डेढ अर्ब बैंक घोटालामा राष्ट्र बैंककै हात ? प्रधानमन्त्री–अर्थमन्त्रीबीच छलफल !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ९, २०७४
|
|
३८ पटक हेरिएको
Shares
डेढ अर्ब बैंक घोटालामा राष्ट्र बैंककै हात ? प्रधानमन्त्री–अर्थमन्त्रीबीच छलफल !

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दबाबपछि मात्र १५१ करोडको बैंक घोटाला सार्वजनिक भएको तथ्य खुलेको छ । १४ महिनाअगाडि नै तथ्य प्रमाण पाइसकेको नेपाल राष्ट्र बैंकको नेतृत्व अन्तिम दिनसम्म पनि यो काण्ड लुकाउन प्रयासरत थियो ।

तीनवटा वित्तीय संस्था मिलेर असार ०७० मा एपेक्स डेभलपमेन्ट बैंक बन्नुअघि नै अनियमितताको जग बसिसकेको थियो । एपेक्स बनेपछि अनियमित कर्जा २०३ करोड पुगेको थियो । तर, त्यो सब लुकाएर राष्ट्र बैंकले प्रत्यक्ष नेतृत्वमा एपेक्सलाई एनसिसीमा मिसाएको थियो । यो अनियमितताको विषयमा तत्काल छानबिन गर्दै जानकारी दिन अख्तियारले राष्ट्र बैंकलाई पत्र काटेको थियो ।

राष्ट्र बैंकको आन्तरिक छानबिनले २८ पुस ०७३ मा तयार पारेको प्रतिवेदनमा नै एपेक्समा भएको अनियमितता पुष्टि गरिसकेको थियो । प्रतिवेदनले दोषीउपर कारबाही गर्न स्पष्ट रूपमा गभर्नरसमक्ष सिफारिस गरेको थियो । तर, प्रतिवेदन आउनु ११ दिनअघि मात्र योजनाबद्ध रूपमा एपेक्सलाई एनसिसीमा मिसाइएको थियो । अख्तियारको पत्रपछि दोषीउपर कारबाही गर्नुको सट्टा राष्ट्र बैंकले अनियमितता लुकाउने कोसिस गरिरहेको थियो ।

‘अख्तियारले एक वर्षअगाडि नै राष्ट्र बैंकलाई पत्र लेखेको हो, छानबिन गरेर कारबाही गर्नू भनेर स्पष्ट निर्देशन थियो, तर यो विषयमा अख्तियारसँग के जानकारी छ भनेर उल्टै पत्र आएको थियो,’ अख्तियार स्रोतले भन्यो । यसबीचमा आफ्नै प्रतिवेदन लुकाउन राष्ट्र बैंकले अर्को छानबिन समिति गठन गरेको थियो । तर, त्यो छानबिन समितिले पनि एपेक्समा घोटाला भएको पुष्टि गरेको थियो ।

गत असारमा आएको दोस्रो प्रतिवेदनपछि पनि राष्ट्र बैंक नेतृत्व यो घटना लुकाउने प्रयासमा थियो । १५१ करोडको भ्रष्टाचारमा नेपाल राष्ट्र बैंक मौन बसेकोमा आश्चर्यमा परेको अख्तियारले करिब दुई साताअघि ताकेता गर्दै अर्को पत्र काटेको थियो । त्यहीबीचमा अख्तियारले समानान्तर रूपमा प्रहरीको सिआइबीलाई पनि चनाखो बनाइसकेको थियो । यसरी अख्तियार र सिआइबीको घेरामा परेपछि मात्र राष्ट्र बैंकले एपेक्समा भएको अनियमितताको फाइल प्रहरीलाई जिम्मा लगाएको थियो ।

‘अहिले प्रहरीको सिआइबीले छानबिन गरिरहेको छ । अहिले हामीले बोल्नुपर्ने कुरा केही पनि छैन । हामी सिआइबीको प्रतिवेदनको प्रतीक्षामा छौँ,’ अख्तियारका प्रवक्ता दीर्घराज मैनालीले नयाँ पत्रिकासँग भने ।

प्रधानमन्त्री–अर्थमन्त्रीबीच छलफल
अहिलेसम्मकै ठूलो बैंकिङ घोटालाका विषयमा प्रधानमन्त्री केपी ओलीले समेत चासो देखाएका छन् । यस विषयमा अर्थमन्त्री डा। युवराज खतिवडामार्फत प्रधानमन्त्री ओलीले जानकारी लिएको उनको सचिवालयले जनाएको छ । ‘प्रधानमन्त्री र अर्थमन्त्रीबीच गत मंगलबार बेलुकी झन्डै दुई घन्टा कुराकानी भएको थियो,’ स्रोतले भन्यो, ‘त्यसबीचमा प्रधानमन्त्रीले एपेक्स बैंकिङ घोटाला र राष्ट्र बैंकको भूमिका विषयमा अर्थमन्त्रीसँग जिज्ञासा राख्नुभएको थियो ।’ अर्थमन्त्रीले छिटो अनुसन्धान सिध्याउन प्रहरीलाई र छानबिनमा सघाउन राष्ट्र बैंकलाई निर्देशन दिइसकेको जानकारी गराएका थिए ।

