आरन मै खुशी छन् हस्तबहादुर

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन १६, २०७५
|
|
४१ पटक हेरिएको
Shares
आरन मै खुशी छन् हस्तबहादुर

सारांश

  • हेटौँडा , १६ फागुन, आजका धेरै युवालाई आरनका बारेमा थाहा नहुन सक्छ ।
  • चुलेसी, ओदान, कोरेसो, तावा, ताई, फाली, कब्जा, झिर जस्ता दैनिक जीवनका औजारहरु बनाउने ठाउँ हो आरन ।
  • यस्ता औजार आजभोलि खासै प्रचलनमा आउँदैनन् ।

हेटौँडा , १६ फागुन, आजका धेरै युवालाई आरनका बारेमा थाहा नहुन सक्छ । चुलेसी, ओदान, कोरेसो, तावा, ताई, फाली, कब्जा, झिर जस्ता दैनिक जीवनका औजारहरु बनाउने ठाउँ हो आरन । यस्ता औजार आजभोलि खासै प्रचलनमा आउँदैनन् । कँचिया, हँसिया, खुर्पा, दाउ, कुटो, कोदालो र खुकुरी पनि यही घरेलु उद्योगमा बन्छ ।

हेटौँडा–६ चौघडामा सानो आरन छ । यहाँ खुकुरी, हँसिया, कँचिया, कुटो, कोदालो जस्ता किसानले प्रयोग गर्ने औजारहरु राखिएका छन् । अनि यहाँ काम गरिरहनुभएको छ हस्तबहादुर विश्वकर्मा । उमेरले ६४ वर्ष पुग्नुभएका विश्वकर्माको जोश र जाँगर भने तन्नेरीहरुको भन्दा कम छैन । वरिपरिका किसानका औजारलाई अर्जापी दिने मात्र हैन यो उमेरमा पनि आफैं नयाँ औजार बनाएर बेच्नु पनि हुन्छ । आकार हेरेर खुकुरीको एक हजार ८०० देखि माथि ४ हजारसम्म, कोदालो ७०० सयदेखि १ हजार ८०० सम्म, हँसिया ३०० देखि ५०० सम्म र कँचिया २०० देखि ३०० रुपैयाँसम्म पर्ने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार खुकुरी बनाउन पर्ने मेहनतको मात्रै ९५ प्रतिशत ज्याला लाग्छ । कवाडमा ५० रुपैयाँ किलोमा पाइने गाडीको स्प्रिङ्ग पत्तालाई चम्किलो र आकर्षक खुकुरी बनाउन दुई दिन लाग्छ । “दुई दिनको कठोर मेहनत पर्ने खुकुरीको दुई हजार ज्याला त लिनै प¥यो नि, हैन र ?,” उहाँले प्रश्नसहित खुकुरी महङ्गो पर्नाका कारण खोल्नुभयो ।

काभ्रेपलाञ्चोकमा जन्मनुभएका विश्वकर्मा आफ्नो बुबाआमासँग २०२७ सालमा मकवानपुरको हात्तीसुढे भन्ने ठाउँमा बसाइँ सर्नुभयो । त्यहाँ नै उहाँले आरन चलाउन सिक्नुभयो । बुबालाई सघाउँदा सघाउदै सिद्धहस्त बन्नुभएका विश्वकर्मा पाँच वर्ष अगाडि मात्रै हेटौँंडा बसाइँ सर्नुभएको हो । उहाँ आउनुअघि यस क्षेत्रमा आरन थिएन । त्यसअघि स्थानीय बासिन्दालाई निक्कै नै समस्या रहेको स्थानीयवासी मिथिला देवकोटा स्मरण गर्नुभयो । देवकोटाका अनुसार हँसिया, कँचिया र कुटा कोदाला अर्जाप्नु पर्दा चार पाँच किलोमिटर टाढा जानु पथ्र्याे । स्थानीयवासी तारादेवी सापकोटालाई पनि नजीकै आरन भएकामा सजिलो लागेको छ ।

