३३ किलो सुन प्रकरणको नालीबेली : सनम मर्नुअघि गोरेले भनेका थिए, ‘डाक्टरले डुबाउने भयो’ !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख १८, २०७५
|
६
|
५८ पटक हेरिएको
Shares
३३ किलो सुन प्रकरणको नालीबेली : सनम मर्नुअघि गोरेले भनेका थिए, ‘डाक्टरले डुबाउने भयो’ !

सारांश

  • काठमाडौं, १८ वैशाख ।
  • गत माघ पहिलो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएर बेपत्ता भएको भनिएको तस्करीको सुन अहिले सबैभन्दा बढी चर्चाको विषय बनेको छ ।
  • कसैले ३३ किलो सुन भन्छन्, कसैले साढे ३३ किलो ।

काठमाडौं, १८ वैशाख । गत माघ पहिलो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएर बेपत्ता भएको भनिएको तस्करीको सुन अहिले सबैभन्दा बढी चर्चाको विषय बनेको छ । कसैले ३३ किलो सुन भन्छन्, कसैले साढे ३३ किलो ।

केहीले माघ ९ गते नेपाल भित्रिएको भन्छन्, केहीले माघ ७ गते । थुप्रै असमान तथ्यका बीच सत्य कुरा के हो भने, नेपालमा तस्करी गरेर सुन भित्रिएको हो र त्यसका मुख्य नाइको हुन् ‘गोरे’ भनिने चूडामणि उप्रेती ।

झापाको दमक घर भई काठमाडौंको गौरीघाटमा बस्ने चूडामणि कुनै बेला भारतीय सेना अन्तर्गतको गोर्खा रेजिमेन्टका सिपाही थिए । नेपाल प्रहरीका रिटायर्ड हवल्दारका छोरा उनी सिपाहीको जागिर छाडेर सुन तस्करीमा लागे, र नयाँ पहिचान बनाए ‘गोरे’ नामबाट ।

सुन तस्करीको धन्दा चलाउने ‘गोरे’ थिए । तर उनको धन्दाले थुप्रै प्रहरी अधिकारी, प्रशासक र नेताहरू पनि आर्थिक रूपमा मोटाए ।

३३ किलो सुन प्रकरको शुरुवात

चूडामणि उप्रेति ‘गोरे’ले करीब ७ वर्षदेखि सुन तस्करी गरिरहेको तथ्य फेला परेको छ । तर अहिले चर्चामा रहेको प्रकरण भने गत माघ ७ गतेबाट शुरु हुन्छ ।

विश्वस्त स्रोतले दिएको जानकारीअनुसार माघ ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन नेपाल भित्रिन्छ । थाइ एयरवेजका वरिष्ठ प्राविधिक ५५ वर्षीय सानु वनले आफ्नो स्कूटीको डिग्गीमा राखेर ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेट कटाउँछन् । विमानस्थल अगाडिको होटल महाराजाअगाडि पुगेपछि स्कूटीको डिग्गीमा रहेको सुनको थैलो अर्को व्यक्तिको जिम्मा लगाएर वन आफ्नो काममा फर्किन्छन् ।

विमानस्थलबाट सुन बाहिरिएको आघा घण्टापछि गोरेलाई फोन जान्छ, ‘सुन हरायो’ भनेर । सुन हराएको सूचना पाएपछि गोरेले वनलाई फोन गर्छन् । वनले आफूलाई भनिएको मान्छेलाई नै सुन हस्तान्तरण गरेको बताउँछन् ।

त्यसपछि गोरेले एक अर्का व्यक्तिलाई फोन गर्छन्, जो उनको धन्दाका मुख्य सहयोगी थिए । उनी थिए डाक्टर भनिने निर्मल गुरुङ । हाल प्रहरी हिरासतमा रहेका राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङको सालो नाता पर्ने निर्मल गोरेका मुख्य सहयोगी थिए ।

तस्करी गरिएको सुनको बजार व्यवस्थापन गर्नेदेखि प्रहरी, एयरपोर्टका कर्मचारी र नेतासम्म सेटिङ मिलाउने काम निर्मलको जिम्मामा थियो । अहिले उनी फरार छन् ।

सुन बेपत्ता भएको दिनदेखि नै निर्मल बेपत्ता भएको बताइन्छ । सुन हराएको सूचना पाउनेवित्तीकै गोरेले निर्मललाई सम्पर्क गरेका थिए । तर उनको मोबाइलको स्वीच अफ थियो ।
निर्मलसँग सम्पर्क हुन नसकेपछि गोरेले भुजुङलाई फोन सम्पर्क गर्छन् । भुजुङले हप्ता दिनको समय मागेर निर्मलसँग भेट गराउने बाचा गर्छन् । ७ दिनको समय त्यत्तिकै बित्छ ।

