३३ जिल्लामा आकस्मिक बाढीको जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

Asmita-Newsdesk Asmita-Newsdesk
|
सोमबार, भाद्र १, २०८३
|
|
७ पटक हेरिएको
Shares
३३ जिल्लामा आकस्मिक बाढीको जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

सारांश

  • लगातार परेको वर्षाका कारण मुलुकका तीन दर्जनभन्दा बढी जिल्लाका स–साना नदी तथा खोलाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम बढेको भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ।
  • जलसतह तीव्र रूपमा बढिरहेकाले नदी तटीय तथा डुबान भइरहने होचा क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको हो।
  • विभागले जारी गरेको पछिल्लो बुलेटिनअनुसार बर्दियास्थित किरिन नदी जलमापन केन्द्रमा जलसतहले सतर्कताको रेखा पार गरिसकेको छ।

लगातार परेको वर्षाका कारण मुलुकका तीन दर्जनभन्दा बढी जिल्लाका स–साना नदी तथा खोलाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम बढेको भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ। जलसतह तीव्र रूपमा बढिरहेकाले नदी तटीय तथा डुबान भइरहने होचा क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको हो।

विभागले जारी गरेको पछिल्लो बुलेटिनअनुसार बर्दियास्थित किरिन नदी जलमापन केन्द्रमा जलसतहले सतर्कताको रेखा पार गरिसकेको छ। नदीमा पानीको बहाव निरन्तर बढ्दो क्रममा रहेकाले बर्दियाका तल्लो तटीय क्षेत्र तथा डुबानको जोखिममा रहेका बस्तीहरूमा विशेष सतर्कता आवश्यक मानिएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरसहित बागमती, कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका ३३ जिल्लाबाट बहने स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ। मनसुन सक्रिय रहेकाले हिमाली, पहाडी तथा तराईका यी जिल्लाहरूमा आकस्मिक बाढी आउन सक्ने औँल्याइएको छ।

पहाडी क्षेत्रमा पहिरो र तराईका होचा भूभागमा डुबानको खतरा रहेकाले नदी किनारका बासिन्दालाई पूर्वतयारी अवस्थामा रहन सुरक्षा निकाय तथा स्थानीय प्रशासनले पनि आग्रह गरेका छन्। सर्वसाधारणलाई नदी आसपासका क्षेत्रमा नजान र मौसमसम्बन्धी अध्यावधिक सूचनामा ध्यान दिन भनिएको छ। सम्भावित जोखिमयुक्त क्षेत्रमा निरन्तर अनुगमन भइरहेको विभागले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?