भोटेकोसी बाढीको असर : ४३१.१ मेगावाट विद्युत् उत्पादन बन्द
सारांश
- भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवा तथा नुवाकोट क्षेत्रमा सञ्चालित दर्जनभन्दा बढी जलविद्युत् आयोजनामा गम्भीर क्षति पुगी राष्ट्रिय विद्युत् प्रणालीबाट ४३१.
- १ मेगावाट विद्युत् उत्पादन ठप्प भएको छ।
- नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार बाढीको प्रत्यक्ष र अप्रत्यक्ष प्रभावका कारण राष्ट्रिय ग्रिडमा जोडिएका आयोजनाहरूबाट बिजुली प्रवाह पूर्ण रूपमा विच्छेद भएको छ।
भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवा तथा नुवाकोट क्षेत्रमा सञ्चालित दर्जनभन्दा बढी जलविद्युत् आयोजनामा गम्भीर क्षति पुगी राष्ट्रिय विद्युत् प्रणालीबाट ४३१.१ मेगावाट विद्युत् उत्पादन ठप्प भएको छ। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार बाढीको प्रत्यक्ष र अप्रत्यक्ष प्रभावका कारण राष्ट्रिय ग्रिडमा जोडिएका आयोजनाहरूबाट बिजुली प्रवाह पूर्ण रूपमा विच्छेद भएको छ।
भोटेकोसी र त्रिशूली नदीको विनाशकारी बाढीले रसुवागढी (१११ मेगावाट), माथिल्लो त्रिशूली थ्री ‘ए’ (६० मेगावाट), सान्जेन (४२.५ मेगावाट), चिलिमे (२२ मेगावाट) र त्रिशूली (२४ मेगावाट) लगायतका आयोजनामा ठूलो असर पुर्याएको हो। यसैगरी २५ मेगावाट क्षमताको एक सोलार प्रणालीसहित ११ वटा जलविद्युतगृहमा क्षति पुग्दा नेपालको समग्र विद्युत् व्यवस्थापनमा गम्भीर चुनौती थपिएको छ।
नदीमा पानीको बहाव अत्यधिक बढेपछि विद्युत् उत्पादनगृहमा सोझै बाढी पस्नुका साथै नदी किनारमा रहेका प्रसारण लाइन तथा सबस्टेसन संरचनाहरू समेत क्षतिग्रस्त भएका छन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीले विद्युतीय पूर्वाधार तहसनहस बनाएकाले तत्कालका लागि सम्बन्धित नदी बेसिनका सबै विद्युतगृहहरूको उत्पादन पूर्ण रूपमा रोक्न बाध्य हुनुपरेको छ।
बाढीको जोखिम कायमै रहेकाले तत्काल मर्मतको काम सुरु गर्न कठिन भएको छ भने नदीमा पानीको सतह घटेपछि मात्रै क्षतिको पूर्ण मूल्यांकन र पुनर्निर्माण अघि बढाइनेछ। प्राधिकरणले वैकल्पिक स्रोतहरूबाट विद्युत् व्यवस्थापन गरी देशका अन्य भागमा आपूर्ति सहज बनाउने प्रयास भइरहेको जनाएको छ।
प्रतिक्रिया