त्यसपछि भुजुङकै सल्लाहमा गोरेले वन र सनम शाक्यलाई नियन्त्रणमा लिन्छन् । पहिलो चरणमा नियन्त्रणमा लिएर दुवै जनालाई छाडिन्छ । सनम मोरङ फर्किन्छन् भने सानु नियमित काममा जान्छन्।

तर सानुमाथि गोरेको टर्चर कम भएन । उनले सानुलाई लगातार फोन गरेर धम्की दिइरहे । जसका कारण उनले माघ २२ गते उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै आत्महत्या गरे । कतिपयले वनको मृत्युलाई हत्या पनि भनेका छन् । तर सीसीटीभी फुटेजमा भने वन एयरपोर्टभित्र गुडिरहेको ट्याङ्करमा ठोक्किन गएको दृश्य देखिन्छ ।

फागुन १६ को त्यो साँझ

काठमाडौंको धापासीमा एउटा गाडी मर्मत गर्ने ठाउँ छ, थ्री मोटर्स ग्यारेज । उक्त ग्यारेज पेन्टर भनेर चिनिने राजन नाम गरेका व्यक्तिले माघ महिनामा २३ लाखमा किनेका थिए । दिउँसो गाडी सफाइ हुने थ्री मोटर्समा साँझ परेपछि भने गोरेको धन्दामा धोका दिनेहरूको ‘धुलाइ’ शुरु हुन्थ्यो ।

गोरेले फागुन १४ गतेतिर सनम शाक्यलाई नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लिएपछि उनलाई २ दिनसम्म त्यही ग्यारेजमा राखियो । दिउँसोभरि ग्यारेजको भित्री कोठामा बन्द हुने सनमको साँझ परेपछि गोरेकै निर्देशनमा पिटाइ हुन्थ्यो ।

माघ १६ गते साँझ गोरे नियमित जस्तै थ्री मोटर्समा पुग्छन् । रक्सी पिउँछन् । रक्सीको नशामा भन्छन्, ‘डाक्टरले डुबाउने भयो ।’

‘डाक्टरले डुबाउने भयो’ भनेको दिन नै गोरेले सनमलाई मोरङ पुर्‍याइसकेका हुन्छन् । थप यातना दिन उनलाई धरान हुँदै विराटनगरसम्म पुर्‍याइन्छ । उर्लाबारीको प्रगति सामुदायिक वनमा पुर्‍याएर चरम याताना दिइन्छ ।

सनमलाई रुखमा बाँधेर करेन्ट लगाएर यातना दिइन्छ । त्यहाँबाट गाडीमा राखेर सुनसरीको इटहरी पुर्‍याइन्छ । इटहरी पुग्दा गाडीभित्रै सनमको मृत्यु हुन्छ ।

सनमको शव व्यवस्थापन गर्न ५ करोडको बार्गेनिङ

चरम यातानाका कारण समनको मृत्यु भइसकेपछि गोरेले पहिलो फोन प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण सञ्जेललाई गर्छन् । अपराध महाशाखाका सई सञ्जेल नाताले गोरेको भाञ्जा हुन् ।
‘भाञ्जा सनम मरिसक्यो । उसको लास के गर्ने ?’ गोरेले सञ्जेललाई सोध्छन् । सञ्जेल ‘केही गर्छु’ भन्दै फोन राखेर डीएसपी प्रजित केसी र आफ्ना हाकिम एसएसपी दिवेश लोहनीसँग कुरा गर्छन् । सई सञ्जेल, डीएसपी केसी र एसएसपी लोहनीबीच करीब १५ मिनेट छलफल चल्छ ।

‘लासको व्यवस्थापन हामी गर्छौं । ५ करोड चाहियो,’ सई सञ्जेलले पुनः फोन गरेर गोरेसँग प्रस्ताव राख्छन् । दुवै पक्षबीच ५ करोडमा बार्गेनिङ चल्छ । अन्ततः २ करोडमा कुरा मिल्छ ।

लास व्यवस्थापनको बार्गेनिङ मिलेपछि अपराध महाशाखाको टोली फागुन १७ गते काठमाडौंबाट मोरङका लागि हिँड्छ । मोरङ पुगेपछि सनमको लास व्यवस्थापन गर्ने अनेक उपाय लगाइन्छ । तर स्थानीय प्रहरीले तस्करको समूहले सनमको हत्या गरेको सूचना पाएपछि वास्तविक हत्यारा (गोरे)लाई जोगाउने प्रयास हुन्छ ।

