चुनाव जित्ने ‘फरक’ सांसद : पृष्ठभूमि पुलिसदेखि गुण्डासम्म

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर २७, २०७४
|
|
४८ पटक हेरिएको
Shares
चुनाव जित्ने ‘फरक’ सांसद : पृष्ठभूमि पुलिसदेखि गुण्डासम्म

सारांश

  • काठमाडौं, मंसिर २७ –देश संघीय संरचनामा गइसकेपछि भएको पहिलो संसदीय चुनावमा बडो रोचक दृष्यहरु देखिए ।
  • गुन्डादेखि पुलिस पृष्ठभूमिबाट आएका व्यक्ति चुनाव लडे र केहीले जिते पनि ।
  • दीपक मनाङे, गणेश लामा जस्ता गुन्डा नाइके, हत्या अभियोगको सूचिमा फरार रहेका रेशम थारु, पूर्वप्रहरी नवराज सिलवाल अनि २ महिनामा ३ वटा पार्टी फेर्ने विमल श्रीवास्तव चुनावी मैदानमा थिए ।

काठमाडौं, मंसिर २७ –देश संघीय संरचनामा गइसकेपछि भएको पहिलो संसदीय चुनावमा बडो रोचक दृष्यहरु देखिए । गुन्डादेखि पुलिस पृष्ठभूमिबाट आएका व्यक्ति चुनाव लडे र केहीले जिते पनि । दीपक मनाङे, गणेश लामा जस्ता गुन्डा नाइके, हत्या अभियोगको सूचिमा फरार रहेका रेशम थारु, पूर्वप्रहरी नवराज सिलवाल अनि २ महिनामा ३ वटा पार्टी फेर्ने विमल श्रीवास्तव चुनावी मैदानमा थिए ।

त्यस्तै टंक आङबुहाङ, इन्द्रमान तुलाधर, मिनकृष्ण महर्जन, सुरेन्द्र हमाल, जीवनराम श्रेष्ठ लगायतका खेलकुदका हस्ती पनि प्रतिष्पर्धामा थिए । तिमध्ये केहीले जिते केहीले हारे । हार या जित जे भएपनि यो चुनावमा उनिहरु अरु उम्मेदवार भन्दा फरक देखिए । त्यस्ता फरक उम्मेदवार मध्ये विजयी हुनेहरुको मात्रै हामी चर्चा गर्दैछौं ।

रेशम चौधरी

यसपटकको चुनावमा विजयी हुने सबैभन्दा चर्चित व्यक्ति भएका छन् रेशम चौधरी । प्रहरीको फरार सूचिमा हुँदाहुँदै पनि चुनाव जितेर चौधरीले सबैलाई आश्चर्यचकित बनाए । कैलाली क्षेत्र नम्बर १ बाट २० हजार भन्दा धेरैको मतान्तरले चुनाव जितेका चौधरी एकपटक पनि चुनाव प्रचारमा गएका थिएनन् र सार्वजनिक पनि भएका थिएनन् । तर उनले चुनाव जिते । पक्राउ पर्ने डरले विजय जुलुशमा पनि नआएपछि चौधरीको फोटो अगाडि राखेर विजय र्‍याली गरियो ।

२०७२ सालको भदौ ७ गते कैलालीको टीकापुरमा भएको आन्दोलनकारी र प्रहरीबिचको झडपमा एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी मारिएका थिए । त्यो घटनामा चौधरीको संलग्ना रहेको भन्दै उनीविरुद्ध प्रहरीले मुद्दा दायर गरेको थियो । कैलाली जिल्ला अदालतमा चौधरीविरुद्धको कर्तव्य ज्यान मुद्दा विचाराधीन छ । घटनालगत्तै चौधरी भागेका थिए । तर प्रचण्ड प्रधानमन्त्री भएको बेला भएको भारत भ्रमणका क्रममा रेशम चौधरीसँग दिल्लीमै भेटवार्ता भएको थियो ।

