जबजको मार्गचित्रमा समाजवादको यात्रा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन १०, २०७४
|
|
५७ पटक हेरिएको
Shares
जबजको मार्गचित्रमा समाजवादको यात्रा

सारांश

  • जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद (जबज) नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त हो ।
  • यो समाजको गुणात्मक रूपान्तरण गर्ने कार्यक्रम मात्र होइन, त्यस्तो कार्यक्रमहरूको निरूपण, त्यसका रणनीतिहरूको तर्जुमा, त्यस्तो रणनीति कार्यान्वय नगर्ने पार्टीको निर्माण एवं हाम्रा दैनिक आचरण र व्यवहारलार्ई निर्देशित गर्ने सिद्धान्तसमेत हो ।
  • माक्र्सवादका सार्वभौम सत्य कथनलाई नेपाली क्रान्तिको विशिष्ट व्यवहारमा लागू गर्ने क्रममा जनताको बहुदलीय जनवादको विकास भएको हो ।

जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद (जबज) नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त हो । यो समाजको गुणात्मक रूपान्तरण गर्ने कार्यक्रम मात्र होइन, त्यस्तो कार्यक्रमहरूको निरूपण, त्यसका रणनीतिहरूको तर्जुमा, त्यस्तो रणनीति कार्यान्वय नगर्ने पार्टीको निर्माण एवं हाम्रा दैनिक आचरण र व्यवहारलार्ई निर्देशित गर्ने सिद्धान्तसमेत हो । माक्र्सवादका सार्वभौम सत्य कथनलाई नेपाली क्रान्तिको विशिष्ट व्यवहारमा लागू गर्ने क्रममा जनताको बहुदलीय जनवादको विकास भएको हो । यो कुनै आयातीत सिद्धान्त होइन । यो हाम्रो आफ्नै मौलिक उपज हो । जनताको बहुदलीय जनवादको सिद्धान्त निर्माणमा सोभियत मोडलको समाजवादको असफलताका शिक्षा तथा परिवर्तित परिस्थितिमा क्रान्तिलाई मौलिक ढंगले अगाडि बढाउनुपर्ने समयको मागले बहुदलीय जनवादको प्रतिपादनमा मुख्य भूमिका खेलेको छ ।


हाम्रो देश बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय देश हो । जबजले बहुलतालाई स्वीकार गर्नु कर्तव्य ठान्दछ, तर यसो गर्दा व्यक्तिको स्वतन्त्रतालाई पनि स्वीकार गरिन्छ र उसको प्रतिभा प्रस्फुरण गर्ने मौका दिइन्छ । सरकारले योजना र परियोजनाको खाका बनाउँछ, तर त्यो जनचाहनाअनुरूप हुनेछ । जबजले बहुदलमा विश्वास गर्छ, तसर्थ प्रतिस्पर्धालाई स्वाभाविक ठान्ने गर्छ । प्रतिस्पर्धात्मक निर्वाचनबाट मात्र पार्टी सत्तामा पुग्ने मान्यतामा जबज अडिग रहन्छ । यसर्थ जनताको बहुदलीय जनवाद हाम्रो राजनीतिक, सामाजिक र आर्थिक विकासको दार्शनिक आधार हो । यी सबै परिप्रेक्षमा अबका दिनमा जबजमा आधारित आर्थिक विकासको मोडल निर्माण गर्दै समाजवादको चरणका कार्यक्रम बनाउँदै अगाडि बढ्नु आवश्यक देखिएको छ ।
आजको विश्वमा नवउदारवाद र समाजवाद गरी दुइटा राजनीतिक विचारधारा विद्यमान छन् । पहिलोले व्यक्तिको स्वतन्त्रतालाई प्रधानता दिन्छ र बजारलाई सबैथोक गर्न स्वतन्त्र छोडिदिन्छ भने दोस्रोले व्यक्ति भनेको केही होइन, समाज नै सबैथोक हो, यसैले राज्यको भूमिका सबैभन्दा ठूलो हुन्छ भन्छ । जबजले यी दुवै मान्यताको बीचको बाटोबाट समाजवादको चरणमा जान सकिने ठान्छ । समाजको भौतिक विकासविना समाजवादको निर्माण गर्न सकिन्न । यसर्थ आर्थिक, सामाजिक विकास शीघ्र हासिल गर्नुपर्ने हुन्छ । मानवले विचार र दर्शनको आविष्कार गरेको हो, विचार र दर्शनले मानिसलार्ई आविष्कार गरेको होइन । यसर्थ नेपाली समाजलाई के–कस्तो पद्धतिको आवश्यकता पर्छ, त्यसैअनुसार हामीले उपयुक्त व्यवस्था अवलम्बन गर्ने हो । नेपालको आजको आवश्यकता भनेको स्वतन्त्रता, कानुनी शासन र बहुदलीय प्रतिस्पर्धाका आधारमा सरकार र निजी क्षेत्र दुवैको समन्वयकारी भूमिकालाई स्वीकार गर्नु हो । न त हामीले बजारलाई सबैथोक छाड्न सक्छौँ, न राज्यले सबैथोक नियन्त्रण गर्न सक्छ । आजको नेपालको आवश्यकता भनेको व्यक्तिको निजी स्वतन्त्रतालाई कायम राख्दै बजारको उचित भूमिका स्विकार्ने र निजी लगानीलाई प्रवर्धन गर्ने हो । राज्यले शिक्षा र स्वास्थ्यमा लगानी गर्ने र समाजका विपन्न र गरिब असहायका लागि थप सामाजिक सुरक्षणका कार्यक्रममार्फत आफ्नो भूमिका निभाउने हो । वास्तवमा यही नै जनताको बहुदलीय जनवादको नमुना हो ।

