तीन डीआइजीलाई एआईजीमा बढुवा, थिंक ट्यांक गठन : यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णय

Abhiyanpost Abhiyanpost
|
शनिबार, आश्विन ६, २०७५
|
|
४९ पटक हेरिएको
Shares
तीन डीआइजीलाई एआईजीमा बढुवा, थिंक ट्यांक गठन : यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णय

सारांश

  • काठमाडौँ ।
  • सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ।
  • त्यसैगरी शुक्रबार बसेको मन्त्रिपरिषद वैठकले नेपाल प्रहरीका तीन डीआईजीलाई एआईजीमा बढुवा गरेको छ ।

काठमाडौँ । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ। त्यसैगरी शुक्रबार बसेको मन्त्रिपरिषद वैठकले नेपाल प्रहरीका तीन डीआईजीलाई एआईजीमा बढुवा गरेको छ ।

बढुवा सिफारिस समितिको सिफारिस अनुसार पुष्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई एआईजीमा बढुवाको सिफारिस अनुमोदन गरेको हो। त्यसैगरी एआइजीहरुको जिम्मेवारी पनि तोकिएको छ।
एआइजी कार्कीलाई प्रहरी हेडक्वार्टरको काम र अपराध अनुसन्धान विभाग, एआईजी राईलाई मानव स्रोत तथा प्रशासन विभाग र एआइजी बस्नेतलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा जिम्मेवारी समेत दिइएको छ।

त्यसैगरी सरकारले माथिल्लो अरुण आयोजना आफ्नै स्वामित्वमा रहने गरी विद्युत प्राधिकरणको सहायक कम्पनी अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीमार्फत् बनाउने निर्णय भएको छ। तत्कालीन सरकारले २०६९ फागुन ४ गरेको निर्णय संशोधन गर्दै शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

बिहीबार सुनसरीमा हत्या भएका नेकपा कार्यकर्ता खुर्सिद अन्सारीलाई सहिद घोषणा गर्दै परिवारलाई १० लाख राहत दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद् वैठकले अनुसन्धान प्रतिष्ठान नाम राखी ‘थिंक ट्यांक समूह’ बनाउने निर्णय गरेको छ । समुहको संयोजक प्रा. डा. चैतन्य मिश्रलाई बनाइएको छ। प्रतिष्ठानका सदस्यमा डा. मिना आचार्य, प्रा. डा.राजेन्द्रध्वज जोशी, प्रा. डा. सुरेन्द्र लाभ र डा. गणेशमान गुरुङ रहने जानकारी दिइएको छ।

सरकारले अमेरिकाको मिलेनियन च्यालेञ्ज कर्पोरेशनको सहयोगमा अगाडि बढाउन लागिएको आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा मान्यता दिएको छ । ऊर्जा तथा यातायात क्षेत्रको आयोजना कार्यान्वयनका लागि अमेरिका सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेशनमार्फत नेपाल सरकारलाई ५० अर्ब सहयोग उपलब्ध गराएको छ ।

बैठकले काठमाडौँको लप्सेफेदीदेखि धादिङको गल्छी–रातमाटे प्रसारण लाइन आयोजना र दमौली–बुटवल आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गर्ने निर्णय गरेको हो ।

यस्तै सरकारले मुक्त कमैया तथा हलियाको पुनःस्थापना समस्या समाधान आयोग गठनसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ । दुवै आयोगलाई नयाँ व्यवस्थाअनुसार अगाडि बढाइने भएको छ ।

त्यस्तै सङ्घीय पर्यटन ऐन तर्जुमाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ ।

यसैगरी नागरिक उड्डयन प्राधिकरण सञ्चालन नियमनसम्बन्धी ऐन तर्जुमा गर्नका लागि पनि सोही मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिइएको छ । विद्यमान व्यवस्थाअनुसार प्राधिकरणले विमानस्थलको सञ्चालन तथा नियमको कामसमेत गर्दै आएको छ । नयाँ व्यवस्था लागू भएपछि प्राधिकरणले सञ्चालन र नियमनको काम छुट्टाछुट्टै गर्नेछन् ।

यस्तै मन्त्रिपरिषद्ले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन कायविधि, २०७५ स्वीकृत गरेको छ । निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमलाई नयाँ आधारमा सञ्चालनका लागि उक्त व्यवस्था गरिएको हो ।

बैठकले दरबन्दीभित्र नपरेका विभिन्न सेवा समूहको पदमा कार्यरत निजामती कर्मचारीलाई कर्मचारी समायोजन ऐन, २०७४ र सोही ऐनको नियमावली २०७४ अनुसार कर्मचारी समायोजन नभएसम्म प्रदेश तथा स्थानीय तहको स्वीकृत सङ्गठन संरचना वा दरबन्दीको समान श्रेणीभित्र तथा मिल्दो पद वा तहमा काम गर्ने गरी काम काजमा खटाउनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ । त्यस्ता कर्मचारीको सङ्ख्या चार हजारको हाराहारीमा रहेका छन् ।

यस्तै निजी क्षेत्रलाई पनि अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्न दिने कार्यविधि स्वीकृत गरिएको छ । सो कार्यविधिले आन्तरिकरुपमा हवाई सेवा सञ्चालन गरिरहेका सेवा प्रदायकलाई अन्तर्राष्ट्रिय क्षेत्रमा बजार तथा सेवा विस्तारका लागि मार्ग प्रशस्त गर्नेछ ।

यसैगरी मन्त्रिपरिषद्ले स्थानीय तहको पदाधिकारी तथा कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्देशिका, २०७५ स्वीकृत गरेको छ भने जिल्ला विकास समिति महासङ्घको दोस्रो संशोधित विधान स्वीकृत गरेको छ । विगतमा जिल्ला विकास समिति महासङ्घका रुपमा सञ्चालित संस्था अब भने जिल्ला समन्वय समिति महासङ्घकारुपमा क्रियाशील रहनेछ ।

त्यस्तै बैठकले सरकारी निकाय सरल तथा सहजरुपमा विद्युतीय पत्राचार गर्न सहज वातावरण तयार गर्ने उद्देश्यले विद्युतीय पत्राचार निर्देशिका, २०७५ स्वीकृत गरेको छ ।

समस्याग्रस्त सहकारी संस्था व्यवस्थापन समितिको अध्यक्षमा कामपा–२९ का युवराज सुवेदीलाई नियुक्त गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?