उनै चौधरीले कैलालीबाट चुनाव जितेपछि उनलाई अपराधीको नजरले हेर्ने कि सांसदको नजरले हेर्ने भनेर सरकार अन्यौलमा छ । तर नेपालको कानून अनुसार, सभासदको अनुमति लिएर प्रहरीले उनलाई संसद भवनबाटै गिरफ्तार गरेर थुन्न सक्छ । अपराधी सावित भए उनी सभासद रहने छैनन् ।

नवराज सिलवाल

प्रहरीको हत्या गरेको भन्दै कर्तव्य ज्यान मुद्दामा फरार रहेका रेशम चौधरीले चुनाव जित्दा प्रहरीका पूर्व डिआइजी नवराज सिलवाल पनि चुनाव जितेर संसद पुग्नु भएको छ । नेपाल प्रहरीको प्रमुख पद आईजीपीमा बढुवा नभएपछि सरकारले आफूलाई विभेद गरेको भन्दै उहाँ पहिले अदालत जानुभयो ।

अदालतको फैसला पनि आफ्नो पक्षमा नआएको भन्दै पछि राजीनामा दिएर एमालेमा प्रवेश गर्नुभयो । प्रहरी प्रमुख हुन नपाएको झोकमा गएको भदौ २८ गते राजिनामा दिएपछि सिलवाल फाट्टफट्ट एमालेका कार्यक्रममा देखिनुभएको थियो । तर असोज २० गते एमालेका अध्यक्ष ओलीका हातको टीका शीरमा थापेर उहाँ एमालेमा जानुभयो । एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको राम्रो सम्बन्धका कारण सिलवालले ललितपुर १ बाट प्रतिनिधिसभामा टिकट पाइहाल्नुभयो ।

ललितपुर १ मा कांग्रेसका नेता उदयशम्सेर राणासँग सिलवालको कडा टक्कर पर्ने अनुमान गरिएको थियो । तर राणालाई उहाँले ६ हजार भन्दा धेरैको मतान्तरले हराउनु भयो । डिआइजीबाट राजिनामा दिएको ५ महिना नवित्दै उहाँ प्रतिनिधिसभाको सांसदमा निर्वाचित हुनुभएको छ ।

राजिव गुरुङ उर्फ दीपक मनाङे

नेपालमा चर्चित डनको रुपमा चिनिने राजिव गुरुङ उर्फ दीपक मनाङले मनाङबाट प्रदेशसभामा जित हात पारेका छन् । मनाङबाट टिकट पाउने आसमा असोजको २७ गते मनाङे एमालेमा प्रवेश गर्नुभएको थियो । तर एमालेबाट टिकट नपाएपछि मनाङेले स्वतन्त्र उम्मेदवारी दिनुभयो, उहाँलाई समर्थन गर्दै एमालेका आधिकारीक उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि मनाङेको जित सहज भयो ।

गुन्डाको छवी बनाएका र निकै विवादित राजिव गुरुङ उर्फ दीपक मनाङे प्रदेशसभाको सांसद बनेर धेरैलाई चकित बनाउनुभयो ।

छक्कबहादुर लामा

हुम्लामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामाले जितेर धेरैलाई छक्क पार्नुभयो । २०३१ सालदेखि नै वामराजनीतिमा लागेका लामा २०३८ सालमा नेपाल ल क्याम्पसमा इकाई सभापति हुँदै अखिल छैंटौंको केन्द्रीय सदस्य हुनुभएको थियो ।

२०४८ सालको आम निर्वाचनमा संयुक्त जनमोर्चा नेपालबाट सांसद बनेका लामा जनमोर्चाका ९ सांसद मध्ये एक हुनुहुन्थ्यो ।
लामाका दुई छोरीहरु माओवादीसँग भूमिगत भएपछि लामालाई माओवादीको आशंकामा नेपाली सेनाले धेरै दुःख दियो । महिनौं दिन सेनाको हिरासतमा विताएका लामा तारेखका छोडिएका बेला चीनमा समेत शरण लिन पुग्नुभयो । तर त्यहाँ पनि बस्न नसकेपछि फेरि हुम्लामै फर्किनुभयो ।

