लालपुर्जा सिरानीमा राखेर निदाउने चाहना

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष २३, २०७७
|
|
५५ पटक हेरिएको
Shares
लालपुर्जा सिरानीमा राखेर निदाउने चाहना

सारांश

  • तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्याउलीबजार बस्ने टीकाराम सिग्देल ७४ वर्ष पुग्नुभयो ।
  • विसं २०३६ मा भीमाद नगरपालिकास्थित भानुमतिबाट स्याउली बजार झर्नुभएका उहाँले मुखियासँग जग्गा खरिद गरेर यतै घरजम गर्नुभयो ।
  • स्याउली बजारमा वर्षौँदेखि बसोबास गर्दै आउनुभएका उहाँसँग उक्त जग्गाको लालपुर्जा भने छैन ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्याउलीबजार बस्ने टीकाराम सिग्देल ७४ वर्ष पुग्नुभयो । विसं २०३६ मा भीमाद नगरपालिकास्थित भानुमतिबाट स्याउली बजार झर्नुभएका उहाँले मुखियासँग जग्गा खरिद गरेर यतै घरजम गर्नुभयो ।

स्याउली बजारमा वर्षौँदेखि बसोबास गर्दै आउनुभएका उहाँसँग उक्त जग्गाको लालपुर्जा भने छैन । डाँडामाथिको घाम हुनुभएका उहाँलाई सिरानीमा लालपुर्जा राखेर एक रात भए पनि मस्त निदाउने धोको छ । “आशैआशमा उमेर ढल्क्यो । नातिपनाति पाउने बेला भयो । लालपुर्जा कसै पाइएन, अझै पनि लालपुर्जा पाएर एकरात सिरानीमा च्यापेर ढुक्कले निदाउन पाए स्वर्ग गइन्थ्यो कि भन्ने लागेको छ,” उहाँले भन्नुभयो ।

आफूले भोगचलन गर्दै आएको जग्गाको पूर्जा नहुँदा हेपिएको महसुस हुने सिग्देलको अनुभव छ । “लालपुर्जा नहुँदा बैंकले पत्याउँदैन, बैंकले ऋण नपत्याएपछि व्यापार कसरी गर्न सकिएन”, उहाँले भन्नुभयो । विसं २०७६ साउन तेस्रो साता तनहुँको शुक्लागण्डकी नगरपालिकाका भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई विश्वस्त पार्दै तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ‘दशैँमा निधारमा रातो टीका र हातमा रातो लालपुर्जा थमाउछौँ’ भनेर उद्घोष गर्नुभयो । उहाँको भाषण सुन्नुभएका सिग्देलले दुई वर्षको दशैँ मनाउनुभयो, तर हातमा लालपुर्जा अझै परेको छैन ।

शुक्लागण्डकी नगरपालिका–२, ५, ६, ७ र ८ मा अव्यवस्थित, सुकुम्वासीको बसोबास अत्यधिक छ । नगरपालिकाका १२ वटै वडामा करिब पाँच हजारभन्दा बढी सुकुम्वासी रहेको अनुमान छ । पाँच दशकदेखि हातमा लालपुर्जा नपर्दा आफूहरु निराश भएको स्याउली बजारका जीवनसागर अधिकारीले बताउनुभयो ।

“विभिन्न समयमा आयोग र समिति बने । जग्गा नापजाँच भयो । पूर्जा वितरण हुनसकेन”, उहाँले भन्नुभयो । सरकारले शुक्लागण्डकी नगरपालिकाका सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिलाउन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा एक समिति गठन गरेको थियो । उक्त समितिको म्याद नगुज्रिदै चैतमा कोरोना कहरले काम रोकियो । जेठमा वर्ष दिन पुगेर आयोगको म्याद सकियो ।

गत चैतमा सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ । उक्त आयोगले शुक्लागण्डकीसहित तनहुँका ६ स्थानीय तहका भूमिहीनलाई जग्गा र पूर्जा दिन सम्झौता गरेको छ । आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले शुक्लागण्डकी, भानु, बन्दीपुर, देवघाट गाउँपालिकाका विभिन्न ठाउँमा पुगेर आयोगले यसपटक लालपुर्जा वितरण गरेर छाड्ने प्रतिबद्धता जनाउनुभएको छ ।