बैंक घोटालामा प्रधानमन्त्रीको चासो छ
विष्णु रिमाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार
जनताले जम्मा गरेको पैसाको जिम्मा लिने बैंक र ती बैंकको अनुगमन गर्ने राष्ट्र बैंकको भूमिका कस्तो छ भन्ने विषयमा प्रधानमन्त्रीको चासो छ । विभागीय रूपमा यो विषयमा अर्थमन्त्रीज्यूले नै उचित कदम लिनुहोला भन्ने प्रधानमन्त्रीको विश्वास छ ।

छानबिनमा सघाउन राष्ट्र बैंकलाई अर्थमन्त्रीको सल्लाह
रामशरण खरेल, अर्थमन्त्रीका सल्लाहकार
बैंक घोटाला सार्वजनिक भएपछि नेपाल राष्ट्र बैंकले अर्थमन्त्री डा। युवराज खतिवडासमक्ष ब्रिफिङ गराएको थियो । दुई–तीन दिनअघि पनि यस विषयमा छलफल भएको थियो । अर्थमन्त्रीले घोटालाको छानबिनलाई छिटो निष्कर्षमा पुर्‍याउन र छानबिनमा प्रहरीलाई सघाउन निर्देशन दिनुभएको छ । यो विषयमा अर्थ मन्त्रालयले प्रत्यक्ष हस्तक्षेप गर्दैन किनकि यो काम राष्ट्र बैंकको हो । तर, विषय गम्भीर भएकाले अर्थमन्त्रीले राष्ट्र बैंकका उच्च पदाधिकारीलाई भेटेर छिटो निष्कर्षमा पुर्‍याउन र निष्पक्ष छानबिनमा प्रहरीलाई सघाउन निर्देशन दिनुभएको हो ।

दुई लाख ऋण चाहिएका गरिबका नाममा २० लाखको कागज
देवेन्द्र कार्की, धरान

एपेक्स डेभलपमेन्ट बैंकका कर्मचारी र जग्गा दलाल मिलेर मोरङ, सुनसरी र झापामा ठूलो परिमाणमा खराब कर्जा प्रवाह गरेका छन् । अप्ठ्यारोमा परेका सर्वसाधारणलाई २–३ लाख दिएर उनीहरूको धितोबाट २० लाखभन्दा बढी ऋण निकालेर अनियमितता गरेको पाइएको छ । धितो मूल्यांकनमा संलग्न इन्जिनियरहरूका अनुसार त्यतिखेर काठमाडौंबाटै बैंकका कर्मचारी र जग्गा दलालहरूको टोली नै आएको थियो ।

इटहरी शाखाबाट प्रवाह भएको ऋणमध्ये करिब ७० प्रतिशत खराब कर्जा रहेको अनुसन्धानमा संलग्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०का अधिकारीले बताएका छन् । एपेक्स बैंकका लागि विराटनगरको सुलेखा कन्सल्टेन्सीका सञ्चालक दिपांगत भगत र इटहरीको एफई कन्सल्टेन्सीका इन्जिनियर रविन थापाले धितो मूल्यांकन गरेका थिए ।

मूल्यांकन गरेका अधिकांश जग्गाका धनी आफूलाई थाहा नभएको दिपांगत भगतले बताए । बैंकका कर्मचारी र बिचौलियाले आफूलाई जग्गा देखाएको उनले बताए । ‘जग्गा देखाउने अरू नै थिए, जग्गाधनी त्यहाँ थिएनन् । कतिपय समस्या भएका जग्गा आफूले रिजेक्ट पनि गरेको थिएँ । एपेक्सका इटहरी शाखा म्यानेजर सागर न्यौपानेले दबाब दिएर पनि मूल्यांकन गराएका हुन्,’ भगतले नयाँ पत्रिकासँग भने, ‘केही ठाउँमा दलालहरूको सल्लाहमा बैंकका कर्मचारीले धितो बढी मूल्यांकन गर्न दबाब पनि दिएका थिए ।’ सागरले लोकन्थली शाखामा हुँदा पनि आफूलाई कम वा कमसल जग्गाको बढी मूल्यांकन गर्न लगाएको उनले बताए ।