वाम राजनीतिमा सक्रिय लामा तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिने बेला स्थानीय विकास सहायक बन्त्री र भौतिक योजना तथा यातायात मन्त्री हुनुभयो । लामालाई ज्ञानेन्द्रले नै बोलाएर २०६२ सालमा सहायक मन्त्री बनाएका थिए । २०६२/०६३ को जनआन्दोलनबाट ज्ञानेन्द्रको सत्ता ढलेपछि जिल्ला फर्केर लामालेफेरि वाम राजनीति शुरु गर्नुभयो । उहाँले २०७० सालको संविधान सभा चुनावमा तत्कालीन नेकपा माओवादीको तर्फबाट चुनाव लड्नुभयो तर आफ्नै छोरी ज्वाईको साथ नपाउँदा हार्नु भयो ।

यसपटक पनि उहाँले वामगठबन्धनबाट चुनाव लड्ने मनसाय बनाउनुभएको थियो । तर युद्धकालमा पार्टीमा खासै योगदान नरहेको भन्दै माओवादीले आफ्नै ज्वाई छिमी दोर्जी लामालाई टिकट दिएपछि ज्वाईका बिरुध्द उहाँले बागी उम्मेदवारी दिनुभएको थियो । वाम गठबन्धनका छिमी दोर्जी लामाले भने तेस्रो मत मात्र ल्याउनुभएको छ । उहाँले २ हजार ३ मत मात्र प्राप्त गर्नुभएको छ । छक्कबहादुरले भने त्यसको चार गुणा बढी ८ हजार ४९१ ल्याएर विजयी हुनुभयो ।

विमल श्रीवास्तव

तराइमा पार्टी परिवर्तन गरिरहने नेताको रुपमा चिनिने विमल श्रीवास्तवको जितले पनि यो पालि धेरैजना छक्क परे । २ महिनामा ३ वटा पार्टी बदल्ने विमल श्रीवास्तव यो पालि संघीय समाजवादी फोरम नेपालको तर्फबाट पर्सा क्षेत्र नम्बर २ बाट विजयी हुनुभयो ।

राजपाले टिकट नदिएपछि राजपाका नेता श्रीवास्तव असोज २ गते भएको स्थानिय तहको चुनावको मनोनयनको अघिल्लो दिन विजयकुमार गच्छदार नेतृत्वको तत्कालिन फोरम लोकतान्त्रिक प्रवेश गर्नुभएको थियो । पार्टी प्रवेशको भोलिपल्ट उहाँले विरगंज महानगरपालिकाको मेयरको टिकट पाउनुभयो । तर श्रीवास्तव संघीय समाजवादी फोरमका उम्मेदवार विजय सरावगीसँग पराजित हुनुभयो ।

फोरमकै उम्मेदवारसँग पराजित भएको २ महिना पनि नपुग्दै कात्तिक १० गते श्रीवास्तव संघीय समाजवादी फोरममै प्रवेश गर्नुभयो । कात्तिक १० गते फोरम प्रवेश गरेका श्रीवास्तवले पर्सा २ बाट टिकट पाउनुभयो र जित्नुभयो पनि । २ महिनामा ३ पटक पार्टी परिवर्तन गरेका श्रीवास्तवको जितले तराइमा तरंङ्ग ल्याएको छ ।

जीवनराम श्रेष्ठ, सुरेन्द्र हमाल र टंक आङबुहाङ

यो चुनावमा खेल क्षेत्रका ६ जना हस्ती चुनावी मैदानमा थिए । छ जनामध्ये ३ जनाले हारे । तीन जनाले जितको पदक पाए । सधैं खेल मैदान र खेल व्यवस्थापनमा सक्रिय हस्तीहरुको चुनावी प्रतिष्पर्धा साँच्चै चाखलाग्दो थियो ।