जिल्लाका जनप्रतिनिधि यस पटकको आयोग शक्तिशाली भएकाले जनताले लालपुर्जा पाउनेमा विश्वस्त छन् । शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले यसपाली बनेको आयोग शक्तिशाली भएकाले पूर्जा दिने सम्भावना बढी रहेको बताउनुभयो । “हिजोको दिनमा कर्मचारीको आयोग बनेको थियो । कर्मचारीले जोखिम मोलेर कदम अगाडि बढाउन नसक्ने अवस्था थियो । अहिले राजनीतिक रुपले आयोग बनेको छ । अधिकार सम्पन्न छ । तसर्थ यो आयोगबाट काम हुने विश्वास छ ।”

जिल्लाका स्थानीय तहले सुकुम्वासी पहिचानका लागि प्रक्रिया शुरु गरिसकेको छ । भीमाद नगरपालिकाले भूमिहीन पहिचानका लागि नगर र वडास्तरीय समिति गठन गरेको छ । नगरमा नगरप्रमुखको अध्यक्षतामा र प्रत्येक वडामा वडाध्यक्षको अध्यक्षतामा समिति गठन गरिएको प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाभित्र एक हजार ५०० को हाराहारीमा भूमिहीन व्यक्ति रहेको अनुमान छ । “नगर र नौवटै वडामा समिति गठन गरेर काम शुरु गरेका छौ, अन्य कामलाई पनि तीव्रता दिन्छौँ”, उहाँले भन्नुभयो ।

बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले पालिका र वडास्तरमा सहजीकरण समिति गठन गरिएको जानकारी दिनुभयो । अब तत्कालै इकाइ गठन गरेर थप कामलाई तीव्रता दिइने उहाँले जानकारी दिनुभयो । “एक चरणमा सरोकारवालासँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिसकेका छौँ”, उहाँले भन्नुभयो ।

ब्यास नगरपालिकाले वडा र नगरस्तरमा समिति गठन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । पालिकास्तरमा प्रमुखको अध्यक्षतामा र वडामा वडाध्यक्षको अध्यक्षतामा सहजीकरण समिति गठन गरिनेछ । भूमिहीन दलित, भूमिहीन सुकुम्ब्वासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न लागत सङ्कलनलगायतका कामका लागि पालिकासँग सम्झौता गरिएको आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले जानकारी दिनुभयो ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न प्रत्येक व्यक्तिको घरघरमै पुगेर फारम भरिनेछ । “को भूमिहीन हो, को अव्यवस्थित बसोबासी हो सबैको पहिचानका लागि घरघरमै पुगेर फारम भरिन्छ, त्यसलाई पालिकाले छानबिन गर्छ, सार्वजनिक सूचना प्रकाशित गर्छ र प्रमाणित भएपछि सम्बन्धित पालिकाले नै लालपुर्जा वितरण गर्छ,” उहाँले भन्नुभयो ।

नगरपालिका आफैँले घाट चलाउने

हालसम्म ठेक्कामार्फत सञ्चालन हुँदै आएको मादी नदी घाट अब व्यास नगरपालिका आफैँले सञ्चालन गर्ने भएको छ । व्यास नगरपालिका–४, ५, ६, ७, १० अन्तर्गत पर्ने मादी नदीबाट ढुङ्गा, गिट्टी, बालुवा सङ्कलनका लागि नगरपालिका आफँैले घाट सञ्चालन गर्ने निर्णय गरेको हो । नदीजन्य पदार्थ बिक्री गर्न दुई पटकसम्म ३०÷३० दिने सार्वजनिक सूचना प्रकाशित गरिएकामा बोलपत्र लाग्न नसकेको भन्दै नगरपालिकाले आर्थिक ऐन २०७७ अनुसार एक हप्ताभित्र घाट सञ्चालन गर्ने निर्णय गरेको हो ।

यस्तै नगरकार्यपालिकाको बैठकले मानुङमा रोक्का गरिएको जग्गा बिक्री खुला गर्ने निर्णय गरको छ । गुरुयोजना निर्माण गर्ने उद्देश्यसहित कात्तिक २३ गतेको बैठकले पुस मसान्तसम्म जग्गा बिक्री वितरण बन्द गर्ने निर्णय भएको थियो । बैठकले न्यूनतम चार आनाभन्दा कम नहुने गरी माघ १ गतेदेखि जग्गा बिक्री खुला गर्ने निर्णय भएको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिनुभयो ।

