आजको दिन श्रमिकको दिन
सारांश
- काठमाडौँ, १८ वैशाख- आज मे महिनाको पहिलो दिन, श्रम गरेर खाने श्रमिकको दिवस ।
- अर्थात ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा आज विश्वभर १२९औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ।
- श्रमिक दिवसको अवसरमा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले शुभकामना दिएका छन् ।
काठमाडौँ, १८ वैशाख- आज मे महिनाको पहिलो दिन, श्रम गरेर खाने श्रमिकको दिवस । अर्थात ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा आज विश्वभर १२९औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ।
श्रमिक दिवसको अवसरमा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले शुभकामना दिएका छन् । सरकारले आज सार्वजनिक विदा पनि दिएको छ ।
सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाउन थालिएको थियो ।
अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भएपछि नखुलेपनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो । प्रहरीको गोली लागी सात मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहास छ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन शुरु भएको थियो ।
विश्वका मजदुरले सो दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दवाव दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन्।
नेपालमा समेत मजदूर संगठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने तयारी गरेका छन्। नेपालमा विराटनगरमा विसं २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो।
यस वर्ष नेपाल टेड युनियन महासंघजिफन्ट, अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन काँग्रेस, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल लोकतान्त्रिक ट्रेड युनियन महासंघ स्वतन्त्र लगायतका मजदूर संगठनले सभालगायत विविध कार्यक्रम गरी मनाउन लागेको जनाएका छन्।
प्रतिक्रिया