पूर्वी युक्रेनमा प्रत्याक्रमण गरेर केही सहर फिर्ता, रुसी सेना पछि हट्यो

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र २६, २०७९
|
|
३६ पटक हेरिएको
Shares
पूर्वी युक्रेनमा प्रत्याक्रमण गरेर केही सहर फिर्ता, रुसी सेना पछि हट्यो

सारांश

  • काठमाडौ ।
  • युक्रेनले तीव्र गतिमा गरेको प्रत्याक्रमणसँगै थप भूभाग उसको नियन्त्रणमा आएपछि रुसी सैनिकहरू पूर्वी युक्रेनका महत्त्वपूर्ण सहरहरूबाट पछि हटेका छन्।
  • युक्रेनी अधिकारीहरूका अनुसार युक्रेनी सेना शनिवार कुपियान्स्क सहरमा प्रवेश गरेको छ।

काठमाडौ ।युक्रेनले तीव्र गतिमा गरेको प्रत्याक्रमणसँगै थप भूभाग उसको नियन्त्रणमा आएपछि रुसी सैनिकहरू पूर्वी युक्रेनका महत्त्वपूर्ण सहरहरूबाट पछि हटेका छन्।

युक्रेनी अधिकारीहरूका अनुसार युक्रेनी सेना शनिवार कुपियान्स्क सहरमा प्रवेश गरेको छ।

रुसी फौजका लागि सामान आपूर्ति गर्न उक्त सहर निकै महत्त्वपूर्ण मानिन्थ्यो।

रुसी रक्षा मन्त्रालयले आफ्नो सेना ूफेरि सङ्गठित हुनू का लागि नजिकै रहेको इन्ज्यूमतिर गएको जनाएको छ।
रुसले तेस्रो महत्त्वपूर्ण सहर बालाक्लियाबाट पनि आफ्ना सैनिकहरू फिर्ता भएको पुष्टि गरेको छ।

उसका अनुसार डोनेट्स्कको मोर्चालाई बलियो बनाउन त्यहाँबाट सैनिकहरू फिर्ता भएका हुन्।

युक्रेनको नियन्त्रणमा कति क्षेत्र आयो ?
यदि युक्रेनले आफू अगाडि बढेको ठाउँलाई नियन्त्रणमा राख्न सक्यो भने एप्रिल महिनामा किएभवरपरबाट फिर्ता भएको घटनापछि यो सबैभन्दा उल्लेखनीय उपलब्धि हो।

शनिवार राति भिडिओबाट सम्बोधन गर्दै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो महिनाको आरम्भतिर प्रत्याक्रमणको कारबाही सुरु भएपछि युक्रेनले २,००० वर्ग किलोमिटर क्षेत्र रुसको नियन्त्रणबाट मुक्त गरेको दाबी गरेका छन्।

उनको दाबीअनुसार त्यसमध्ये आधा भूभाग ४८ घण्टामा फेरि युक्रेनको नियन्त्रणमा आएको भन्ने बुझिन्छ।
बिहीवारको सम्बोधनमा उनले भनेकोभन्दा यो दुईगुना क्षेत्र हो। इज्यूमबाट आफ्नो सेना फिर्ता भएको रुसको घोषणा पनि महत्त्वपूर्ण छ।

उक्त सहर रुसका लागि एउटा मुख्य सैन्य केन्द्र बनेको थियो।

तीन दिन लगाएर इज्यूम-बालाक्लियाबाट सैनिकहरूलाई डोनेट्स्क सारिएको रुसी विज्ञप्तिमा उल्लेख गरिएको छ।

रुसी सैनिकहरूतर्फ ‘क्षति हुन नदिनू शत्रुपक्षलाई हराइएको दाबी रुसले गरेको छ।
त्यसको केही समयपछि खार्किभमा रुसी नियन्त्रणमा रहेका क्षेत्रहरूको प्रशासक स्थानीयवासीहरूलाई ज्यान जोगाउन रुसतिर जान भनेको रुसको सरकारी समाचारसंस्था तासले जनाएको छ।

नजिकै रुसपट्टि रहेको बेल्गोरोड क्षेत्रका गभर्नरले सीमा पार गर्न पालो कुरिरहेका मानिसलाई सहयोग गर्न खानेकुरा, ताप र औषधिको व्यवस्था गरिएको जनाएका छन्।

युक्रेनी सफलताले के सङ्केत गर्छ ?
युक्रेनले पश्चिमा साझेदार राष्ट्रहरूलाई सैन्य सहयोग उपलब्ध गराउन निरन्तर आग्रह गरिरहेको बेला युक्रेनी सेनाको उपलब्धिले उससँग रुसले नियन्त्रणमा लिएको भूभाग फिर्ता लिन सक्ने सामर्थ्य भएको सङ्केत मानिएको छ।

यसअघि यूकेका रक्षा अधिकारीहरूले यसअघि रुसनियन्त्रित भूभागमा युक्रेन ५० किलोमिटरभित्र अघि बढेको बताएका थिए।

‘रुसी फौजहरू छक्क परेको हुनुपर्छ,’ यूकेको रक्षा मन्त्रालयले भनेको छ।

‘उक्त क्षेत्र हलुका बलका भरमा कब्जामा लिइएको थियो र युक्रेनी सैनिकहरूले कैयौँ सहरलाई कब्जा गर्ने र घेर्ने काम गरेका छन्।’

युक्रेनले देशको पूर्वमा यस साताको सुरुमा प्रत्याक्रमण सुरु गरेको थियो। यद्यपि दक्षिणी सहर खेअर्सननजिकै प्रत्याक्रमण हुन सक्ने भन्दै अन्तर्राष्ट्रिय ध्यान त्यतातिर केन्द्रित बनेको थियो।

विश्लेषकहरूका विश्वासमा रुसले आफ्ना केही निकै अनुभवी सैन्य समूहलाई सहर प्रतिरक्षाको लागि त्यसतर्फ पठाएको छ।

एकजना अधिकारीले पूर्वमा भूमिमा नियन्त्रण कायम गरेसँगै युक्रेनले दक्षिणमा समेत सफलता हात पारिरहेको बताएका छन्।-बिबिसी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?