व्यास अल्ट्रा म्याराथनको तयारी

नगरपालिकाले प्रत्येक वर्ष हुँदै आएको व्यास अल्ट्रा म्याराथनको तयारी शुरु गरेको छ । शहीद दिवसको अवसरमा माघ १६ गते हुने म्याराथनका लागि नगरपालिकाले तयारी शुरु गरेको हो । व्यास नगरपालिका–मानुङकोटबाट व्यास नगरपालिका–८ पुलिमराङस्थित शहीद उद्यानसम्मको चौथो खुला अल्ट्रा म्याराथनका लागि नगरपालिकाका उपप्रमुख मीरा जोशीको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । बुधबार बसेको नगरकार्यपालिकाको बैठकले म्याराथनको तयारी गर्नका लागि उपप्रमुख जोशीलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

मगरको गाउँ मानुङ र गुरुङको गाउँ पुलिमराङलाई जोड्न अल्ट्रा म्याराथनले सहयोग पुग्ने विश्वास नगरपालिकाको छ । “खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको म्याराथन प्रभावकारी भएको छ”, नगरप्रमुख बैकुण्ठ न्यौपानेले भन्नुभयो, “म्याराथनकै कारण आज मानुङ विश्वमाझ परिचित हुन सफल भएको छ ।”

व्यास नगरपालिका–५ मानुङबाट शुरु हुने म्याराथन व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किमी दूरीको रहनेछ । म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ । नगरपालिकाको ३४ औँ नगरसभा आगामी माघ २७ गते हुने भएको छ । आव २०७७÷७८ को अर्धवार्षिक प्रगति समीक्षा, आर्थिक ऐन, विनियोजन ऐनमा संशोधनलगायतका आवश्यक ऐनहरु पारित गर्नका लागि नगरसभा आह्वान गरिएको हो । नगरपालिका एवं वडा कार्यालयबाट सम्पादित जनमुखी सेवालाई जवाफदेहिता गहन गर्न एवं पारदर्शी बनाउने उद्देश्यले पुस २८ गते व्यास नगरपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने निर्णय भएको छ ।

बैठकले विभिन्न वडाबाट न्यायिक समितिमा दिने उजुरी, म्याद तामेली, प्रतिउत्तर दर्ता प्रक्रिया वडामार्फत गराई न्यायिक समितिको निर्णयअनुसार सम्बन्धित वडामा मेलमिलापकार्यलाई व्यवस्थित गर्न न्यायिक समितिलाई जिम्मेवारी तोकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनाव प्रचारमा १० भन्दाबढी झण्डा र चिह्न प्रयोग नगर्न आयोगको निर्देशन
चुनाव प्रचारमा १० भन्दाबढी झण्डा र चिह्न प्रयोग नगर्न आयोगको निर्देशन
चैत १० गते मंगलवारको राशिफल यस्तो छ
चैत १० गते मंगलवारको राशिफल यस्तो छ
नारायणगढ मुग्लिन सडक खण्डमा दिउँसो सवारी साधन चलाउन नपाइने
नारायणगढ मुग्लिन सडक खण्डमा दिउँसो सवारी साधन चलाउन नपाइने
चितवन-२ को अपडेट : एमालेका रामप्रसाद न्यौपानेको अग्रता, रवि लामि‍छानेले पछ्याउँदै
चितवन-२ को अपडेट : एमालेका रामप्रसाद न्यौपानेको अग्रता, रवि लामि‍छानेले पछ्याउँदै
काठमाण्डौं उपत्यका सहित मुलुकका विभिन्न भागमा स्वाइन फ्लुको संक्रमण बढेपछि सरकारद्वारा सतर्कता अपनाउन आग्रह
काठमाण्डौं उपत्यका सहित मुलुकका विभिन्न भागमा स्वाइन फ्लुको संक्रमण बढेपछि सरकारद्वारा सतर्कता अपनाउन आग्रह
१० मिनेट डुंगा चढेको ८ सय !
१० मिनेट डुंगा चढेको ८ सय !
को बन्ला सभामुख ? यी हुन् सम्भावित नाम
को बन्ला सभामुख ? यी हुन् सम्भावित नाम
नेपाली कम्पनीसँग क्षमता नभएपछि अन्त शुल्क स्टिकर छपाइको काम विदेशी कम्पनीलाई
नेपाली कम्पनीसँग क्षमता नभएपछि अन्त शुल्क स्टिकर छपाइको काम विदेशी कम्पनीलाई
 नेकपा विधानबाट ‘जबज’ हटाइँदै
 नेकपा विधानबाट ‘जबज’ हटाइँदै
सार्वजनिक जग्गामा बनेका घर, टहरा ३५ दिनभित्र खाली नगरे भत्काइने
सार्वजनिक जग्गामा बनेका घर, टहरा ३५ दिनभित्र खाली नगरे भत्काइने

तपाईंले छुटाउनुभयो कि?