कथा : खरानीको अवशेष -अमिता कडेल
सारांश
- ‘मलाई डिभोर्स चाहियो’-उसले बोलेको यो वाक्य मेरा कानका जाली चिर्दै मुटुमा गएर रोपिए।
- मेरा शरीरका सम्पूर्ण अंगहरु थरर कापे।
- यस्तो लाग्यो,कसैले मेरा शरिरमा हजारौं भोल्टको करेन्ट छोडिदियो।
म कक्षा नौ मा पढ्थें।त्यही कक्षामा भर्ना भएर ऊ हाम्रो स्कुल आयो।पछि थाहा भयो उसको परिवार नै हेटौडाबाट बसाइँसराइ गरेर चितवन आएका रहेछन्।ऊ अब हाम्रै गाउँको बासिन्दा भएको रहेछ र मेरो कक्षाको बिध्यार्थी पनि।पातलो तर अग्लो शरीर भएको ऊ खासै कोहि सँग बोल्दैन थियो।ऊ प्राय:पढी नै रहेको हुन्थ्यो।शिक्षकहरुले पढाउँदा पनि बिच-बिचमा प्रश्नहरु गर्थ्यो।जिज्ञासु थियो। केही न केही सिक्ने चाहना उसको भंगिभावले बताईरहेको हुन्थ्यो।
कक्षा आठसम्म प्रथम हुँदै आएकी म कक्षा नौ मा द्वितीय भएँ। ऊ प्रथम भयो।खै किन हो,आफू द्वितीय भएकोमा मलाई दु:ख लागेन।यस्तो लाग्यो,कोहि मन नजिकैको मान्छे आज म भन्दा खुशी छ र उसको खुशीमा म पनि खुशी हुनु पर्छ।बर्षभरी नै एकपटक पनि म सँग नबोलेको मान्छेले मेरो बर्चस्व तोडेकोमा म किन खुशी थिएँ? मनले सोध्यो र मनैले जवाफ पनि दियो-‘तँ सँग मात्रै हैन ऊ कक्षाका कोहि केटिसँग पनि बोलेको छैन,सायद लजाउँदो हो।’
मनले दिएको जवाफ मनलाई चित्त बुझ्यो।मन सँगै मेरा ओठहरु मुस्कुराए।हुन पनि हो, उसैको सिटमा बस्ने केटा साथी बाहेक ऊ कसैसँग बोल्दैन थियो।केटिहरु सँग त झन उसले नजर जुधाएको कहिल्यै देखिएन।म सँग आक्कल झुक्कल नजर जुध्थ्यो तर ऊ तुरुन्त नजर अन्तै मोड्थ्यो।मन एक किसिमले ढुक्क पनि भयो।अलिकती आकांक्षा पनि जाग्यो कि अरु कसैलाई नहेरोस, मलाई हेरिदियोस।
कक्षा दसको पहिलो दिन स्कुल चौरमा उ सँग जम्का भेट भयो। यस्तो जम्का भेट पहिले पनि नभएको हैन तर ऊ नजर झुकाएर जान्थ्यो। तर आज अचम्म भयो, ऊ मेरो आँखामा हेरेर मुस्कुरायो।म पनि अनायासै मुस्कुराईदिएछु।आज उसले नजर झुकाएन।ऊ एकटकले मलाई हेरेर मुस्कुराई रह्यो ।आज हार्ने पालो मेरो थियो, मैले आफ्ना नजर झुकाएँ।उसले मलाई पढाईमा पनि जित्यो र नजरको लँडाईमा पनि जित्यो। तर यी दुबै हारहरु मलाई स्विकार्य थियो। आफ्नो हारमा पनि म उसको र मेरो प्रेमले पखेंटा हाल्यो। हामी मग्न भएर प्रेममा उड्न थाल्यौं।जीवन यति सुन्दर लाग्न थाल्यो कि मानौं जीवनसँग कुनै गुनासाहरु थिएनन्।ऊ सँधै मलाई पढाईमा जित भन्थ्यो तर म -‘अहँ तिमिले नै जित्नु पर्छ’ भनिदिन्थें।ऊ मलाई केही कुरामा त जित न भन्थ्यो। म मायाँमा जितिदिउँला न भनिदिन्थें।हाम्रो सम्बन्ध स्कुल हुँदै घर परिवारलाई पनि थाहा भयो। ऊ अशल र लगनशील केटा भएको हुनाले परिवारलाई पनि केही आपत्ती थिएन। हाम्रो प्रेमको बाटोमा कुनै काँडेतार थिएन, कुनै अफ्ठेराहरु थिएनन्।
