बाउन्स चेक लिएर प्रहरीकोमा पुग्ने बढे, यसरी फसे सुकुमान

Abhiyanpost Abhiyanpost
|
शनिबार, फाल्गुन १९, २०७४
|
|
६० पटक हेरिएको
Shares
बाउन्स चेक लिएर प्रहरीकोमा पुग्ने बढे, यसरी फसे सुकुमान

सारांश

  • काठमाडौं, १९ फागुन – गम्भीर प्रकृतिका अपराध अनुसन्धानमा खटिनुपर्ने काठमाडौं प्रहरीको अधिकांश समय पछिल्ला दिन ‘चेक बाउन्स’का उजुरी छानबिनमा बित्ने गरेको छ ।
  • चेक बाउन्सका उजुरी बढेपछि प्रहरीको ठूलो शक्ति छानबिनमा लाग्नुपरेको हो ।
  •  आजको नया पत्रिका दैनिकमा टेकराज थामीले खबर लेखेका छन् ।

काठमाडौं, १९ फागुन – गम्भीर प्रकृतिका अपराध अनुसन्धानमा खटिनुपर्ने काठमाडौं प्रहरीको अधिकांश समय पछिल्ला दिन ‘चेक बाउन्स’का उजुरी छानबिनमा बित्ने गरेको छ । चेक बाउन्सका उजुरी बढेपछि प्रहरीको ठूलो शक्ति छानबिनमा लाग्नुपरेको हो । आजको नया पत्रिका दैनिकमा टेकराज थामीले खबर लेखेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले चेक बाउन्सका उजुरी छानबिन गर्न परिसर मातहतको ४० प्रतिशत शक्ति लागेको बताए । उनले भने, ‘पछिल्ला दिन चेक बाउन्सका उजुरी बढेका छन् । अनुसन्धानमा प्रहरीको ठूलो शक्ति खर्च भइरहेको छ । यसले गम्भीर प्रकृतिका अपराध अनुसन्धानलाई समेत प्रभावित गरेको छ ।’

प्रहरीको तथ्यांकअनुसार काठमाडौं परिसरमा मात्रै प्रत्येक दिन २० भन्दा धेरै चेक बाउन्सका उजुरी पर्ने गरेका छन् । एक लाखदेखि पाँच करोड रुपैयाँसम्मका चेक बाउन्स भएका उजुरी छन् । दैनिक सरदर एक करोड ५० लाख रुपैयाँका चेक बाउन्स भएको मुद्दा महानगरीय प्रहरी परिसर काठमाडौंमा मात्रै दर्ता हुने गरेका छन् ।

परिसरका मुद्दा शाखा प्रमुख डिएसपी मोहन थापाले प्रत्येक दिन २०–२५ वटा मुद्दा चेक बाउन्सका मात्रै दर्ता हुने गरेको बताए । ‘पछिल्ला दिन परिसरमा दर्ता भएकामध्ये अधिकांश मुद्दा चेक बाउन्सकै छन् । प्रत्येक दिन २०–२५ वटा चेक बाउन्सकै मुद्दा आउँछन् । दैनिक सरदरमा डेढ करोड रुपैयाँको चेक बाउन्सका मुद्दा दर्ता हुने गरेका छन्,’उनले भने ।

सात महिनामा ३ अर्बको चेक बाउन्स 
दैनिक सरदर एक करोड ५० लाख रुपैयाँका चेक बाउन्सको मुद्दा पर्दा महिनामा ४५ करोड रुपैयाँको मुद्दा प्रहरी कार्यालयमा आउने गरेको छ । आर्थिक वर्ष ०७४-७५ को माघसम्म महानगरीय प्रहरी परिसर काठमाडौंमा मात्रै चेक बाउन्ससम्बन्धी १ सय ३० मुद्दा दर्ता भएका छन् । यस आधारमा चालू आर्थिक वर्षको पछिल्ला सात महिनामा महानगरीय प्रहरी परिसरमा मात्रै तीन अर्ब १५ करोड रुपैयाँको चेक बाउन्सको उजुरी परेको देखिन्छ ।

‘पछिल्ला दिन चेक बाउन्सका उजुरी ह्वात्तै बढेका छन् । अहिलेसम्म कति रुपैयाँको चेक बाउन्स भयो ठ्याक्कै तथ्यांक निकाल्न सकिएको छैन । तर, सरदर हिसाब गर्दा अर्बौँ रुपैयाँ देखिन्छ,’ परिसरका डिएसपी थापाले भने ।

केही मुद्दा थप कारबाहीका लागि अदालत पुगेका छन् । प्रहरी कार्यालयमा आएका अधिकांश मुद्दा अदालत नपुगी आपसी छलफलमै टुंगिने गरेका छन् ।

बाउन्सको अवधि वर्ष दिन मात्रै
चेक बाउन्ससम्बन्धी मुद्दाको अनुसन्धान गर्ने अधिकार प्रहरीलाई दिइएपछि बाउन्सको अवधि घटाइएको छ । जसअनुसार पीडितले चेक जारी भएको मितिले वर्ष दिनभित्र बाउन्स गरिसक्नुपर्छ । र, लगत्तै प्रहरी कार्यलयमा उजुरी पेस गरिसक्नुपर्छ । वर्ष दिन नाघेको उजुरी भने प्रहरीलाई हेर्ने अधिकार छैन । त्यसअघि भने चेक बाउन्स अवधि पाँच वर्ष तोकिएको थियो । त्यसवेला सम्बन्धित जिल्ला अदालतले यो मुद्दा हेर्ने गथ्र्यो ।

पाँच करोडको एउटै चेक बाउन्स
परिसरमा पाँच करोडको एउटै चेक बाउन्सको उजुरी पनि परेको छ । मुद्दा शाखाका प्रमुख डिएसपी मोहन थापाले उजुरीमाथि छानबिन भइरहेको बताए । यो मुद्दामा ठूलै घराना मुछिएको बताउँदै थप खुलाउन चाहेनन् । ‘पाँच करोड रुपैयाँसम्मका चेक बाउन्स भएको उजुरी हामीकहाँ दर्ता भएका छन् । हिजोआज हामीकहाँ दर्ता हुने उजुरी सबैभन्दा धेरै चेक बाउन्सकै छन्,’ उनले भने ।

यसरी फसे सुकुमान

काभ्रे तेमाल–४ का ५० वर्षीय सुकुमान तामाङले काठमाडौं भोटेबहालकी ४५ वर्षीया सोफिन रन्जितलाई विद्यालय सञ्चालनका लागि भन्दै ३७ लाख १० हजार रुपैयाँ क्यास दिए । पछि पैसाको खाँचो परेपछि सोफिनसँग आफ्नो पैसा फिर्ता मागे । तर, सोफिनले आलटाल गरिन् । दबाबपछि सोफिनले १० लाख ६० हजार, ४ लाख, ८ लाख, ७ लाख पचास हजार र सात लाख रुपैयाँका पाँचवटा चेक दिइन् । सुकुमान बैंक पुग्दा खातामा रकम थिएन । रन्थनिएका सुकुमान फेरि सोफिनकहाँ पुगे । तर, सोफिनले वास्ता नगरेपछि १० लाख ६० हजारको चेक बाउन्स गरी महानगरीय प्रहरी परिसरमा उजुरी दिन गए ।  शुक्रबार परिसरको मुद्दा फाँटमा भेटिएका उनले भने, ‘विश्वासमा ऋण दिएँ । तर, अहिले फन्दामा परेँ । पाँचवटा चेक छन् । कुनै पनि साटिएको छैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?