जग्गाको स्वामित्व पाउनेमा ढुक्क शुक्लाफाँटाका भूमिहीन

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष ३, २०८०
|
|
३४ पटक हेरिएको
Shares
जग्गाको स्वामित्व पाउनेमा ढुक्क शुक्लाफाँटाका भूमिहीन

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पीपलाडीका राजु दहित भोगचलन गर्दै आएको जग्गाको स्वामित्व पाउन थालेकामा निकै खुशी देखिन्छन् । बाजेको पालादेखि बस्दै आएको जग्गामा नापजाँचको कार्य अगाडि बढेपछि जग्गाको मालिक हुनेमा उनी ढुक्क भएका हुन् ।

“आठ दशकदेखि चलनभोग गर्दै आएको जग्गाको पहिलोपटक नापजाँचको कार्य गरिएको छ”, उनी भन्छन्, “जग्गाधनी प्रमाणपत्र पाउने आशा बढेर गएको छ ।” दहित परिवारले कमाएर खाँदै आएको एक बिघा जग्गा छ ।

“बाजेको पालामै ऐलानी जग्गामा खनजोत गरी कमाउँदै आएका हौँ”, राजु भन्छन्, “जग्गा कमाउँदै आएको पनि असी वर्ष भन्दाबढी भइसकेको छ, विगतमा टाठाबाठाहरुले मात्रै जग्गाधनी पुर्जा पाए, बाजे बुबा पढेलेखेको नहुँदा खेत नापी गर्न सक्नुभएन ।”

त्यही बेला साँध सीमा नाकाले जग्गाधनी पूर्जा पाए, हाम्रो जग्गा नापजाँच गरिएन, स्वामित्व पाउनबाट वञ्चित भइएको गुनासो गर्दै उनी भन्छन्, “अहिलेको नापीले जग्गा नापजाँच गरी नक्सा बनाउनका लागि मुचुल्का तयार गरेर लगेकाले जग्गाधनी पुर्जा पाउनेमा विश्वास लागेको छ ।”

राष्ट्रिय भूमि आयोगको जिल्ला समितिले नगरपालिकाको भूमि सेवा केन्द्रसँग समन्वय गरी नगरपालिकामा जग्गा नापजाँचको कार्य गरिरहेको छ । अव्यवस्थित बसोबासीका रुपमा रहेका गहनु डगौराले जग्गा नापजाँचको कार्य भए पनि जग्गाधनी पुर्जा लिनका लागि किसानको आयस्ताले तिर्न भ्याउने राजस्व कायम गरिनुपर्नेमा जोड दिन्छन् ।

“जग्गाधनी पुर्जा लिनका लागि अहिले बनेको ऐन कानुनमा धेरै राजस्व तिर्नुपर्ने व्यवस्था रहेको सुनेको छु”, उनी भन्छन्, “जग्गाकै भरमा परिवार चलाउनेको अवस्था हेरेर राजस्व निर्धारण गरिनुपर्छ । थोरै राजस्व लिएर जग्गाधनी पुर्जा पाउने व्यवस्था गर्नुपर्छ ।” नगरपालिकामा विसं २०७९ साउन १ गतेदेखि अव्यवस्थित बसोबासीको जग्गा नापजाँचको कार्य भइरहेको छ ।

जग्गा नापजाँचका लागि एक सर्भेक्षक र तीन अमिनसहितको प्राविधिक टोली खटिएका छन् । प्राविधिक टोलीसँगै चार फिल्ड सहयोगीहरु (चेनमन)लाई पनि खटाइएको छ ।

हालसम्म वडा नं १, ३ र ९ मा जग्गा जापजाँचको कार्य पूरा भएको छ । वडा नं २ मा जग्गा नापजाँचको कार्य सुरु गर्ने तयारी भइरहेको छ । नगरपालिकाको भूमि सेवा केन्द्रका प्रमुख मोहनराज फुलाराका अनुसार वडा नं ९ मा तीन सय ८७ अव्यवस्थित बसोबासीले जग्गा नापजाँचका लागि निवेदन दिएका छन् । निवेदन दिएका अव्यवस्थित बसोबासीको दुई सय ५० हेक्टर जग्गा नापजाँचको कार्य गरिएको छ । वडा नं १ मा एक हजार पाँच सय ४३ अव्यवस्थित बसोबासीको चार सय ४७ हेक्टर जग्गा नापजाँच गरिएको छ ।

यसैगरी, वडा नं ३ मा तीन सय ८७ अव्यवस्थित बसोबासीको एक सय हेक्टर जग्गा नापजाँच पूरा भएको छ । “वडा नं ५ को अधुरा अपुरा कार्यहरुको फिल्ड भेरिफिकेसनको कार्य सम्पन्न गरेका छौँ”, जग्गा नापजाँचमा संलग्न अमिन हेमराज अवस्थी भन्छन्, “बयासी जग्गाधनीको जग्गाधनी पुर्जा निर्माणको अन्तिम चरणमा पुगेको छ, त्यसका लागि सूचना निकाल्ने तयारी भइरहेको छ ।”

उनका अनुसार जग्गा नापजाँचको कार्यसँगै थप समयमा वडा नं १, २, ३ र १२ मा ८० वटा नियन्त्रण विन्दु स्थापना गर्ने र फिल्ड पुर्वेक्षण ९रिक्की० गर्ने कार्य गरिएका छन् । “वडा नं १ र ९ मा एकवटा मात्रै टोटल स्टेसन मेसिनको प्रयोग गरी कार्य गर्‍यौं”, नापी टोलीका सर्भेक्षक नवीनराज जोशी भन्नुहुन्छ, “वडा नं ३ बाट दुईवटा टोटल स्टेसन मेसिनको प्रयोग गरी दुईवटा टोली बनाएर तीव्ररुपमा कार्य अगाडि बढाएका छौँ, वडा नं २ मा डेढ महिनाभित्रै अव्यवस्थित बसोबासीको जग्गा नापजाँचको कार्य सक्ने लक्ष्य लिएका छौँ ।”

अबको सात महिनादेखि एक वर्षभित्रै पूरै नगरपालिकाकामा रहेका अव्यवस्थित बसोबासीको जग्गा नापजाँच सकिने नापी प्राविधिकहरुको भनाइ छ । नगरपालिकाका १२ वटै वडाका ११ हजार चार सय ८९ अव्यवस्थित बसोबासीले जग्गा नापजाँचका लागि निवेदन दिएका छन् । बसोबासका लागि भूमिहीन दलित एक सय ९३ र भूमिहीन सुकुम्वासी एक सय ५४ जना छन् ।

राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गाको स्वामित्व प्रदान गर्नका लागि कञ्चनपुरका नौवटै स्थानीय तहमा जग्गा नापजाँचको कार्य अगाडि बढाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?