कांग्रेस र मधेशवादी दलको चुनावी तालमेल अन्यौलमा
सारांश
- काठमाडौं १५ कार्तिक।
- दोस्रो चरणको चुनावका लागि मनोनयन गर्ने समय नजिकिए पनि नेपाली कांग्रेस र मधेस केन्द्रित राजनीतिक दलहरुबीच चुनावी तालमेलको विषयमा अन्यौल कायम रहेको छ।
- दुवै दलहरुबीच तालमेलका लागि अन्तिम कसरत भएपनि पनि दुवै पक्षबीच प्रदेश २ को सीट बाँडफाँटको विषयमा सहमति जुट्न नसक्दा मनोनयन दर्ताको एक दिनअघिसम्म यस्तो अन्यौल देखिएको हो।
काठमाडौं १५ कार्तिक। दोस्रो चरणको चुनावका लागि मनोनयन गर्ने समय नजिकिए पनि नेपाली कांग्रेस र मधेस केन्द्रित राजनीतिक दलहरुबीच चुनावी तालमेलको विषयमा अन्यौल कायम रहेको छ।
दुवै दलहरुबीच तालमेलका लागि अन्तिम कसरत भएपनि पनि दुवै पक्षबीच प्रदेश २ को सीट बाँडफाँटको विषयमा सहमति जुट्न नसक्दा मनोनयन दर्ताको एक दिनअघिसम्म यस्तो अन्यौल देखिएको हो। प्रदेश नम्बर २ मा प्रतिनिधिसभातर्फ ३२ सीट रहेको छ।
प्रदेश २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) बीच सिट बाँडफाँटमा सहमति भए पनि कांग्रेससँग मंगलबार अबेरसम्म पनि सहमति जुट्न सकेन। दुवै पक्षले प्रदेश २ का प्रतिनिधिसभाका ३२ सिटमध्ये २० सिट पाउनुपर्ने जिकिर गर्दै आएका छन्।
कांग्रेस र मधेस केन्द्रित दलले २ नम्बर प्रदेशलाई आ–आफ्नो प्रभाव क्षेत्र मान्दै बढी सिट मागेपछि सहमति जुटाउन सकस परेको हो।
२ नम्बर प्रदेशमा २० सिट दाबी गर्दै आएका फोरम र राजपा १८ मा झरेका छन्। त्यसमा पनि सहमति बन्न सकेको छैन।
सहमति नजुटे शीर्ष नेताको ठाउँमा मात्रै तालमेल गरी अन्य क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा गर्ने दुई पक्षको समझदारी छ। फोरम र राजपाबीच सिट बाँडफाँटमा सहमति भएलगत्तै कांग्रेसका शीर्ष नेतासँग छलफल चलेको थियो। सोमबार राति अबेरसम्म पनि फोरम र राजपासँग कांग्रेस नेताहरूले छलफल गरेका थिए।
राजपा र फोरमसँगको तालमेल लम्बिएका कारण कांग्रेसको उम्मेदवार छनोट गर्न बसेको संसदीय समितिको बैठकसमेत प्रभावित भएको छ। पहाडी जिल्लामा उम्मेदवार छनोट अन्तिम चरणमा पुगे पनि मधेसका क्षेत्रमा निर्णय हुन सकेको छैन।
मंसिर २१ गते हुने दोस्रो चरणको चुनावका लागि बिहीबार मनोनयन दर्ता गर्ने तालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ।
प्रतिक्रिया