सनमको हत्या गोरेले नभई तस्करहरूको अर्कै समूहले गरेको भन्ने देखाउन अपराध महाशाखाबाट केही सञ्चारकर्मीलाई फोन नै गरेर विराटनगरको पोखरीयाबाट सनम शाक्यको शव बरामद भएको जानकारी दिइन्छ । केही सञ्चारमाध्यममा फागुन १९ गते विराटनगरको पोखरीयाबाट सनमको शव बरामद भएको समाचार पनि सम्प्रेषण हुन्छ  लाेकान्तरमा खवर छ।तर मोरङ प्रहरीले फागुन २० गते पत्रकार सम्मेलन गरी ३३ किलो सुन तस्कर ९गोरे०को समूहले सनमको हत्या गरेको बताउँछ । सनमको हत्या मोरङ–१ को सोल्टी खोला (प्रगति सामुदायिक वन)को जंगलमा भएको मोरङ प्रहरीले बताउँछ ।

चरम यातनाबाट सनमको मृत्यु भइसकेपछि शवलाई बा१२च ५९६३ नम्बरको स्कारपिओ गाडीमा हालेर नहरै नहर नेपाल–भारत सीमातर्फ लैजाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिन्छ ।

प्रहरीले सनमको शवसँगै काभ्रेको मण्डन देउपुर गाउँपालिका–१२ का टेकराज मल्ल ठकुरी, मोरङको उर्लाबारी–५ का मोहन काफ्ले र उर्लाबारी–७ का कृष्ण भनिने नरेन्द्र कार्कीलाई पक्राउ गर्‍यो । पक्राउ परेका टेकराज मल्ल सनमको शव राखिएको स्कार्पियो गाडीका चालक हुन् भने मोहन काफ्ले मे१च ५३९८ नम्बरको गाडीका चालक हुन् ।
३३ किलो सुन प्रकरणमा अहिलेसम्म ३ जनाले ज्यान गुमाइसकेका छन् ।

सानु वनले एयरपोर्टभित्र आत्महत्या गरे । सनम शाक्यको मोरङमा हत्या भयो । सुन तस्करी प्रकरणमा जोडिएका एक अर्का व्यक्तिको भने प्रहरी हिरासतमै रहस्यमय मृत्यु भयो ।

सुन प्रकरणको छानबिनका लागि भन्दै गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको टोलीले काठमाडौंबाट केहीलाई पक्राउ गर्न निर्देशन दिन्छ । समितिको निर्देशनमा प्रहरीले काठमाडौंबाट एकैचोटी एक दर्जन व्यक्तिलाई नियन्त्रणमा लिन्छ । जसमध्ये प्रेमलाल चौधरी पनि एक हुन् ।

विगत ३० वर्षदेखि त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलमा लोडरको रूपमा काम गर्दै आएका चौधरी चैत २९ गते काठमाडौंबाट पक्राउ पर्छन् । पक्राउ परेका उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा पठाइन्छ । तर पक्राउ परेको दोस्रो दिन शुक्रवार बिहान उनी मृत अवस्थामा फेला पर्छन् ।

प्रहरीले उनलाई झुण्डिएको अवस्थामा फेला पारेको भन्दै आत्महत्या गरेको बताएको छ । तर चौधरीका आफन्तले भने उनको मृत्युलाई शंकास्पदरूपमा लिएका छन् ।

कसलाई जोगाउने कसलाई मुछ्ने ?

३३ किलो सुन प्रकरणमा सबैभन्दा पेचिलो पक्ष हो, यसमा नेपाल प्रहरीका उच्च अधिकारी संलग्न हुनु । अपराधको अनुसन्धान गर्ने निकायका जिम्मेवार अधिकारी नै अपराधिक घटनामा संलग्न हुँदा अनुसन्धानमा कस्तो प्रभाव पर्न सक्छ, जोसुकैले पनि त्यसको अनुमान लगाउन सक्छन् ।
३३ किलो सुन प्रकरणमा अहिलेसम्म प्रहरीका उच्च अधिकारीमा बहालवाला एसपी हिरासतमा छन् । यस्तै पूर्व डीआईजी पनि हिरासतमा छन् ।

एकजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बयानका लागि बोलाइका छन् भने अर्का एसएसपी फरार छन् ।

फरार हुने एसएसपी श्याम खत्री चैत दोस्रो सातासम्म नियमितरूपमा कार्यालय आइरहन्थे । प्रहरी प्रधान कार्यालयमा दरबन्दीमा रहेका उनी १० दिनको बिदा सदर गराएर अहिले ‘फरार’ छन् ।

