उपेन्द्र यादवलाई लिएर दुई तिहाई बनाउने ओलीको तयारी
सारांश
- काठमाडौं, १५ फागुन – प्रधानमन्त्री केपी ओलीले सोमबार चार मन्त्री नियुक्त गर्दै दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
- एमाले र माओवादी केन्द्रबाट १५ मन्त्रीलाई एकैपटक शपथ खुवाएर मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी भने लम्बिएको छ ।
- आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले खबर लेखेका छन् ।
काठमाडौं, १५ फागुन – प्रधानमन्त्री केपी ओलीले सोमबार चार मन्त्री नियुक्त गर्दै दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । एमाले र माओवादी केन्द्रबाट १५ मन्त्रीलाई एकैपटक शपथ खुवाएर मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी भने लम्बिएको छ । आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले खबर लेखेका छन् ।
एमालेबाट आठ तथा माओवादीका सातजना मन्त्री नियुक्त गरेर पूर्णता दिने योजनामा प्रधानमन्त्री थिए । तर, संघीय समाजवादी फोरमले पनि सोमबार सरकारमा सहभागी हुने संकेत गरेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी धकेलिएको हो । फोरमलाई परराष्ट्रसहित अर्को एक मन्त्रालय दिएर सरकारमा सहभागी गराउने तयारीमा प्रधानमन्त्री ओली छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितको उपस्थितिमा फोरम अध्यक्ष उपेन्द्र यादवसँग प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको सोमबारको छलफल सकारात्मक दिशामा अघि बढेको प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले बताए ।
विनाविभागीय मन्त्री बन्नबाट यसरी रोकिए पोखरेल
उच्चस्रोतका अनुसार अर्थमन्त्रीमा पोखरेल, सचिव प्रदीप ज्ञवाली र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेबीच तीव्र प्रतिस्पर्धा देखिएपछि प्रधानमन्त्री ओलीले नयाँ विकल्प प्रस्ताव गरेका थिए । खतिवडालाई अर्थमन्त्री बनाउन दृढ रहेका प्रधानमन्त्रीले ज्ञवालीलाई परराष्ट्र र पोखरेललाई विनाविभागीय मन्त्री बनाउने गरी आइतबार बेलुकीसम्म ‘कन्भिन्स’ गरिसकेका थिए । उनलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत विनाविभागीय मन्त्रीका रूपमा सातवटै प्रदेश सरकारको समन्वय गर्ने जिम्मेवारी दिने प्रधानमन्त्रीको तयारी थियो । तर, अन्तिममा विनाविभागीय जिम्मेवारीमा सरकारमा सहभागी नहुने संकेत गरेपछि प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
१. फोरमलाई सरकारमा ल्याउने तयारी
प्रधानमन्त्री केपी ओली सोमबारै सरकारलाई पूर्णता दिने योजनामा थिए । तर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी हुन सकारात्मक बनेपछि योजना बदलियो । ‘सरकारमा सहभागी हुने सन्दर्भमा संघीय समाजवादी फोरम सकारात्मक रहेका कारण उहाँहरूलाई स्वागत गर्नकै लागि मन्त्रिपरिषद्लाई तत्काल पूर्णता नदिइएको हो,’ प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले भने ।
२. संविधान संशोधन गर्ने तयारीमा सरकारमा
सरकारमा सहभागी हुन तयार भएपछि प्रधानमन्त्री ओली र यादवबीच संविधान संशोधन गर्ने सहमति भएको छ । तर, लिखित राजनीतिक सहमतिपछि मात्र सरकारमा आउने फोरमले अडान राखेको छ । ‘संविधानको धारा २७४ संशोधन गर्ने सहमति भएको छ, तर राजनीतिक सहमति नभइसकेकाले सोमबार सरकारमा सहभागी नभएका हौँ,’ फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने, ‘कुरा सकारात्मक दिशामा अघि बढेको छ, उहाँहरूले मानेको ७ प्रदेश र हामीले भनेको १० प्रदेशबीच एक–दुई दिनमा कुरा मिलेपछि सरकारमा सहभागी हुन्छौँ ।’
