पहिले विद्यार्थी खोज्दै, अहिले रोज्दै

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन १७, २०७५
|
|
५९ पटक हेरिएको
Shares
पहिले विद्यार्थी खोज्दै, अहिले रोज्दै

सारांश

  • कास्की, १७ असोज ।
  • पोखरा महानगरपालिका–१२ मा सञ्चालित शीतलादेवी सामुदायिक माध्यामिक विद्यालय दुई दशकमा उल्लेख्य शैक्षिक फड्को मार्न सफल भएको छ ।
  • कुनै समय विद्यालयमा विद्यार्थी नभएर भर्नाको लागि घरघरमा खोज्दै हिँड्नुपर्ने अवस्था थियो ।

कास्की, १७ असोज । पोखरा महानगरपालिका–१२ मा सञ्चालित शीतलादेवी सामुदायिक माध्यामिक विद्यालय दुई दशकमा उल्लेख्य शैक्षिक फड्को मार्न सफल भएको छ । कुनै समय विद्यालयमा विद्यार्थी नभएर भर्नाको लागि घरघरमा खोज्दै हिँड्नुपर्ने अवस्था थियो । अहिले विद्यार्थीको चाप धान्न नसकेर रोजेर भर्ना लिनुपर्ने अवस्था छ । सामुदायिकमा शैक्षिक गुणस्तर खस्केर नीजि विद्यालयप्रतिको आकर्षण बढिरहेको बेला शीतलादेवी भने उत्कृष्ट नतिजाको कारणले सरकारी मूल्याङ्कनमा सर्वोत्कृष्ट हुँदै आएको छ । एसइईमा राम्रो नतिजा ल्याउन सफल सो विद्यालय देशभरका ३४ हजार सामुदायिक विद्यालयमध्येबाट २०७३ र २०७५ सालमा उत्कृष्ट बनेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित भएको थियो ।

विसं २०७४ को एसइई परीक्षा नजिताको आधारमा शिक्षा मन्त्रालयले विद्यालयलाई सो पुरस्कार प्रदान गरेको हो । एसइई परीक्षा २०७४ मा सहभागी विद्यार्थीमध्येबाट विद्यालयका छात्रा अर्चना सापकोटाले चार जिपिए ल्याउन सफल भएकी थिइन् भने अन्य विद्यार्थीको पनि नतिजा राम्रो रहेको विद्यालयले जनाएको छ । दुई दशकअघि १५ देखि २० विद्यार्थी पढ्ने सो विद्यालयमा अहिले नर्सरीदेखी १२ कक्षासम्म ८२५ विद्यार्थी अध्ययनरत छन् ।

“विद्यार्थी नभएर घरदैलो गरेर ल्याउनुपर्ने अवस्था थियो , अहिले विद्यार्थी रोजेर भर्ना गर्नुपर्ने अवस्था छ,” विद्यालयका वरिष्ठ सल्लाहकार डा अनिल सुवेदी बताउनुहुन्छ, “त्यसबेला कसरी विद्यार्थी ल्याउने भन्ने चिन्ता हुन्थ्यो, १५÷२० बालबच्चा पनि निम्न वर्ग र समुदायका मात्र हुन्थे ।” दुई दशकमै सरकारी विद्यालयमध्ये देशमै सर्वोत्कृष्ट भएको छ । विद्यालयले हासिल गरेको अहिलेको उपलब्धिलाई कायमै राख्नुपर्ने चुनौती रहेको उहाँको भनाइ छ ।

विद्यालयको अहिलेको सफलतामा शैक्षिक वातावरण राम्रो बनाउन निरन्तर लागिपर्ने विद्यालय व्यवस्थापन समिति, शिक्षकको मिहिनेत तथा समुदायको विद्यालयप्रतिको चासो नै हो । विसं २०५५ मा शीतलादेवीमै बालबालिका भर्ना गर्न आग्रह गर्दै अभिभावकलाई मनाउँदै हिँड्नुपरेको अनुभव उहाँले सुनाउनुभयो । “उक्त समयमा बोर्डिङमा पढाउने चलन शुरु भएको थियो, घरनजिकैको विद्यालय छाडेर अभिभावक निजी विद्यालयप्रति आकर्षित थिए” सुवेदीले भन्नुभयो, “घरघरमा पुगेर दोहो¥याइ दोहो¥याइ पनि अभिभावकलाई सम्झाउँथ्यौँ ।”

