नरैनापुरमा संस्थागत सुत्केरी बढ्दै, १ हजार १५१ महिलाले लिए प्रसूति सेवा
सारांश
- संस्थागत प्रसूति सेवा र स्वास्थ्य चेतनाको विकाससँगै बाँकेको दुर्गम नरैनापुर गाउँपालिका सुरक्षित मातृत्व सेवामा सुधार गर्दै गएको छ।
- वडास्तरमै २४ सै घण्टा वर्थिङ सेन्टर र निःशुल्क एम्बुलेन्स सुविधा पुगेपछि स्थानीय महिलाहरूमा घरमै सुत्केरी हुने प्रवृत्ति घट्दै गएको छ।
- स्थानीय सरकारको निरन्तर लगानी, स्वास्थ्यकर्मीको समर्पण र महिला स्वयंसेविकाहरूको निरन्तर परामर्शका कारण नरैनापुरका ६ वटै वडाका दुर्गम बस्तीसम्म सुरक्षित मातृत्वबारे जनचेतना व्यापक रूपमा फैलिएको हो।
संस्थागत प्रसूति सेवा र स्वास्थ्य चेतनाको विकाससँगै बाँकेको दुर्गम नरैनापुर गाउँपालिका सुरक्षित मातृत्व सेवामा सुधार गर्दै गएको छ। वडास्तरमै २४ सै घण्टा वर्थिङ सेन्टर र निःशुल्क एम्बुलेन्स सुविधा पुगेपछि स्थानीय महिलाहरूमा घरमै सुत्केरी हुने प्रवृत्ति घट्दै गएको छ।
स्थानीय सरकारको निरन्तर लगानी, स्वास्थ्यकर्मीको समर्पण र महिला स्वयंसेविकाहरूको निरन्तर परामर्शका कारण नरैनापुरका ६ वटै वडाका दुर्गम बस्तीसम्म सुरक्षित मातृत्वबारे जनचेतना व्यापक रूपमा फैलिएको हो। पहिले अन्तिम अवस्थासम्म स्वास्थ्य संस्था नआउने महिलाहरू अहिले नियमित गर्भ परीक्षण गराउन आफैँ अग्रसर हुन थालेका छन्।
गत आर्थिक वर्ष २०८२-८३ मा नरैनापुरका विभिन्न प्रसूति केन्द्रबाट १ हजार १५१ जना महिलाले सुरक्षित रूपमा संस्थागत सुत्केरी सेवा लिएका छन्। वडा नम्बर १ देखि ६ सम्मका सबै स्वास्थ्यचौकीमा दक्ष स्वास्थ्यकर्मीबाट २४ सै घण्टा सेवा प्रवाह गरिएकाले यो सकारात्मक उपलब्धि सम्भव भएको हो।
गाउँपालिकाले गर्भवती महिलालाई प्रसूति केन्द्रसम्म ल्याउन र जटिल अवस्था आएमा निःशुल्क एम्बुलेन्समार्फत तत्काल भेरी अस्पताल नेपालगञ्ज रेफर गर्ने व्यवस्था मिलाएको छ। यस सहज व्यवस्थापनले गर्दा गरिब तथा पहुँचविहीन परिवारका महिलाहरूलाई समेत गुणस्तरीय सेवा लिन राहत पुगेको छ।
स्थानीय आमाहरूको बढ्दो आत्मविश्वास र सोचमा आएको परिवर्तनले नरैनापुरलाई सुरक्षित प्रसूति सेवामा पहुँच बढाउन सहयोग पुगेको छ। कुनै समय सामान्य उपचारका लागि पनि भारत वा नेपालगञ्ज पुग्नुपर्ने बाध्यता झेलेको यो क्षेत्र अहिले आफ्नै गाउँमा भरपर्दो प्रसूति सेवा दिन सफल भएको छ।
प्रतिक्रिया