३. फोरमसँग मन्त्रालय बाँडफाँड टुंगिन बाँकी
सरकारमा सहभागी हुन फोरम तयार भए पनि उसले कुन मन्त्रालय पाउने टुंगो लागेको छैन । माओवादी अध्यक्ष प्रचण्डसहितको उपस्थितिमा सम्पन्न सोमबारको छलफलमा फोरमले परराष्ट्रसहित दुई मन्त्रालय मागेको छ । एमाले परराष्ट्र दिन तयार छ, तर अर्को एक मन्त्रालयबारे माओवादीसँग समेत छलफल गरेर टुंग्याउनुपर्ने भएकाले मन्त्रिपरिषद्लाई तत्काल पूर्णता दिने योजना केही दिन लम्बिएको हो ।
४. एमालेमा मन्त्री बन्नेको रस्साकस्सी
एमालेमा मन्त्रीका आकांक्षी धेरै छन् । अर्थमन्त्रीको दौडमा रहेका ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डेलगायतको सट्टा प्रधानमन्त्री ओलीले विषयविज्ञका रूपमा डा. युवराज खतिवडालाई अर्थमन्त्री बनाए । पोखरेलले खासै रुचि नभएको रक्षा पाएका छन् भने दौडमा रहेका अन्य नेताहरूले पनि रोजाइको मन्त्रालय पाउने सम्भावना कम छ । सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्टसँगै स्थायी समिति सदस्य छविलाल विश्वकर्मा पनि मन्त्रीका दाबेदार छन् । त्यस्तै, भानुभक्त ढकाल, रवीन्द्र अधिकारी, यज्ञराज सुनुवार, वसन्त नेम्वाङ, रघुवीर महासेठ, कृष्णगोपाल श्रेष्ठ, पार्वत गुरुङ, शेरबहादुर तामाङ, गोकुुल बाँस्कोटा, जगत विश्वकर्मा, प्रेम आले, नारदमुनि राना, राजेन्द्र गौतमलगायत डेढ दर्जनभन्दा बढी दौडमा छन् ।
पोखरेललाई रक्षा, थापालाई गृह
एमालेबाट महासचिव ईश्वर पोखरेल रक्षामन्त्री तथा डा. युवराज खतिवडा अर्थमन्त्रीमा नियुक्त भएका छन् । माओवादीबाट नेता रामबहादुर थापा ‘बादल’ गृह र मातृका यादव उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएका छन् । पोखरेलले दोस्रो तथा थापाले तेस्रो वरीयताको मन्त्रीका रूपमा सोमबारै राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिए । जनार्दन शर्मा, वर्षमान पुन र शक्ति बस्नेत पनि गृहको दौडमा थिए ।
पोखरेल एमालेबाट अर्थमन्त्रीका प्रबल दाबेदार थिए । उनी तेस्रोपटक मन्त्रीमा नियुक्त भएका हुन् । ०६० मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा आपूर्ति र ०६९ मा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा उपप्रधानमन्त्री नियुक्त भएका थिए । दोस्रोपटक मन्त्री बनेका थापाले ०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । यादव भने तेस्रोपटक मन्त्री बनेका हुन् । यसअघि ०६५ मा प्रचण्ड नेतृत्वको सरकार र गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा गरी दुईपटक मन्त्री बनेका थिए ।
पोखरेल काठमाडौं– ५ बाट निर्वाचित सांसद तथा खतिवडा राष्ट्रपतिबाट मनोनीत राष्ट्रिय सभा सदस्य हुन् । त्यस्तै, थापा राष्ट्रिय सभाका निर्वाचित सांसद तथा यादव धनुषा– १ बाट निर्वाचित सांसद हुन् ।
३ फागुनमा प्रधानमन्त्री नियुक्ति भएकै दिन प्रधानमन्त्री ओलीले एमालेबाट लालबाबु पण्डित र थममाया थापामगरलाई मन्त्री नियुक्त गर्दै तीनसदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए । पछिल्लो विस्तारसँगै मन्त्रिपरिषद् सातसदस्यीय बनेको छ ।
प्रतिक्रिया