३४ वर्षपछि एमालेबाट ‘सन्यास’: छोरा रास्वपा उम्मेदवार बनेपछि रामचन्द्र उप्रेतीले छाडे पार्टी

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ ८, २०८२
|
|
५४ पटक हेरिएको
Shares
३४ वर्षपछि एमालेबाट ‘सन्यास’: छोरा रास्वपा उम्मेदवार बनेपछि रामचन्द्र उप्रेतीले छाडे पार्टी

सारांश

  • नेकपा (एमाले) मा ३४ वर्षदेखि निरन्तर सक्रिय रहेका मकवानपुरको मनहरी गाउँपालिकाका रामचन्द्र उप्रेतीले पार्टी परित्यागको घोषणा गरेका छन् ।
  • आफ्ना कान्छा छोरा प्रशान्त उप्रेतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मकवानपुर क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएलगत्तै उनले एमाले छाडेको घोषणा गरेका हुन् ।
  • रामचन्द्रले २०४८ सालदेखि गाँसिएको एमालेसँगको लामो सम्बन्ध तोडेको बताएका हुन् ।

नेकपा (एमाले) मा ३४ वर्षदेखि निरन्तर सक्रिय रहेका मकवानपुरको मनहरी गाउँपालिकाका रामचन्द्र उप्रेतीले पार्टी परित्यागको घोषणा गरेका छन् । आफ्ना कान्छा छोरा प्रशान्त उप्रेतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मकवानपुर क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएलगत्तै उनले एमाले छाडेको घोषणा गरेका हुन् ।

रामचन्द्रले २०४८ सालदेखि गाँसिएको एमालेसँगको लामो सम्बन्ध तोडेको बताएका हुन् । २०४८ मा प्रथम बालसहिद अनिश शाक्यको हत्याको विरोध गर्दै साँस्कृतिक कार्यक्रम (नाटक) मा अनिश शाक्यकै भूमिका निर्वाह गरेर आफ्नो राजनीतिक यात्रा सुरु गरेको स्मरण गर्दै उनले अहिलेको नेतृत्वको कार्यशैलीप्रति गम्भीर असहमति जनाउँदै एमाले छाडेका हुन् । वर्तमान एमाले नेतृत्वको सरकारले युवाहरूको आवाजलाई दमन गरेको र परिवर्तनको चाहनालाई उनले ‘आतंकवाद’ को संज्ञा दिएको भन्दै दुख व्यक्त गरेका छन् ।

‘आज आफ्नै नेकपा (एमाले) को नेतृत्वमा रहेको सरकारले निर्ममतापूर्वक युवाहरुको हत्या गरी, युवा आवाजलाई दमन गर्ने र उनीहरुको परिवर्तन (भ्रष्टाचार, नातावाद, कृपावाद, बेथिति, अन्याय हटाउने) को चाहनालाई आतंकवाद र आतंककारी सावित गर्न निरन्तर लागिरहेको छ । यस्तो कार्यप्रति गम्भीर असहमति जनाउँदै म पार्टी परित्यागको घोषणा गर्दछु ।’ उनले सामाजिक सञ्जालमा लेखका छन् ।

उनले पार्टीभित्र पछिल्लो समय व्यक्तिवाद र मनोमालिन्य हावी भएको बताए । उनका छोरा प्रशान्त उप्रेतीले आसन्न निर्वाचनका लागि मकवानपुर क्षेत्र नम्बर २ बाट रास्वपाको टिकट प्राप्त गरेका छन् । रास्वपाबाट टिकट पाए लगत्तै मनोनयन दर्ता गरेपछि रामचन्द्रले पार्टी छाडेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?