कोरियाको कमाइ आफ्नै माटोमा: कृषिबाटै वार्षिक ७० लाख कमाउँछन् इलामका सन्देश

Asmita-Newsdesk Asmita-Newsdesk
|
मंगलबार, भाद्र ९, २०८३
|
|
४ पटक हेरिएको
Shares
कोरियाको कमाइ आफ्नै माटोमा: कृषिबाटै वार्षिक ७० लाख कमाउँछन् इलामका सन्देश

सारांश

  • वैदेशिक रोजगारबाट फर्केका युवाहरू सहरकेन्द्रित भई अनुत्पादनक क्षेत्रमा लगानी गरिरहेको समयमा इलाम चुलाचुलीका एक युवा भने आफ्नै माटोमा पसिना बगाएर उदाहरणीय उद्यमी बनेका छन्।
  • दक्षिण कोरियामा पाँच वर्ष बिताएर फर्किएका चुलाचुली गाउँपालिका-१ चौबिसेका सन्देश नेम्बाङले वैदेशिक रोजगारको कमाइलाई गाउँमै कृषि तथा पशुपालनमा लगाएर सफल स्वरोजगारको नमूना पेस गरेका हुन्।
  • नेम्बाङले २०७६ सालमा ‘साम्बाङ एग्रो फार्म’ दर्ता गरी आफ्नै दुई बिघा र १५ बिघा भाडाको जमिनमा व्यावसायिक कृषि तथा पशुपालन सुरु गरेका हुन्।

वैदेशिक रोजगारबाट फर्केका युवाहरू सहरकेन्द्रित भई अनुत्पादनक क्षेत्रमा लगानी गरिरहेको समयमा इलाम चुलाचुलीका एक युवा भने आफ्नै माटोमा पसिना बगाएर उदाहरणीय उद्यमी बनेका छन्। दक्षिण कोरियामा पाँच वर्ष बिताएर फर्किएका चुलाचुली गाउँपालिका-१ चौबिसेका सन्देश नेम्बाङले वैदेशिक रोजगारको कमाइलाई गाउँमै कृषि तथा पशुपालनमा लगाएर सफल स्वरोजगारको नमूना पेस गरेका हुन्।

नेम्बाङले २०७६ सालमा ‘साम्बाङ एग्रो फार्म’ दर्ता गरी आफ्नै दुई बिघा र १५ बिघा भाडाको जमिनमा व्यावसायिक कृषि तथा पशुपालन सुरु गरेका हुन्। कोरियामा सिकेको आधुनिक प्रविधिलाई सदुपयोग गर्दै २५ लाख रुपैयाँको प्रारम्भिक लगानीबाट थालिएको यो व्यवसाय अहिले करोडौँको पुगिसकेको छ, जसबाट उनले वार्षिक ७० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्।

पशुपालनतर्फ फार्ममा २४ वटा गाई-भैँसी रहेका छन् भने दैनिक १२० लिटरभन्दा बढी दूध स्थानीय सहकारीमार्फत बिक्री हुने गरेको छ। पशुपालनका लागि ५ बिघामा आधुनिक घाँस खेती र मासुका लागि राँगापालन समेत सुरु गरिएको छ। यस्तै १० बिघा जमिनमा टमाटर, सिमी, काँक्रा लगायतका तरकारी खेती गरी झापाको दमक बजारमा बिक्री गरिँदै आएको छ।

आफू र श्रीमती स्वयम् खटेर चलाएको यस फार्मले पाँच जना युवालाई मासिक २० हजार रुपैयाँ तलबसहित आवासीय रोजगारी समेत दिएको छ। सङ्घीय र प्रदेश सरकारका अनुदान कार्यक्रमबाट सुरुवाती चरणमा सहयोग पाएका नेम्बाङले वास्तविक किसानसम्म राज्यको प्रोत्साहन पुग्नुपर्ने र उत्पादनको मूल्य स्थिर हुनुपर्ने अनुभव बटुलेका छन्।

नेम्बाङको यो प्रयासले युवापुस्तालाई स्वदेशमै उनको प्रयासले अन्य युवालाई पनि कृषि उद्यमतर्फ आकर्षित गरेको स्थानीयको भनाइ छ। अनुत्पादक क्षेत्रको खर्च कटौती गरी माटोमै पसिना सिञ्चित गर्दा आत्मनिर्भर बन्न सकिन्छ भन्ने तथ्यलाई उनको यो सफलताले देखाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?