घोराहीमा एक हप्तामा ठेला व्यवस्थापन हुने, निर्णय कार्यान्वय गर्न समिति
सारांश
- घोराही, ९ माघ ।
- घोराही बजार क्षेत्रमा रहेका ठेला व्यवसायलाई व्यवस्थित गर्न थालिएको छ ।
- जथाभावी ठेलाहरु राख्दा आवतजावतमा असहज, दुर्घटनाको जोखिम र सुन्दरतमा ह्रास आएपछि बजार क्षेत्रका ठेलाहरुलाई व्यवस्थित गर्न थालिएको हो ।
घोराही, ९ माघ । घोराही बजार क्षेत्रमा रहेका ठेला व्यवसायलाई व्यवस्थित गर्न थालिएको छ । जथाभावी ठेलाहरु राख्दा आवतजावतमा असहज, दुर्घटनाको जोखिम र सुन्दरतमा ह्रास आएपछि बजार क्षेत्रका ठेलाहरुलाई व्यवस्थित गर्न थालिएको हो ।
घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले मंगलबार ठेला तथा ढेब्लीमा सामान राखेर बेच्दै आएका व्यवसायीहरुलाई भेला गराई एक साताभित्र व्यवस्थापन गर्ने बिषयमा सहमत गराएको छ ।
वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको छलफलबाट एक हप्ताभित्र ठेला तथा ढेब्लीहरुलाई घोराही उपमहानगरले तोकेको स्थानमा व्यवस्थित गर्ने, मूल्यमा एकरुपता ल्याउने, प्रत्येक व्यवसायीले गल्ने र नगल्ने फोहोर राख्नका लागि भाँडाको व्यवस्था गर्ने र एउटा व्यवसायीले एउटा ठेलाको प्रयोग गर्ने निर्णय भएको छ ।
घोराही उपमहानगरपालिकाले अव्यवस्थित रुपले सडक छेउँमा राखिने र गुडाउने ठेलाहरुलाई घरेलु शिल्पकलाको जग्गा र पुरानो बसपार्कको सभागृह निर्माण स्थल छेउँमा व्यवस्थापन गर्नेगरी व्यवसायीहरुलाई एकसाताको समय दिइएको छ ।
व्यवसायीहरुसँग भएको छलफल र गरिएका निर्णयहरुलाई कार्यान्वयन गर्न वडा सदस्य एवं ठेला व्यवस्थापन समितिका संयोजक गुलाम रसुलको संयोजकत्वमा ठेला व्यवसायी समितिका अध्यक्ष दीर्घनारायण बिष्ट र व्यवसायी अजित मन्सुरी सदस्य रहेको समिति समेत गठन गरिएको छ ।
छलफलमा वडा अध्यक्ष शक्तिराम डाँगीले बजार व्यवस्थापन र सुरक्षित व्यापारका लागि यो काम थालिएको बताए । अध्यक्ष डाँगीले व्यवसायीहरुसँग भएका सहमतिहरु कार्यान्वयनमा अटेरी गरे उपमहानगरले बनाएको कानुनअनुसार कार्वाही गर्ने समेत चेतावनी दिए ।
छलफलमा ठेला व्यवसायीहरुले राज्यको नीति नियमलाई मान्दै कर तिर्न तयार रहेको तर आफूहरुलाई उपयुक्त र सुरक्षितमा व्यवस्थापन गर्नुपर्ने माग गरेका थिए । ठेला डुलाएर व्यापार गर्नेले आफूहरुको व्यापारमा समेत असर पु¥याएको भन्दै उनीहरुलाई नियमन गर्न समेत आग्रह गरेका छन् ।
प्रतिक्रिया