Saturday, May 18
Shadow

दही, चिउरा, मासु र भोड्कामा स्लिपिङ ट्याबलेट :गोंगबु हत्या


  • -इ
  • इ+

रोल्पाको रून्तीगढी गाउँपालिका-७ का ४५ वर्षीय कृष्णबहादुर बोहोरा र चितवनको कालिका नगरपालिका-७ की ३७ वर्षीया कल्पना मुडभरी पौडेलबीच चार वर्षअघि फेसबुकमार्फत चिनजान भयो।

सामाजिक सञ्जालमार्फत चिनजान भएर साथी बनेका उनीहरुबीचको सम्बन्ध झाँगिदै गएपछि दुवैजना घनिष्ठ बने। बोहोरा गोंगबुस्थित एक होटलमा ८ महिनादेखि बस्दै आएका थिए। अर्कातिर कल्पना मुडभरी पौडेल टोखा नगरपालिका-१० नवज्योति मार्गमा बस्दै आएकी थिइन्।  फरक जिल्लाका उनीहरुलाई फेसबुकले नै नजिक्यायो। फेसबुकबाट झाँगिएको सम्बन्ध बाक्लिँदै गएपछि दुवैजना एक अर्का बसेको ठाउँमा आउन जान थाले। उनीहरुको बसोवाससमेत एकअर्काको कोठामा हुन थाल्यो।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार यसरी नजिकिएका उनीहरुबीच फेसबुककै कारण झगडा चर्किएर एकजनाले ज्यानै गुमाउनु परेको छ। प्रहरीलाई दिएको बयानमा उनले आफूसँगका अन्तरंग फोटो सार्वजनिक गरिदिन खोजेपछि हत्या नै गर्नुपरेको बयान पनि दिएकी छन्।

सोमबार चितवनबाट पक्राउ परेकी कल्पनाले कृष्ण बहादुरले आफ्नो फोटो प्रयोग गरेर नक्कली फेसबुक आइडी खोलेर दु:ख दिन थालेपछि हत्यासम्म गर्नुपरेको बयान दिएकी थापाले बताए। उनका अनुसार नक्कली आइडी खोलेर बदनाम गर्न खोजेको तथा आफू अनुकुल चल्न दबाब दिन थालेपछि उनको हत्या गर्नुपरेको साविती बयान कल्पनाले दिएकी छन्।

‘हाम्रो अनुसन्धानमा उनीहरु दुई जनाबीच करिब ४ वर्षअघि फेसबुकबाटै चिनजान भएको देखिएको छ’, थापाले भने, ‘बोहोराको हत्याको एउटा प्रमुख कारण पनि फेसबुक नै बनेको छ। बोहोराले नक्कली आइडी खोलेर दु:ख दिन थालेपछि यति क्रुर हत्या गर्नुपरेको बयान कल्पनाले दिएकी छन्।’

घटनाको दिन

घटना भएको दिन गत आइतवार बिहानै बोहोरा आफु बसेको होटलबाट बा ७२ प ५६४४ नम्बरको स्कुटी चढेर कल्पनाको टोखास्थित कोठामा पुगेका थिए। त्यहाँ पुगेका बोहोरालाई कल्पनाले दही, चिउरा, मासु र भोड्का खान दिएकी थिइन्।

उक्त खानासँगै उनले बोहोरालाई थाहै नदिइ स्लिपिङ ट्याबलेट खान दिएको बयानमा स्वीकारेको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए।  त्यसपछि बेहोस भएका उनीमाथि कल्पना जाइ लागेकी थिइन्। उनले बोहोराको अण्डकोषमा हानेर हत्या गरेको पनि स्वीकार गरेकी छन्। घटनाका क्रममा उनले बोहोराको ज्यान लिन ह्याम्मरको प्रयोग गरेको खुले छ।

प्रहरीले घटनास्थल  उनको कोठा र शव फालिएको स्थानबाट रगत लतपतिएको पञ्जा, म्याट्रिक्सको टुक्रा, घाँटी कस्‍न प्रयोग गरेको कालो रंगको सल, सुटकेशको ह्यान्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा, मृतकले लगाएका तथा झोलामा रहेका मृतकका कपडा, स्लिपिङ ट्याबलेटको खोल र मोबाइल सेट बरामद गरेको छ।

शव व्यवस्थापन

बोहोराको हत्या गरेपछि कल्पनाले आइतबार बिहानै शवलाई टोखा नगरपालिका-१० नव ज्योति मार्गमा फालेकी थिइन्। कोठामै बोहोराको टाउको र खुट्टा काटेर छुट्याएको शव मात्रै उनले सुटकेसमा फालेकी थिइन्। जहाँ उनले रातो प्लाष्टिकले बेरेको, बोराको नाम्लोसहित कालो रंगको सुटकेश भित्र टाउको र खुट्टाबिनाको शव फालिदिएकी थिइन्।

त्यसपछि प्रहरीले तत्कालै तालिम प्राप्त जो जो नामको कुकुर परिचालन गरेर टाउको र खुट्टा पोको पारी फालेको अवस्थामा शरीर भेटिएको स्थानबाट तीन सय मिटर पूर्वोत्तर स्वर्गद्वारी मार्गको खाली जमीनको कुनामा फेला पारेको थियो।  त्यसपछि उनी त्यही बेलुकी बिरामी लिएर काठमाडौं आएर फर्कन लागेको एम्बुलेन्समा चितवन हिँडेकी थिइन्।

चिनेकै ड्राइभरलाई फोन गरेर भाडा बुझाइ उनी चितवन पुगेकी थिइन्।  बोहोराको हत्यापछि शव व्यवस्थापनमा कल्पनाकै छोरी पनि संलग्‍न भएको प्रहरीले पत्ता लगाएको छ। दुवैजनालाई जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा पक्राउ गरेर काठमाडौं ल्याइएको छ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्