उनी यसअघि पनि सुन काण्डमा मुछिएर केही दिन जेल बसी बाहिरिएका प्रहरी अधिकारी हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २१ पुस २०७३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको सुन तस्करीमा खत्रीको संलग्नता देखिएपछि कार्यालयबाटै पक्राउ परेका थिए ।

त्यसका अतिरिक्त अपराध महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनी जोगाउन पनि अनेक चलखेल भइरहेको गृह मन्त्रालयको छानबिन समितिका एक सदस्य बताउँछन् ।

लोहनीले ‘आफू जेल जाने अवस्था आए अरुको नाम पनि सार्वजनिक गरिदिने’ धम्की दिएपछि प्रहरी भित्रै उनलाई जोगाउन चलखेल भएको बुझिएको छ । यतिसम्म कि लोहनीले आफू जोगिन राजनीतिक नेताको भनसुन समेत चलाएको गृह मन्त्रालयको समितिका सदस्य बताउँछन् ।

तर गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्देशनमा गृह मन्त्रालयको समितिले लोहनीलाई बयानका लागि पत्र काटेको छ । लोहनी बयानका लागि बुधवार मोरङ पुग्नेछन् ।

गोरे कहाँ छन् ?

३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त गोरे हुन् । तर अहिले उनी फरार छन् । प्रहरीले गोरेलाई इन्टरपोलमार्फत् पनि मोस्ट वान्टेडको सूचीमा राखेको छ ।

प्रहरीको उच्च स्रोतका अनुसार गत चैत पहिलो हप्तासम्ममा गोरे काठमाडौंमै थिए । तर जब सनम शाक्यका परिवारले प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रधान कार्यालयमा उजुरी दिए, गोरे फरार भए । गोरे काठमाडौंबाट वीरगञ्ज हुँदै जोगबनी नाकाबाट भारत गएको प्रहरी स्रोतले लोकान्तरलाई बतायो ।

भारतीय राज्य सिक्किमका केही व्यापारीसँग राम्रो सम्बन्ध बनाएका गोरे उतै लुकेर बसेको हुनसक्ने प्रहरीको अनुमान छ । तर उनलाई पक्राउ गर्न कुनै विशेष टोली भने परिचालन गरिएको छैन ।

गोरेकी श्रीमतीदेखि प्रेमिकासम्म फरार सूचीमा

३३ किलो सुनकाण्ड र सनम शाक्य हत्याकाण्डमा प्रहरीले अहिलेसम्म २८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । बाँकी २१ जना फरार अभियुक्तको सूचीमा छन् ।

फरार अभियुक्तको सूचीमा रहनेमा गोरेसँगै उनकी श्रीमती र प्रेमीका समेत छन् । प्रहरी स्रोतका अनुसार गोरेकी श्रीमती नर्वदा खरेल (रु) एक फेसन डिजाइजनर हुन् । बसुन्धाराको हिसान हस्पिटलसँगै उनको पसलसमेत छ । तर उनी पनि सुन तस्करीमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

गोरेकी प्रेमिका रक्षा भण्डारी पनि फरार अभियुक्तको सूचीमा छिन् । विगत केही वर्षदेखि गोरेसँगको प्रेममा रहेकी रक्षाले नै सुन तस्करीको सबै हिसाब किताब राख्ने गर्थिन् । गोरे विदेशमा रहँदा रक्षाले नै सुन व्यापारीसँग पैसा उठाएर सुन किन्न पठाउँथिन् ।

गोरेका भाइ रमेश उप्रेती पनि फरार अभियुक्तको सूचीमा छन् । हाल संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा रहेका रमेश नेपाल सुन पठाउने गर्दथे ।

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Justin Biral

    ? gσσ∂? є∂ιтιиg? σf? уσυя? ρнσтσ☁ ? Shikhar? News

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

    Comment Author

    Milan Xr

    Ramro safalta ho

    Comment Author

    Bhimsen Pariyar

    यो सुन कान्डमा दोसी उपर कारबाही भए नेपाल सरकार र प्रहरीको वाह,वाही होला र भावी दिनमा कदर होला, तेस्तै अपराधी ले उन्मुक्ति पाए, अब प्रहारी संड्गठन र सरकार कै बदनाम हुने पक्का छ,!

    Comment Author

    Raju Adhikari

    मामा हेरु जति चोरै चोर हुन किक्या हो

    Comment Author

    Prabina Ghale

    प्रहरीको कामै चोरलाई शघाउने भयसी दोश कस्को????????????

    Comment Author

    Dipak Khadka Dipak Khadka

    तस्कर हरू जति सबै पुलिस पाे रछन त ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?