तीन छोराका पिता विश्वकर्माका जेठो छोरोले मात्र पुख्र्यौली पेशा अङ्गालेका छन् । उनले हेटाँैंडाकै बस्तीपुरमा आरन खालेका छन् । माइला र कान्छा दुइभाइ भने अरु नै पेशा गर्छन् भन्नुहुन्छ हस्तबहादुर । घरमा श्रीमती, कान्छो छोरो, बुहारी र तीन नातिनातिनासँगै बस्नुभएका विश्वकर्मालाई दैनिक खर्च धान्न र नून तेल किन्न यो पेशाले पुगेको छ । “म दैनिक एक हजार रुपैयाँ बस्ने गरी काम गर्छु तर, कति दिन काम पनि नगरी बस्छु, त्यही भएर महिनामा १५ देखि २० हजारसम्म कमाइ हुन्छ होला,” उहाँले कमाइको अवस्थाबारे यसरी बताउनुभयो ।

यो उमेरमा यस्तो काम गर्दा गाह्रो हुन्न ? भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ – “म अहिले पनि एक्लै खुकुरी बनाउन सक्छु । सकुञ्जेल काम गर्नुपर्छ, काम गर्न छोड्यो भने पो बूढो भइन्छ त !”

‘दलित’ शब्द र राज्यले दलितहरुलाई भनेर प्रदान गर्ने विशेष सुविधाको विरोध गर्ने विश्वकर्मा त्यस्तो सुविधाहरुमा पनि विभेद भइआएको जिकिर गर्नुहुन्छ । जीवनकालमा दलित भएकै कारण अमानवीय व्यवहार भोग्नु परेको उहाँको अनुभव छ । अहिलेको आधुनिक र शिक्षित समाजभित्रका कथित ठूला जात भनिएकाहरुले गर्ने व्यवहारबाट सा¥है चित्त दुखेको बताउने उहाँलाई रक्सी खाने, सुँगुर खाने अनि आफूलाई ठूलो जात भन्नेहरुले आफूहरुसँग बसेर चिया खान हिच्किच्याएको देख्दा अनौठो लाग्छ । हेटौँडामा हातमा गन्न सकिने सङ्ख्यामा मात्रै आरन छन् । परम्परागत आरनको सङ्ख्या भने घट्दो रहेको सरोकारवाला बताउँछन् ।

हेटौँडा हरित नगरी हो । यहाँका प्रायः घरमा केही न केही बोट बिरुवाहरु रोपिएका छन् । मुख्य बजार बाहेक धेरै नगरवासीको सानो ठूलो करेसाबारी छ । उपमहानगरपालिकाले नै जनतालाई करेसाबारीतर्फ आकर्षण गर्न तालीमसमेत प्रदान गर्दैआएको छ । नगरभित्रै सयौं बिघा जमीनमा धान, गहुँ, मकै, कोदो, अदुवा तथा कयौं प्रकारका तरकारीहरु उत्पादन हुन्छ । ती किसानले प्रयोग गर्ने कृषि औजारको घरेलु मर्मत एवं उत्पादन केन्द्र अर्थात् आरनहरु भने लोप हँुदै गएका छन् । आरन व्यवसायीहरुको पलायनले राज्यको अर्थतन्त्रमै असर परेको बताउनुहुन्छ जातीय मुक्तिको आन्दोलनमा लामो समयदेखि लाग्दै आउनुभएका कमलकुमार विश्वकर्मा । उहाँका अनुसार यो व्यवसायबाट नयाँ पुस्ता टाढिनुका तीन कारण छन् । पहिलो कारण विभेद हो । आरन नै चलाएर बस्दा समाजले गर्ने विभेद झन् बढेर गरेकाले उनीहरुले यो पेशालाई निरन्तरता दिन सकेका छैनन् । दोस्रो, उचित ज्याला पाइँदैन । आरन सञ्चालनका लागि आवश्यक कोइला, काठपातको अभाव हुनु अर्को कारण हो । त्यही भएर आरनलाई आधुनिकीकरण गर्न सकिएको छैन । बाहिरी देशबाट आउने कृषि औजार भन्दा यहाँ बन्ने औजार बलिया हुन्छन् । यहाँको भौगोलिकता अनुसारका औजारहरु बन्ने र ती बीसौं वर्षसम्म पुनः प्रयोग गर्न मिल्ने हुन्छ । आरनलाई आधुनिक कृषि औजार उत्पादन केन्द्रका रुपमा सञ्चालन गरेर नयाँ पुस्तालाई आकर्षण गर्न सकिने उहाँ ठान्नुहुन्छ ।

