काठमाडौंमै ८३ जनामा डेंगु

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र १३, २०७६
|
|
३५ पटक हेरिएको
Shares
काठमाडौंमै ८३ जनामा डेंगु

सारांश

  • काठमाडौं ।
  • काठमाडौं महानगरमा ८३ जनामा डेंगुको संक्रमण देखिएको छ ।
  • गत साउन २७ गते पहिलो पटक महानगरको वडा नम्बर १५ मा डेंगुका बिरामी फेला परेका थिए ।

काठमाडौं । काठमाडौं महानगरमा ८३ जनामा डेंगुको संक्रमण देखिएको छ । गत साउन २७ गते पहिलो पटक महानगरको वडा नम्बर १५ मा डेंगुका बिरामी फेला परेका थिए । त्यसयता ८३ जना डेंगु संक्रमित उपचारका लागि अस्पताल पुगेको जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रविलास बज्राचार्यले बताए ।पछिल्लो समय महानगरको १६ र १८ वडामा डेंगु संक्रमितहरूको संख्या उल्लेख्य पाइएको जनाइएको छ । अहिले प्रभावित वडाहरूमा यो विषयमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।

‘वडाका घर घरमा पुगेर रोगका लक्षण र बचावटका उपायका बारेमा जानकारी दिइरहेका छौं,’ उनले भने, ‘अब महानगरभरि नै नियन्त्रणात्मक कार्यक्रम सञ्चालन गर्न आवश्यक भएको छ, संक्रमणलाई निष्क्रिय बनाउन हरेक महानगरवासी उत्तिकै जिम्मेवार हुनुपर्छ ।’ सरसफाइप्रति स्थानीयवासीको सक्रियताले मात्र संक्रमण नियन्त्रणमा आउने उनको भनाइ छ ।

गत वर्ष कात्तिक महिनामा पनि बालाजु र ढुंगेधारा क्षेत्रबाट ९ जना बिरामी पहिचान गरिएको थियो । यसरी बिरामी देखिएपछि संक्रमणलाई फैलिन नदिन घरदैलो र सफाइ कार्यक्रम गरिएको थियो । त्यस क्रममा ४७ घरका पानी ट्यांकीमा लामखुट्टेका लार्भा देखिएको र तिनलाई नष्ट गरिएको थियो ।

बसपार्क, विष्णुमती नदी किनाराका अधिकांश भाग, नयाँबजार टाउन प्लानिङ क्षेत्रमा संक्रमितको संख्या अत्याधिक देखिएको वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालले बताए । रिजालका अनुसार डेंगुबाट एकजनाको मृत्युसमेत भएको छ । डेंगुबाट बच्न सरसफाइमा ध्यान दिन रिजालले सबैलाई आग्रह गरेका छन् ।

महानगरको सहरी स्वास्थ्य महाशाखा प्रमुख बज्रचार्यका अनुसार, जिल्ला जनस्वास्थ्य कार्यालय, महानगरको वातावरण यवस्थापन विभाग, वडा समितिको कार्यालय, वडा क्लिनिक, महिला स्वास्थ्य स्वयंसेविका, उपभोक्ता समिति, टोल सुधार समिति एकै ठाउँमा भएर लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियानका लागि सचेतनामूलक कार्यक्रम अगाडि बढाउने तयारी भइरहेको छ । यो रोग भाइरसको कारणले लाग्छ । यसका विरुद्ध खोप वा बिशेष उपचार छैन । यो भाइरस एडिस प्रजातिको कालो र सेतो रङ मिसिएको छिरबिरे पोथी लामखुट्टेबाट सर्छ । नेपालमा सन् २००४ मा पहिलो पटक डेंगुका विरामी भेटिएको थियो । अहिले मकवानपुर चितवन लगायतका क्षेत्रमा यसको संक्रमण उच्च देखिएको छ ।

सामान्य रुघा खोकी लाग्ने, जोर्नी दुख्ने, आँखाका दाना दुख्ने, शरीरमा डाबर आउने, खानामा अरुचि हुने, जोर्नी तथा मांसपेशी दुख्ने यसका लक्षण हुन् ।यसबाट बच्न पानी छोपेर राख्ने, लामो समयसम्म पानी जमाएर नराख्ने, दिनमा देखिने लामखुट्टे नष्ट गर्ने विधि अपनाउनुपर्छ । शरीर पूरा ढाकिने गरी कपडा लगाउनुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न मलम जस्ता सामग्रीको प्रयोग गर्नुपर्छ । झुलभित्र सुत्नुपर्छ । साथै, घर वरपर वा घरभन्दा बाहिर काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न सावधानी अपनाउने गरेमा डेंगुबाट बच्न सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?