हामी दुबैले SLC उच्च अंक ल्याएर पास गर्यौं।यो पल्ट पनि केही अंकले उसले मलाई जित्यो।यो पल्टको हारमा पनि म असाध्यै खुशी थिएँ। मलाई उ सँग हार्दा आनन्द आउँथ्यो।
उच्च शिक्षा अध्ययनको लागि घर परिवारको सल्लाहमै हामी दुबै राजधानी आयौं। अब त झन हाम्रो प्रेमले उचाई लियो।हामिलाई अब अंगालोमा बाँधिन कुनै अफ्ठेरो थिएन।घर परिवार बाट टाढा हामी प्रेमको उच्चतम बिन्दुमा थियौं।लगभग ५ बर्ष राजधानीमा पढाई र प्रेमको उडान भर्यौं। हामी अब ठिटा ठिटी रहेनौं, यूवा युवती भयौं। जीवनमा समयले आफ्नो रंग भर्दै गयो।उसले एउटा गैर सरकारी संस्थामा project manager को पद पायो।मैले पनि लोकसेवा आयोग पास गरेर दुर संचार संस्थानमा जागिर गर्न थालें। अब जिन्दगीको रथ झन बलियो भएको थियो। घर परिवारको सल्लाह बमोजिम नै हामिले बिवाह गर्यौं।हाम्रो प्रेमले बैधानिकता पायो।
बिवाहको केही महिना पछि ऊ आफ्नो संस्थाको प्रोजेक्ट लिएर प्रोजेक्ट म्यानेजरको हैसियतले पाल्पा जानू पर्ने भयो।प्रेमका शुरुवाती दिनदेखी आज सम्म नछुटेका हामी पहिलो पल्ट छुट्दै थियौं।ऊ मलाई पनि लिएर जान चाहन्थ्यो तर मेरो जागिरको कारणले त्यो सम्भव थिएन।भारी मन लिएर ऊ पाल्पा गयो।जानेबेलाको उसको त्यो उदाश मुहारले मेरो आँखा भरियो।आज पहिलो पल्ट मैले उसका आँखामा पनि आँसु देखें।
ऊ पाल्पा गयो।म आफ्नै जागिरमा ब्यस्त भएँ। गएको केही दिन सम्म घण्टा-घण्टामा फोन गर्थ्यो।राती त झन घण्टौ कुरा गर्थ्यो। म फर्किन्छु भन्थ्यो।म उसलाई सम्झाउँथें। ऊ फोनमै चुम्बन माग्थ्यो, म चुम्बन गरिदिन्थें। यो दूरी दुबैलाई असाध्यै दुखेको थियो।बिस्तारै दिनहरु बिते। उसले फोन गर्न पनि अलिक कम गर्यो।मलाई खुशी नै लाग्यो।हामी अब समय र परिस्थिति अनुकुल चल्न थालेका थियौं।
करिव एक महिना पछि ऊ फर्कियो। यो मिलन आफैमा एउटा स्वर्गानुभूति थियो।प्रेमाभावले हामी दुबै छटपटिएका थियौं। एक अर्काको अंगालोमा कसिएर हामिले त्यो अभाव पूरा गर्यौं।
राजधानीमा फेरि हाम्रो नियमित जीवन बित्न थाल्यो। ऊ र म सँगै जागिरमा जान्थ्यौं र प्राय सँगै फर्किन्थ्यौं। ऊ आफ्नो जागिर सकेर मलाई लिन आउथ्यो।आजभोली ऊ फोनमा कसै सँग कुरा गरिरहन्थ्यो। अफिसको स्टाफ हो भनेर भन्थ्यो। अंग्रेजीमा कुरा गर्थ्यो।नेदरल्याण्डको सहकर्मी हो भन्थ्यो।म उसको काममा त्यति दखल दिन्न थिएँ।
बिस्तारै ऊ अलिकति बदलिएको झैं लाग्न थाल्यो।जागिर सकेर मलाई लिन आउन पनि छोड्यो। अफिसमा धेरै काम छ ढिला हुन्छ भनेर भन्थ्यो। म ट्याक्सीमा अफिसबाट रुम आउँन थालें। ऊ ढिला आउन थाल्यो। कम बोल्ने र त्यति वास्ता नगर्ने गर्न थाल्यो।कहिलेकाहिँ पिएर आउँन थाल्यो। अफिसका साथिले कर गरेर हो भन्थ्यो।हामिमा अब आत्मियता निक्कै कम भएको झैं भएको थियो।यो सबै कुराहरुले म डराउन थालेको थिएँ।केही कुरा सोध्यो भने झर्किन थाल्यो।मलाई हाम्रो प्रेमको जग हल्लिए झैं लाग्न थाल्यो।
