत्यन्तै महत्वपूर्ण, खतरा र रोचक भएको जिसीको भनाइ छ । “यानीमायालाई नबुझेर धेरैले ‘लतरे’ भाका भन्छन् र चासो दिएका छैनन्”, उनले भने, “केटाले आधा गाएको टुक्काको भाव र अर्थ बुझी अनुप्रास मिलाएर केटीले पूर्णता दिनु यानीमायाको प्रमुख विशेषता हो ।”

राग र तालको भाव बुझेर टुक्कालाई पूर्णता दिनुपर्ने भएकाले यानीमाया गाउन कठिन मानिन्छ । अघिल्लो पुस्तासम्म म्याग्दीमा मेला, महोत्सव, छेवार, किरिया र व्रतबन्धका समयमा यानीमाया गाउने चलन थियो । अर्म, पर्म लाग्दा, घाँस दाउरा गर्दा, मेलापात जाँदा र लामो दूरीको यात्रा गर्दा मनोरञ्जनको माध्यम यानीमाया नै थियो ।

आधुनिक सञ्चारमाध्यमको विकास, पुराना पुस्ताका कलाकारको निधन र नयाँ पुस्ताले नसिकेका कारण यानीमाया हराउँदै गएको म्याग्दीका अग्रज कलाकार धनकुमारी थापाले बताए । उनका अनुसार विशेष गरेर युवाहरु विभिन्न अवसरमा भेट हुँदा यानीमायाको भाकामा हालखबर, सञ्चोबिसन्चो सोध्ने र दिनचर्याको व्याख्या गर्ने गर्दथे । “लगातार दुई दिनसम्म यानीमाया गाएका थियौं”, थापाले भने, “अहिले गाउने मान्छे पनि छैनन्, भाका पनि हराउँदै गएको छ ।”

“उर्ली आयो यानीमाया बर्खे भेल : केटा
आम्दै आयो छाल हहहहह यानीमाया
दुःख पिर बढ्दै आयो यानीमाया, आएन मेरो काल ।
मेरो लागि किन आयो अहिलेको साल ?: केटी
साथीभाइ त हाँस्छन् खेल्छन् यानीमाया म वैरागी चाल” थापाले डम्मर पूर्जासँग गाउनुभएको यानीमायाको एउटा टुक्का सुनाउनुभयो । केटाले छाडेको टुक्काको भाव बुझेर केटीले लय मिलाई अन्त्य गरेपछि केटा ‘आहैहै’ भनेर लामो स्वर निकाली चिच्याउँछन् ।

यानीमाया गीत गाउन एक एक केटा र केटी मुख्य कलाकार भए पनि उनीहरुलाई साथ दिने पाँच अरु सहयोगी हुन्छन् । प्रत्येक टुक्का सकिएपछि लामो स्वर निकालेर लयबद्ध रुपमा ‘यानीमाया…’ भनिन्छ । पञ्चैबाजा र मादल यानीमाया गाउँदा प्रयोग हुने वाद्यवादन हुन् ।

नेपाल मगर संघ म्याग्दीका सचिव लोकेश पुन मगर मौलिक लोकभाका भएकाले यानीमायाको अध्ययन, अनुसन्धान र संरक्षणमा अब स्थानीय तहले प्राथमिकता दिनुपर्ने बताउँछन् । यानीमाया म्याग्दीको लोक सांस्कृतिक पहिचान भएकाले यसको संरक्षण गरी पर्यटन विकासमा उपयोग गर्न सकिने सचिव पुनको धारणा छ ।

नयाँ पुस्ताका कलाकारलाई यानीमायाका बारेमा तालीम र प्रशिक्षण दिएर संरक्षणमा अग्रसर बनाउन सकेमा घरबासमा यानीमाया गाएर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न सकिने उनको विचार छ । हालै बेनीमा भएको म्याग्दी महोत्सवमा नेपाल मगर संघका तर्फबाट यानीमाया गीत प्रस्तुत गरिएको थियो ।

यानीमाया गाउने कलाकार जुटाउनै गाह्रो भएको सचिव पुनले अनुभव सुनाए । यानीमाया सबै समुदायमा गाइने भाका हो । धनकुमारी थापा, डम्मर पुर्जा, खड्ग गर्बुजा, मनकुमारी छन्त्याललगायत अग्रज कलाकारले यानीमाया गीतको एल्बमसमेत तयार पारेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एआईजीमा बढुवा नगरी डिआईजीलाई किन सरुवा !
एआईजीमा बढुवा नगरी डिआईजीलाई किन सरुवा !
रंगीचंगी बन्यो संसद, आ-आफ्नो पोशाकमा सपथ खाए सांसदले
रंगीचंगी बन्यो संसद, आ-आफ्नो पोशाकमा सपथ खाए सांसदले
पुरुष बन्नका लागि तीन वर्षको तालिम लिएँ: करण जोहर
पुरुष बन्नका लागि तीन वर्षको तालिम लिएँ: करण जोहर
१६ दिने अभियान शहर केन्द्रित भए’
१६ दिने अभियान शहर केन्द्रित भए’
प्रकृतिविरुद्ध सुरक्षाको पूर्वतयारी: शक्तिशाली टाइफुन ‘नाउल’ चीनमा ठोक्किएपछि सात लाख नागरिक सुरक्षित स्थानमा सारिए, हवाई र रेल सेवा ठप्प
प्रकृतिविरुद्ध सुरक्षाको पूर्वतयारी: शक्तिशाली टाइफुन ‘नाउल’ चीनमा ठोक्किएपछि सात लाख नागरिक सुरक्षित स्थानमा सारिए, हवाई र रेल सेवा ठप्प
प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारी तीव्र, भारत कहिले ?
प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारी तीव्र, भारत कहिले ?
गरिमा चौधरी हत्या प्रकरणमा सरकार–पीडित परिवारबीच तीनबुँदे सहमति
गरिमा चौधरी हत्या प्रकरणमा सरकार–पीडित परिवारबीच तीनबुँदे सहमति
लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा
लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा
ऋषि तर्पणी, जनैपूर्णिमा, रक्षाबन्धन
साइकलमा २० मुलुकको भ्रमण, नेपाल सुरक्षित रहेको संदेश
साइकलमा २० मुलुकको भ्रमण, नेपाल सुरक्षित रहेको संदेश

तपाईंले छुटाउनुभयो कि?