विसं १९८८ मा भाषा पाठशालाको रूपमा खुलेको विद्यालय २०२१ सालमा माटेपानी प्राथमिक विद्यालयको रूपमा सञ्चालनमा आयो । विसं २०५७ मा विद्यालयलाई समुदायमा हस्तान्तरण गर्ने सरकारी नीतिअनुसार सामुदायिक विद्यालयको रूपमा रहेको विद्यालयले २०६४ सालदेखि अङ्गे्रजी माध्यमबाट शिक्षण शुरु गरेपछि अभिभावकको विद्यालयतर्फ आकर्षण बढेको प्रधानाध्यापक बाबुराम अधिकारी बताउनुहुन्छ ।

विद्यालयले २०६१ सालदेखि २०६४ सम्म नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट शिक्षण गर्दै आएकामा अङ्ग्रेजी शिक्षाप्रति अभिभावकको मोह बढेपछि २०६४ देखि अङ्ग्रेजी माध्यमबाट मात्र पठनपाठन गरिँदै आएको छ । नेपाली भाषाको माध्यममा मात्र पढाइ सञ्चालन गर्दा ७३ विद्यार्थी रहेको सो विद्यालयमा अङ्ग्रेजी माध्यममा कक्षा शुरु गरेपछि विद्यार्थीको सङ्ख्या ह्वात्तै बढेको छ । “अङ्ग्रेजी माध्यममा पढाइ शुरु गरेपछि कहिल्यै विद्यार्थीको कमी भएन”, उहाँले भन्नुभयो ।

वर्षेनी विद्यार्थी बढ्दै गएपछि अहिले प्रवेश परीक्षा लिएर मात्र भर्ना लिने गरिएको छ । विश्वसनियता बढाउन र अभिभावकलाई आश्वस्त पार्न डिकोडिङ गरेर प्रवेश परीक्षा सञ्चालन गर्ने गरिएको छ । पोखरा महानगरपालिका– १२ का साथै वडा नं ११ र १३ का समेत विद्यार्थी अध्ययनका लागि यहाँ आउने गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाबहादुर कार्की समुदायको सहयोगबाट नै विद्यालयले प्रगति हासिल गरेको बताउनुहुन्छ । विद्यालयको शैक्षिक नतिजा राम्रो हुनुमा निरन्तर लागिपर्ने शिक्षकको साथसाथै समुदायको पनि महत्वपूर्ण हात रहेको छ । पन्ध्र रोपनी क्षेत्रफलमा फैलिएको सो विद्यालय शैक्षिक गुणस्तरका साथै भौतिक पूर्वाधारमा पनि धनी छ । विद्यालयमा दुई पक्की तीनतले भवन छन् । विद्यार्थीलाई आवश्यक कम्प्युटर र विज्ञान प्रयोगशालालगायतको सुविधा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारी सञ्चयकोषमा २८ पदका लागि जागिर खुल्यो
कर्मचारी सञ्चयकोषमा २८ पदका लागि जागिर खुल्यो
प्रियंका कार्कीका पूर्व श्रीमान् रोचकले अर्को विवाह गर्दै
प्रियंका कार्कीका पूर्व श्रीमान् रोचकले अर्को विवाह गर्दै
चर्चामा पारस शाह र सोनिया रोकायको हिमचिम (भिडियो सहित)
चर्चामा पारस शाह र सोनिया रोकायको हिमचिम (भिडियो सहित)
राजेश हमाल एमाले प्रवेश गरेर प्रधानमन्त्री बन्ने दाउमा
राजेश हमाल एमाले प्रवेश गरेर प्रधानमन्त्री बन्ने दाउमा
एमाले सचिवालय बैठक : कोशी प्रदेश सरकार भंग गर्न माग
एमाले सचिवालय बैठक : कोशी प्रदेश सरकार भंग गर्न माग
राष्ट्रपति भण्डारीले गरिन् शीर्ष नेताहरू र नवनिर्वाचित राष्ट्रपति पौडेलसँग बिदाइ भेट
राष्ट्रपति भण्डारीले गरिन् शीर्ष नेताहरू र नवनिर्वाचित राष्ट्रपति पौडेलसँग बिदाइ भेट
उदयपुरमा पहिलो महिला भेला सम्पन्न
उदयपुरमा पहिलो महिला भेला सम्पन्न
मुलुक विकास नहुनुको कारण राजनीतिक अस्थिरता : महासचिव पोखरेल
मुलुक विकास नहुनुको कारण राजनीतिक अस्थिरता : महासचिव पोखरेल
बाह्र दिनदेखि हराएका गुरुङ मृत भेटिए
बाह्र दिनदेखि हराएका गुरुङ मृत भेटिए
कोलम्बियामा कोरोना रोकथाममा खटिएका सात सैनिकद्वारा आदिवासी किशोरीमाथि बलात्कार
कोलम्बियामा कोरोना रोकथाममा खटिएका सात सैनिकद्वारा आदिवासी किशोरीमाथि बलात्कार

तपाईंले छुटाउनुभयो कि?