एकदिन ऊ नुहाउन पसेको बेला उसको मोबाईलमा म्यासेज आयो। मैले खोलेर हेरें। अंग्रेजीमा लेखिएको त्यो म्यासेज एउटा पति र पत्निमा हुने संवाद जस्तै थियो।veronica नाम बाट आएको त्यो म्यासेजले मेरो सारा ब्रह्माण्ड हल्लियो।म रिसले चिच्याएँ।ऊ बाथरुमबाट निस्कियो। मैले यो के हो भनेर म्यासेज देखाएँ।आज पहिलो पल्ट मैले अर्काको मोबाईल हेरेको आरोपमा उसको हातको झापड खाएँ।
हाम्रो दिनचर्या बदलियो।बोलचाल बन्द भयो। ओछ्यान अलग भयो।म खाना बनाएर नबोली पस्किदिन्थें ऊ खाएर हिँड्थ्यो।म चाहन्थें यो पटक ऊ हारोस र आफ्नो गल्तिको लागि माफी मागोस।तर उसले हार्न चाहेन। हार्ने बानी त मलाई थियो। ऊ त सँधै जित्ने मान्छे।उसको अहमले उसलाई हार्न दिएन।उसको र मेरो बिचमा veronica आईसकेकि रहिछ। उनिहरु बिबाह गरेर नेदरल्याण्ड गएर बस्ने योजनामा रहेछन।
यो सबै भएको करिव एक महिना पछिको वाक्य थियो त्यो-‘मलाई डिभोर्स चाहियो।’
*******************************
शुरुमा त लाग्यो उसको पाउ परूँ , रोउँ , हात जोडेर भिख मागुँ। तर लगत्तै मनले भन्यो-‘तैले सँधै उसको जित र तेरो हारमा खुशी मनाएकी छेस,यो तेरो नियती हो।हार्नु तेरो नियती हो र यसलाई स्विकार गर।तैंले रोएर बचाएको तेरो मायाँले तँलाई कहिँ पनि पुर्याउँदैन।बरु बिस्तारो बिस्तारो तँलाई घाटमा पुर्याउँछ।सँधै हारिरहिस अब आफ्नो मनलाई जित।’
मनको कुरा मलाई मन पर्यो।भुइँमा छरिएका कपका टुक्रा बटुल्दै उसलाई भनें-‘कहाँ हस्ताक्षर गर्नु पर्ने हो भन्नू, गरिदिन्छु।’ उसले मलाई एकोहोरो हेर्यो। उसले सोचेको थियो होला यो रोईकराई गर्छे। आफुलाई नछोड्न भन्दै रुन्छे, गिडगिडाउँछे।मलाई त्यो सबै मनले नगर्न भन्यो। मैले गरिनँ।
अदालतमा हाम्रो सम्बध बिच्छेद भयो।ऊ सँगै उसकी प्रेमिका veronica पनि आएकी थिई। हस्ताक्षर गरिएको सम्बन्ध बिच्छेदको एक प्रती उसले र एक प्रती मैले पायौं।अदालत बाहिर निस्किदै गर्दा उसले सम्बन्ध बिच्छेदको त्यो कागज पट्याएर खल्तिमा जतनले हाल्यो। मैले नजिकैको पसलमा सलाई किनें र त्यही अदालत परिसरमा त्यो कागज डढाएँ।कागज बल्दै गर्दा देखें, कक्षा दसको पहिलो दिन स्कुल चौरमा जम्काभेट भएको त्यो मुहार। मुस्कुराईरहेको त्यो मुहार जलेर खरानी भयो।जलिसकेपछी खरानीका अवशेषहरुमा खोजें, त्यो मुस्कुराईरहेको मुहार कहिँ थिएन।
म केही बेर सम्म त्यहिँ उभिईरहेँ।
‘सरी आरती , म त जिस्किएको थिएँ।मलाई कहिल्यै कसैलाई सताउन मन लागेन। तर खै किन हो तिमिलाई सताउन मन लाग्यो।अरुले माफ गरिदेलान भन्ने लागेन र तिमिलाई सताएँ। माफ गरिदेउ।’
यसो भन्नलाई ऊ कहिल्यै फर्किएर आएन।
प्रतिक्रिया