छायाङ्कनदेखि नै चर्चामा रहेको रुपै मोहनीले बनायो यस्तो नयाँ रेकर्ड [भिडियोसहित]
सारांश
- काठमाडौं, १५ पुस ।
- छायाङ्कनकै बेलादेखि चर्चा कमाएको चलचित्र शत्रु गतेको रुपै मोहनी बोलको गीतले नयाँ रेकर्ड बनाएको छ ।
- युट्यवमा प्रकाशित भएको दोस्रो दिनमै यसलाई झण्डै १० लाखको हाराहारीमा दर्शक/स्रोताले हेरिसकेका छन् ।
काठमाडौं, १५ पुस । छायाङ्कनकै बेलादेखि चर्चा कमाएको चलचित्र शत्रु गतेको रुपै मोहनी बोलको गीतले नयाँ रेकर्ड बनाएको छ । युट्यवमा प्रकाशित भएको दोस्रो दिनमै यसलाई झण्डै १० लाखको हाराहारीमा दर्शक/स्रोताले हेरिसकेका छन् ।
बौद्धमा रहेको समता हस्पिटलमा ‘रुपै मोहनी’ गीतको छायाङ्कनका लागि सेट बनाइएको थियो । यो गीतको पूरा छायाङ्कनमा ३ दिन लगाइएको थियो । एउटै गीतको छायाङ्कनमा झण्डै १५ लाख खर्च भएको निर्देशक प्रदीप भट्टराईले जानकारी दिए । यस गीतमा चलचित्रका प्रायः सबै मुख्य कलाकारलाई समेटिएको छ ।
गीतकार लोकराज अधिकारीको शब्द र टंक बुढाथोकीको संगीत रहेको यस गीतमा आवाज मीना निरौला र टंक बुढाथोकीको छ । गीतमा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियङ्का कार्की, आँचल शर्मा, पल शाह, शिवहरि पौड्याल, बसुन्धरा भुसाल लगायतलाई फिचर गरिएको छ । यसमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
डेढ दशक भन्दा बढी समयदेखि पत्रकारिता र गीतिलेखनमा सक्रिय गीतकार अधिकारीले यो चलचित्रका लागि गीतमार्फत जोडिन पाउनु गर्वको बिषय भएका बताएका छन् । यसअघि लोक, आधुनिक, राष्ट्रिय र चलचित्र गरी झण्डै १ सय गीत लेखिसकेका अधिकारीका “तिम्ले पराई ठानेपछि, मर्छु बरु छटपटीमा, रुवाउदिन तिमिलाई, सारा सारा दिन, फेरि एक हुन मिल्छ र प्रिय, जसो परे पर्ला, यो जुनीमा, तिमीलाई त मेरो पीडामा, नाक थेप्चो या चुच्चो, जे गर्दा नि मिल्दैन लगायतका गीत स्रोता/दर्शकमाझ चर्चित र प्रिय छन् ।
खवरदार, धर्तिपुत्र ,पल्टन, सूर्या, टाइगर द रियल हिरो, के यो माया हो, ब्ल्याकमेल, भै हाल्छ नि, दबदबा, छक्कापञ्जा– २ लगायतका चलचित्रमा गीत लेखिसकेका अधिकारीले पछिल्लोपटक शत्रु गतेका लागि गीत लेखेका हुन् । गीत बजारमा आउनुपूर्व नै छायाङ्कनकै बेलादेखि चर्चामा रहेको यो गीतले सबैको मन जित्नेमा आशावादी रहेको शिखरन्युजलाई बताएका छन् ।
किरण केसीले १६ वर्षपछि निर्माण गरेको ‘शत्रु गते’ को वीरगंजमा १७ दिन र बाँकी काठमाडौंमा गरी ४० दिन लगाएर चलचित्र छायाङ्कन गरिएको छ । ‘शत्रु गते’ मा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियङ्का कार्की, आँचल शर्मा, पल शाह, किरण केसी, राजाराम पौड्याल, बसुन्धरा भुसाल, शिवहरि पौड्याल लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्र आउँदो चैत ९ गतेदेखि प्रदर्शनमा आउनेछ ।
प्रतिक्रिया