२–४ लाख माग्नेको धितोबाट १५ लाखभन्दा बढी ऋण
एपेक्सबाट ऋण लिएकी झापा गरामनीकी मञ्जु राईको धितो मूल्यांकन गर्न एनसिसी बैंकको तर्फबाट दिपांगत भगत गएका थिए । राईले त्यतिखेर गाउँकै एक व्यक्तिसँग ४ लाख ऋण लिएको बताएकी थिइन् । तर, उनको जग्गा धितो राखेर पनि १५ लाख ऋण निकालिएको थियो । भगतले त्यतिखेर झापाका ४–५ वटा जग्गा मूल्यांकन गरेको बताए । सबै जग्गा बिचौलियाले देखाएको उनले बताए । अप्ठ्यारोमा परेका सर्वसाधारणलाई ३–४ लाख दिएर उनीहरूको धितोबाट बढी ऋण झिकिएको भगतले बताए ।

प्रमाण पानीले बगायो
धितो मूल्यांकनमा संलग्न इटहरीका इन्जिनियर रविन थापाले ऋण स्वीकृत गर्ने अन्तिम अधिकार बैंक कर्मचारीको भएकाले बदमासी पनि उनीहरूबाटै भएको बताए । आफूले धितोभन्दा बढी ऋण प्रवाह हुने किसिमले रिपोर्ट नदिएको दाबी उनले गरे । मूल्यांकन गर्ने क्रममा आफूले जग्गाधनीको नागरिकता मात्र पाएको तर वास्तविक ऋणीसँग भेट नभएको उनले बताए । आफूसँग भएका नागरिकता पनि बाढीले बगाएको उनले बताए । ‘आफूसँग केहीको नागरिकता र फोन नम्बर थियो, तर बाढीले कार्यालयमा भएको सबै सामग्री बगायो,’ उनले भने ।

धितो मूल्यांकन गर्ने इन्जिनियरहरू पनि अनुसन्धानमा
घोटालाको छानबिन गरिरहेको सिआइबीका वित्तीय अपराध हेर्ने डिएसपी श्यामबाबु ओलियाले ऋण प्रवाह गर्ने कर्मचारी, ऋण निकाल्ने व्यक्ति र धितो मूल्यांकन गर्ने इन्जिनियर सबैलाई कारबाहीको दायरामा ल्याइने बताए । थापा र भगतसहित एक दर्जन इन्जिनियरले धितो मूल्यांकन गरेको ऋणमा समस्या देखिएको उनले बताए । करिब डेढ सयभन्दा बढी शंकाको घेरामा रहेको डिएसपी ओलियाले बताए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Om Sagar Shrestha

    Governer kangressi prya nahola vanna sakinna….

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आर्थिक चलखेलमा टिकट दिएको भन्दै देउवाविरुद्ध कार्यकर्ता आक्रोशित
आर्थिक चलखेलमा टिकट दिएको भन्दै देउवाविरुद्ध कार्यकर्ता आक्रोशित
वैदेशिक रोजगारीमा जानेको घट्यो मृत्युदर
वैदेशिक रोजगारीमा जानेको घट्यो मृत्युदर
पोखरामा भोली र्अथात  शनिबार “बिर्सिएको मृत्यु ” माथि बहस हुने
पोखरामा भोली र्अथात शनिबार “बिर्सिएको मृत्यु ” माथि बहस हुने
गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र हो, इतिहासको चक्का पछाडि फर्कँदैनः प्रधानमन्त्री प्रचण्ड
गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र हो, इतिहासको चक्का पछाडि फर्कँदैनः प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री प्रचण्डले गरे १०० रुद्राक्ष र ५१ हजार रुपैयाँ दान
प्रधानमन्त्री प्रचण्डले गरे १०० रुद्राक्ष र ५१ हजार रुपैयाँ दान
दश वर्षयता कुनै युवाको विवाह हुन नसकेको सात गाउँ
दश वर्षयता कुनै युवाको विवाह हुन नसकेको सात गाउँ
पाकिस्तानी सेनाको गोली लागी दुई भारतीयको मृत्यु…
पाकिस्तानी सेनाको गोली लागी दुई भारतीयको मृत्यु…
राजनीति पनि एक समाजसेवा हो : प्रकाशमान सिंह
राजनीति पनि एक समाजसेवा हो : प्रकाशमान सिंह
एसईई परीक्षाफलको त्रुटि: छानबिन समिति गठन
एसईई परीक्षाफलको त्रुटि: छानबिन समिति गठन
राजा र राजपरिवार बाहेकलाई मात्र कानुन लाग्ने प्रावधान गणतन्त्रमा पनि पुनरावृत्ति हुनु लज्जास्पद : साह
राजा र राजपरिवार बाहेकलाई मात्र कानुन लाग्ने प्रावधान गणतन्त्रमा पनि पुनरावृत्ति हुनु लज्जास्पद : साह