हैन म जान्नँ, बरु यतै मागेर खान्छु’
सारांश
- काठमाडौँ ।
- “हैन म जान्नँ, म यही बस्छु, बरु यतै मागेर खान्छु, मलाई यही तातो छ”, जाडोको मौसममा भद्रकाली मन्दिरको चिसो सिँडीमा सुतिरहेकी एक महिलाले धाराप्रवाह रुपमा भनिन्।
- नक्साल महादेवस्थान नजिकै सानो गल्लीमा सिरक बेरेर बसिरहेको अवस्थामा उनी भेटिइन्।
काठमाडौँ । “हैन म जान्नँ, म यही बस्छु, बरु यतै मागेर खान्छु, मलाई यही तातो छ”, जाडोको मौसममा भद्रकाली मन्दिरको चिसो सिँडीमा सुतिरहेकी एक महिलाले धाराप्रवाह रुपमा भनिन्।
नक्साल महादेवस्थान नजिकै सानो गल्लीमा सिरक बेरेर बसिरहेको अवस्थामा उनी भेटिइन्। पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले जाउँ हाम्रो घर भन्दा उनले मानिनन्। “म जान्नँ, मेरो आफ्नै घर छ, भोलि बिहान जान्छु,” ती महिलाले भनिन्। उनले नटेरेपछि महिला प्रहरीले उनलाई जबर्जस्ती उठाएर लगे।
काठमाडौँको सङ्कटामा भेटिएकी अर्की महिलाले पनि सडकमै राम्रो भएको र यही मागेर खाने बताए। महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले ‘मन नलागे भोलि आउनुहोला, आजचाहिँ जाउँ है’ भनेपछि अर्को दिन फर्कने शर्तमा उहाँ गाडीमा बसिन्।
म्याग्दी बेनीका सुवास सापकोटा मङ्गलबार राति सडकमा भेटिए। प्रहरीले फेला पारेर उद्धार गरिएका सापकोटा फाटेको लुगामा थिए। काम खोज्दा कसैले नदिएपछि सडकमा बस्न बाध्य भएको उनले दुखेसो पोखे। यी विभिन्न उदाहरण हुन्। यसरी सडक, तथा मन्दिरका पेटीमा सुत्नेको सङ्ख्या काठमाडौँमा अत्यधिक छ। सडकमा यसरी रात बिताउँदै आएकाहरु सहजरूपमा सडक छाडेर जानै मान्दैनन्।
चिसोका कारण काठमाडौँमा दुई जनाको अकालमा ज्यान गइसकेको छ। महानगरीय प्रहरी परिसरका अनुसार चिसोका कारण उनीहरुको स्वास्थ्य जोखिममा पर्ने भएकाले पनि सबै क्षेत्रका प्रहरीलाई असक्तहरुको अवस्थामा ध्यान दिन भनिएको छ।
सडकमा बस्नेहरु सहजै जान नमान्ने भएकाले उनीहरुलाई जबर्जस्ती उठाउनुपर्ने अवस्था रहेको मानवसेवा आश्रम प्रदेश नं ३ का संयोजक सुमन बर्तौला बताउछन्।
कतिपय अवस्थामा आश्रममा स्वयंसेवीले उठाउनै नसक्दा सडकमै छाड्नुपर्ने अवस्था रहेको अनुभव उनीसँग छ। सडकमा जीवन गुजार्नुपर्ने बाध्यताको अन्त्यका लागि अहिले काठमाडौँमा सञ्चालन गरिएको अभियान मङ्गलबार राति पनि जारी रह्यो।
मानवसेवा आश्रम, प्रहरी परिसर काठमाडौँ, काठमाडौँ महानगरपालिका र पशुपति क्षेत्र विकास कोषलगायत सङ्घसंस्थाको सहकार्यमा सञ्चालन भएको उक्त अभियानका क्रममा गए राति मात्रै १३ जनाको उद्धार गरी आश्रममा राखिएको छ।
यसअघि सोमबार राति उद्धार गरिएका ५० जनालाई पनि आश्रममै राखिएको छ। पछिल्लो एक सातामै सडकबाट ८० जनाको उद्धार भइसकेको छ। सडकमा अझ धेरै अलपत्र रहेकाले उनीहरुको व्यवस्थापनमा भने चुनौती थपिएको छ।
सडकमा कतिपय वास्तविक पीडित भेटिएका छन्। धेरैजसो माग्ने पेशा बनाउनेहरु रहेकाले उनीहरुलाई सडकमै आउन नपाउने व्यवस्था गर्न जरुरी देखिन्छ।
महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानवसेवा आश्रमले लामो समयदेखि अभियान नै चलाएको छ। सडकमा असहाय असक्त निकै कम भए पनि पेशा बनाएर बस्ने धेरै रहेको कोषका सदस्यसचिव डा ढकाल बताउछन्।
घरायसी झगडा, हिंसालगायत आफैँ बिरक्तिएरसमेत वृद्धवृद्धा सडकमा आइपुगेका छन्। मानसिक सन्तुलन गुमाएका पनि सडकमै पुग्ने गरेका छन्। कतिपयचाहिँ माग्ने पेशा बनाएर सडकमा आएका छन् भने कतिपयलाई माग्न लगाएर पेशा गर्ने पनि छन्।
आश्रमले मागेरसमेत खान नसक्ने र मानसिक सन्तुलन गुमाएकालाई उद्धार गरी संरक्षण दिँदै आएको छ। “अन्य व्यक्तिलाई राख्न सक्ने अवस्था छैन,” बर्तौला बताउछन्। माग्ने पेशा बनाएकालाई भने सडकबाट निरुत्साहित गर्नुपर्नेमा उनको जोड छ। महानगरीय प्रहरी परिसरका प्रमुख वसन्त लामा विभिन्न आश्रममा समन्वय गरेर सडकमा रात बिताउन बाध्य भएकाको उद्धार गरिने बताए।
प्रतिक्रिया