माडीमा विद्युत् अवरोध हटाउन १७ करोड ८६ लाखको लागतमा लाइन भूमिगत गरिँदै
सारांश
- चितवनको माडी उपत्यकामा भइरहेको पटक-पटकको विद्युत् अवरोध हटाउँदै आपूर्तिलाई भरपर्दो बनाउन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र नयाँ तार भूमिगत गर्ने कार्य अघि बढाइएको छ।
- नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले करिब १७ करोड ८६ लाख रुपैयाँको लागतमा यो परियोजना अघि बढाएको हो।
- चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा २५ मेघावाट क्षमताको नयाँ विद्युतीय तार बिछ्याइँदैछ।
चितवनको माडी उपत्यकामा भइरहेको पटक-पटकको विद्युत् अवरोध हटाउँदै आपूर्तिलाई भरपर्दो बनाउन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र नयाँ तार भूमिगत गर्ने कार्य अघि बढाइएको छ। नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले करिब १७ करोड ८६ लाख रुपैयाँको लागतमा यो परियोजना अघि बढाएको हो।
चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा २५ मेघावाट क्षमताको नयाँ विद्युतीय तार बिछ्याइँदैछ। ठेक्का सम्झौता भएपछि निर्माण कम्पनी शारदा एण्ड सुम्नीमा भिसान जेभीले नक्साङ्कन सम्पन्न गरी मुख्य तार खरिद प्रक्रिया सुरु गरिसकेको छ।
यसअघि बिछ्याइएको आठ मेगावाट क्षमताको पुरानो विद्युत् लाइनमा पटक-पटक प्राविधिक समस्या आउने र मर्मतमा धेरै समय लाग्ने गरेकाले नयाँ प्रणाली जडान गर्न लागिएको हो। चारैतिर जंगलले घेरिएको माडी क्षेत्रमा दीर्घकालीन रूपमा गुणस्तरीय विद्युत् आपूर्ति गर्न यो कदम चालिएको प्राधिकरणले जनाएको छ।
गत वैशाख ७ गते नौ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको यो आयोजनाको काम मनसुन सकिएलगत्तै तीव्रताका साथ अघि बढाइनेछ। नयाँ प्रविधिबाट तार भूमिगत गरिने भएकाले भविष्यमा प्राविधिक अवरोध कम हुने अपेक्षा छ।
माडीका ११ हजार ७ सयभन्दा बढी घरायसी तथा सिँचाइ ग्राहकहरू यस योजनाबाट प्रत्यक्ष लाभान्वित हुनेछन्। चनौली वितरण केन्द्रमार्फत विद्युत् उपभोग गर्दै आएका स्थानीय बासिन्दाले यो आयोजना सम्पन्न भएपछि विद्युत् आपूर्ति थप भरपर्दो हुने प्राधिकरणको अपेक्षा छ।
प्रतिक्रिया