जबजको आर्थिक विकास मोडल
समाजको सञ्चालन र विकासका लागि बजारमा आवश्यकता पर्ने वस्तु तथा सेवाहरूको उपलब्धताका लागि नै आधुनिक बजार प्रणालीको विकास भएको हो । बजार प्रणालीको नियन्त्रण दुई तरिकाबाट गर्न सकिन्छ, सरकारद्वारा नियन्त्रण र निजी क्षेत्रको नियन्त्रण । पहिलो पक्षको नियन्त्रणले समाजवादी दर्शनको वकालत गर्छ भने दोस्रोले पुँजीवादको । यी दुई पक्षबीच कसको प्रभुत्व रहने भन्ने कुराले नै आर्थिक विकासको मोडल कस्तो हुनुपर्छ भन्ने तय गर्छ । निजी क्षेत्र स्वभावैले नाफामुखी हुने र वस्तु तथा सेवा प्रवाह गर्न सरकारको क्षमता पनि विकास नभइसकेको हाम्रो वर्तमान अवस्थामा यी दुवैका राम्रा पक्षलाई समेट्ने गरी जबजको आर्थिक विकासको मोडल निर्माण गरिनुपर्छ ।

आर्थिक विकासमा बहुलवादी सिद्धान्तको प्रयोगको रूपमा निश्चित समयसम्म निजी र सार्वजनिक क्षेत्रलाई प्रतिस्पर्धात्मक रूपमा अघि बढाउने मान्यता पनि निकै प्रचलनमा छ । चीनको ३३ प्रतिशत राज्यले गर्ने ३३ प्रतिशत निजी क्षेत्रले गर्ने र बाँकी ३३ प्रतिशत विदेशी प्रत्यक्ष लगानी ल्याई प्रयोग गर्ने मोडल अर्को प्रसिद्ध मोडल हो । यही मोडल अपनाई चीनले समाजवादी बजार अर्थव्यवस्थाको नामबाट सफलता हासिल गरेको छ ।

हाम्रो अर्थतन्त्रको चरित्र र विकासको अवस्था हेर्दा जनताको बहुदलवादी जनवादमा आधारित मोडल नेपालमा उपयुक्त हुने देखिएको छ । अर्थतन्त्रको विकासमा पनि बहुलवादी नीति अवलम्बन गर्न सकिने मान्यताका साथ अघि बढेमा व्यापक जनसहभागितामा अर्थतन्त्रको विकास गर्न सकिने र राष्ट्रिय सामथ्र्यको वृद्धिमा सकारात्मक योगदान पुग्ने हुन्छ । जनवादी व्यवस्थाको सुदृढीकरण र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको बाटोमा अघि बढ्न सकिनेछ । जसका लागि आगामी ३० वर्षको अवधिलाई तीन विशेष भागमा बाँडी प्रथम १० वर्षलाई प्रारम्भिक तयारी चरण, दोस्रो १० वर्ष प्रतिफल प्राप्त गर्ने चरण र तेस्रो १० वर्षलाई मर्मत–सम्भार गर्दै अघिल्ला वर्षमा प्राप्त गरेको उपलब्धिको रक्षा र वृद्धिलाई यथावत् कायम राख्ने चरण गरी तीन चरणमा विकासको खाका तयार पारेर समाजवादको चरणमा प्रवेश गर्न सकिन्छ ।