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ८ बाट कांग्रेसका नविन्द्रराज जोशीलाई पराजित गर्नुभयो । श्रेष्ठ यसअघि दुईपटक संविधानसभा सदस्यका लागि उम्मेदवार भएर दुवै पटक पराजित हुनुभएको थियो । तर यसपटक भने उहाँ विजयी हुनुभयो ।

यस्तै राखेपका कोषाध्यक्ष तथा ओलम्पियन सुरेन्द्र हमाल पनि बाँकेक्षेत्र नम्बर २ ख बाट कांग्रेसको प्रतिनिधित्व गर्दै विजयी हुनुभयो । खेल क्षेत्रमा मात्रै सुनिदै आएको नाम अव सांसदसम्म पुगेको छ । आफु खेलाडी भएकैले चुनाव जितेको हमालले उज्यालोसँग बताउनुभएको छ ।

यस्तै नेपाल क्रिकेट संघ क्यानका पूर्वअध्यक्ष टंक आङबुहाङ माओवादीको तर्फबाट उठेर ताप्लेजुङको क्षेत्र नम्बर १ को ख बाट प्रदेश सभामा विजयी हुनुभयो । खेल क्षेत्रका ३ जना व्यक्तिको जितलाई पनि यो पालि फरक पहिचानका सांसदका रुपमा हेरिएको छ ।उज्यालो अन्लाईन बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्यक्ष प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखबीच भेटवार्ता
अध्यक्ष प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखबीच भेटवार्ता
कृष्णबहादुर महरा निर्दोष ठहर
कृष्णबहादुर महरा निर्दोष ठहर
नेपाल विद्यार्थी संघलाई  कांग्रेसले दियाे यस्ताे निर्देशन
नेपाल विद्यार्थी संघलाई कांग्रेसले दियाे यस्ताे निर्देशन
पूर्वी चीनमा इलेक्ट्रोनिक्स कारखानामा विस्फोट, सात जनाको मृत्यु
पूर्वी चीनमा इलेक्ट्रोनिक्स कारखानामा विस्फोट, सात जनाको मृत्यु
अर्घाखाँची र दाङमा एमालेबाट माओवादी कुटिए, एकजनालाई उपचार गर्न काठमाडौं पठाइयो
अर्घाखाँची र दाङमा एमालेबाट माओवादी कुटिए, एकजनालाई उपचार गर्न काठमाडौं पठाइयो
नेपाली लघु-उपन्यास: भड्किरहेका मान्छेहरू
नेपाली लघु-उपन्यास: भड्किरहेका मान्छेहरू
प्रधानमन्त्री दाहालले भने : सरकारले राम्रा काम मात्रै गर्छ
प्रधानमन्त्री दाहालले भने : सरकारले राम्रा काम मात्रै गर्छ
धर्म परिवर्तन गराउनेलाई ५ वर्ष जेलसहित देश निकाला
धर्म परिवर्तन गराउनेलाई ५ वर्ष जेलसहित देश निकाला
पत्रकारको नाकको डाँडी भाच्छु भन्ने इटहरीका मेयरको विवादास्पद अभिव्यक्ति, महिलामाथि बोले अपशव्द
पत्रकारको नाकको डाँडी भाच्छु भन्ने इटहरीका मेयरको विवादास्पद अभिव्यक्ति, महिलामाथि बोले अपशव्द
बैंकलाई ब्रोकर लाइसेन्सः प्रक्रिया पु¥याउनै समय लाग्ने
बैंकलाई ब्रोकर लाइसेन्सः प्रक्रिया पु¥याउनै समय लाग्ने

तपाईंले छुटाउनुभयो कि?