आज महाअष्टमी : महागौरीको उपासनासँगै बली दिएर देवीको विशेष पूजा गरिँदै

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन १७, २०७९
|
|
४८ पटक हेरिएको
Shares
आज महाअष्टमी : महागौरीको उपासनासँगै बली दिएर देवीको विशेष पूजा गरिँदै

सारांश

  • आज नवरात्रको आठौं दिन ।
  • नवदुर्गामध्येकी आठौं महागौरीको उपासना गरिन्छ ।
  • श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः ।

आज नवरात्रको आठौं दिन । नवदुर्गामध्येकी आठौं महागौरीको उपासना गरिन्छ ।

श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः ।
महागौरी शुभं दद्यान्महादेवप्रमोदया ।।

महादेवको प्रिय महागौरीको स्वरुप अनुपम रहेको छ । महागौरी स्वरुप सेतो साँढेमा सेतै कपडा लगाएर सवारी गर्ने र वर्ण पनि गोरो रहेको छ ।
महागौरीको पूजाआराधनाले मनुष्यमा रहेको अनेक दोष हट्ने पूर्वजन्ममा गरेका पापसमेत नाश हुने विश्वास रहेको छ । महागौरीको भक्तिले अलौकिक सिद्धि प्राप्त हुने जनविश्वास छ ।

नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।

आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । आजको दिनलाई महाअष्टमी पनि भनिन्छ । देशभरका शक्तिपीठहरूमा आज विशेष पूजाआजा हुने गर्छ ।

शक्तिपीठहरूमा पशुबली दिई दुर्गा अभवानीको विशेष पूजा गरिन्छ । महाअष्टमीका दिन सबैले आ–आफ्नो परम्पराअनुसार पशुबली दिने प्रचलन छ । पशु बली नदिनेले पनि नरिवल, कुभिण्डो, केरा, घिरौँला आदिको बली दिने गर्छन ।

आजै हनुमानढोकाको दसैंघरमा रहेको मूल चोमा तलेजु भवानीलाई ५४ वटा राँगा र ५४ वटा बोकाको बली दिइन्छ । आजकै दिन घरमा प्रयोग गरिएका हातहतियार, मेसिनको साथै सवारीसाधनहरूको पशु बलीसहित पूजा गर्ने प्रचलन छ ।

नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुईँचो लाग्ने गर्छ । विशेषगरी काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, भक्तपुरको नाला भगवती, पलाञ्चोक भगवतीको मन्दिर, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजाआराधना हुने गर्छ ।

(https://www.banucciteam.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?