यो विकास मोडलले समन्वयात्मक प्रयासबाट निम्न प्रगति हासिल गर्नेछ :
-आर्थिक प्रगति
-राजनीतिक प्रगति
-सांस्कृतिक प्रगति
-सामाजिक प्रगति
-पर्यावरणीय प्रगति
यो मोडल चारखम्बे रणनीतिमा समर्पित हुनेछ ।

-सबै क्षेत्रमा घनीभूत सुधार ल्याउने
-कानुनमा आधारित रही राजनीतिक, आर्थिक र सामाजिक सुशासनको स्तरमा सुधार ल्याउने
-पार्टीका हरेक तहमा उत्कृष्ट आचरण र सुशासनको सुदृढीकरण गर्ने

यो मोडलले निम्न ६ सिद्धान्तलाई आदरपूर्वक परिपालन गर्नेछ :

-राष्ट्रिय स्वाधीनताको प्रवर्धन र जनताको सर्वोच्चताको स्वीकारोक्ति
-जबजको आर्थिक सामाजिक विकास प्रणालीप्रति पूर्णतः प्रतिबद्ध
-सुधार कार्यक्रमहरूको निरन्तरता
-कानुनी शासनको प्रत्याभूति
-राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशको समसामयिक आँकलन र सोअनुसारको रणनीति
पार्टी नेतृत्वको आह्वानको ससम्मान समर्थन र जबजको मार्गदर्शन अनुशरण

यो मोडलको विकासको दार्शनिक पक्ष निम्न हुनेछन् :

-नवप्रवर्तन र उद्यमशीलता विकास
निकायगत समन्वय
-हरित विकास
-जनसहभागिताका लागि उदारीकरण
-सरोकारवालाहरूको साझेदारीमा विकास समाजवादी, सांस्कृतिक र नैतिक प्रगति

यो मोडलका उद्देश्य निम्न हुनेछन् :

-उच्च आर्थिक वृद्धिदर कायम राख्ने
-नवप्रवर्तन र उद्यमशीलताउन्मुख विकासमार्फत् महत्वपूर्ण नतिजा प्राप्ति गर्ने
-विकासमा बढ्दो समन्वयकारी भूमिका निभाउने
-जीवनस्तरमा सुधार र गुणस्तरीय विकास गर्ने
-जनताको सर्वपक्षीय क्षमता अभिवृद्धि र नैतिकताको प्रवर्धन गर्ने
-देशको भौगोलिक पर्यावरण र वातावरण संरक्षणमा जोड दिने
-संस्थागत क्षमताको वृद्धि र सोको निरन्तरताको प्रत्याभूतिमा जोड दिने
-जबजको मार्गचित्रमा सर्वाङ्गीण विकास गर्ने

नेपालीको जीवनस्तर सुधार गर्न गरिबी निवारण र आयआर्जनसहितको विकास र निर्माण, शिक्षामा आधुनिकीकरण परियोजनाहरू, स्वास्थ्य सेवाका कार्यक्रम, सार्वजनिक सेवाहरूको सुनिश्चित र स्पष्ट वर्गीकरण, रोजगारउन्मुख परियोजनाहरू, सामाजिक सुरक्षणका कार्यक्रम र परियोजनाहरू सञ्चालन गर्नुपर्ने समष्टिगत सबै पक्षलाई यस मोडलले समेट्नेछ ।

जबजको प्रस्तुत आर्थिक विकासको खाका र मार्गदर्शनमा विकास कार्यक्रम सञ्चालन गर्दा अबको ३० वर्षपछि हाम्रो प्रतिव्यक्ति आम्दानी हालको ७५० अमेरिकी डलरबाट २२५० अमेरिकी डलर पुग्ने र कुल गार्हस्थ उत्पादन ३० गुणाले बढ्ने निश्चित छ । हामी सानो तर फुर्तिलो देश हुनेछौँ । सबैको सहभागिता र प्रयासमा अबको ३० वर्षपछि यो देश विश्वमा विकासको नमुनाको देश बन्नेछ । हम्रो प्रतिष्ठा पनि तदनुसार नै बढ्नेछ । हाम्रो परिचय कसैले दिइरहनु पर्दैन ।

(लेखक एमाले युवा नेता तथा अर्थशास्त्री हुन्)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?