नयाँ पुस्ताले यो पेशा अपनाउन रुचि नदेखाउँदा किसानलाई पर्ने समस्या त छँदैछ, आरन व्यवसाय र परम्परा नै लोप हुने खतरा बढेको छ । हेटाँैंडा नगरमा पनि आरन लगभग लोप हुने अवस्थामा पुगेको सामाजिक अभियन्ता नयाँ पाइला नेपालका अध्यक्ष विश्व सुनार बताउनुहुन्छ । उहाँका अनुसार काम नपाएर हैन नयाँ पुस्ताले यो पेशा नअङ्गालेर लोप हुने अवस्थामा पुगेको हो । किसानले वैकल्पिक बाटो रोज्ने अनि भविष्यमा आरनको आवश्यकता नै नपर्ने स्थिति आउन सक्नेतर्फ सचेत पार्दै उहाँले नयाँ पुस्तालाई यो पेशातर्फ आकर्षण गर्न सके राम्रो हुने बताउनुहुन्छ । उहाँका अनुसार आरन नहुनु भनेको हतियारको धार हुञ्जेल प्रयोग गर्नु अनि धार सकिए पछि फाल्नु हो । आरन भए कयौं पटक औजारहरुको पुनः प्रयोग गर्न मिल्छ । औजारहरु खरिदमा हुने लगानी पनि बचाउन सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुलुकमा आर्थिक समृद्धिको लागि कांग्रेसलाई विजयी बनाउनु पर्ने : वरिष्ठ नेता पौडेल
मुलुकमा आर्थिक समृद्धिको लागि कांग्रेसलाई विजयी बनाउनु पर्ने : वरिष्ठ नेता पौडेल
मन्त्रिपरिषद्को निर्णय : निगमको अध्यक्षमा खरेल, ठगी मुद्दामा सरकार वादी हुने
मन्त्रिपरिषद्को निर्णय : निगमको अध्यक्षमा खरेल, ठगी मुद्दामा सरकार वादी हुने
जग्गाको नक्सा अनलाइनबाटै लिने व्यवस्था गर्न राष्ट्र बैँकको निर्देशन
जग्गाको नक्सा अनलाइनबाटै लिने व्यवस्था गर्न राष्ट्र बैँकको निर्देशन
प्रधानमन्त्रीले पदबाट हटाउने चेतावनी दिएपछि उपेन्द्र यादव अमेरिकातिर
प्रधानमन्त्रीले पदबाट हटाउने चेतावनी दिएपछि उपेन्द्र यादव अमेरिकातिर
प्रदेश प्रमुख नियुक्त भएकै दिनदेखि भविष्य अन्यौलमा
प्रदेश प्रमुख नियुक्त भएकै दिनदेखि भविष्य अन्यौलमा
Sunny Leone trolled for posting a bold picture with daughter Nisha and hubby Daniel on Father’s Day!
Sunny Leone trolled for posting a bold picture with daughter Nisha and hubby Daniel on Father’s Day!
दीपिका पादुकाेणका २५ मध्ये १५ फिल्म १०० करोड क्लबमाथि
दीपिका पादुकाेणका २५ मध्ये १५ फिल्म १०० करोड क्लबमाथि
डुबेर बेपत्ता भएका दिदी भाईको शव भेटियो
डुबेर बेपत्ता भएका दिदी भाईको शव भेटियो
लिगलिगमा दौडेर राजा छानिने, को बन्ला !
सलमान खानको फिल्म ‘दबंग ३’ को ट्रेलर सार्वजनिक
सलमान खानको फिल्म ‘दबंग ३’ को ट्रेलर सार्वजनिक

तपाईंले छुटाउनुभयो कि?