रसुवा बाढीको असर: चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
सारांश
- नेपालको चालु आर्थिक वर्ष २०८३/८४ को आर्थिक वृद्धिदर ३.
- ७ प्रतिशतमा सीमित हुने प्रक्षेपण विश्व बैंकले सार्वजनिक गरेको छ।
- रसुवामा आएको विनाशकारी बाढीका कारण उद्योग, ऊर्जा तथा सेवा क्षेत्रमा परेको व्यापक असरका कारण मुलुकको समग्र अर्थतन्त्रमा मन्दी आउने अध्ययनले देखाएको हो।
नेपालको चालु आर्थिक वर्ष २०८३/८४ को आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण विश्व बैंकले सार्वजनिक गरेको छ। रसुवामा आएको विनाशकारी बाढीका कारण उद्योग, ऊर्जा तथा सेवा क्षेत्रमा परेको व्यापक असरका कारण मुलुकको समग्र अर्थतन्त्रमा मन्दी आउने अध्ययनले देखाएको हो।
विश्व बैंकले मङ्गलबार सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिवेदन अनुसार जलविद्युत्, प्रसारण लाइन र यातायात पूर्वाधारमा पुगेको क्षतिले विद्युत् तथा औद्योगिक उत्पादन प्रभावित भएको छ। व्यापार र पर्यटनमा आएको अवरोधका कारण सेवा क्षेत्रमा पनि सुस्तता आएको छ भने प्रभावित नागरिकको जीविकोपार्जनमा असर परेको छ।
उक्त प्रतिवेदन प्रस्तुत गर्दै माल्दिभ्स, नेपाल र श्रीलंकाका डिभिजन निर्देशक डेभिड सिसलेनले विपद्पछिको पुनर्निर्माणमा जलवायु उत्थानशीलतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले आधारभूत पूर्वाधार र सञ्चार सञ्जालको वैकल्पिक व्यवस्थापनका लागि नेपाल सरकारलाई सहयोग गर्न विश्व बैंक तयार रहेको स्पष्ट पारे।
विश्व बैंकले क्षतिग्रस्त संरचनाको साधारण मर्मतमा मात्र सीमित नभई बहुप्रकोप जोखिमको मूल्याङ्कन र पूर्वसूचना प्रणालीको सुदृढीकरण गर्न सुझाव दिएको छ। साथै, प्रभावित जोखिमयुक्त परिवारलाई तत्काल राहत पुर्याउन एकीकृत सामाजिक सुरक्षा प्रणाली निर्माण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।
यो प्रतिवेदनले पुनर्निर्माणका प्रयास द्रुत गतिमा अघि बढे आगामी आर्थिक वर्ष २०८४/८५ मा नेपालको आर्थिक वृद्धिदर पुनः ५.२ प्रतिशत पुग्ने सकारात्मक दिशा समेत औंल्याएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया